|

  • जुलियन ड्रेक्स्लर, जर्मन फुटबलर

म मेरी हजुरआमासँग जोडिएको एउटा प्रसंगबाट कुरा सुरु गर्छु। मैले म, मेरो परिवार र मेरो जन्मथलोको सारा कथा सुनाउन थालेँ भने सय पेज भरिएला। म जुन प्रसंग सुनाउँदै छु, मेरो विचारमा त्यो नै काफी छ। यो प्रसंगले धेरै कुरा भन्छ।

सन् २०१४ को ब्राजिल विश्वकप जितेर हामी घर फर्कियौँ। घरपरिवारसँग खुसी साटासाट गर्नु त छँदै थियो, हजुरआमालाई पनि भेट्न जानु थियो। आमा र म उहाँलाई भेट्न ग्लाडबेक लाग्यौँ, जहाँ हजुरआमा बस्नुहुन्थ्यो। मैले सानो जुलियन ड्रेक्स्लरवाला खेलौना पनि सँगै लिएर गएँ। हामीले वर्ल्डकप जितेपछि कुनै कम्पनीले यस्ता खेलौनाहरू बनाएको थियो। मलाई लाग्यो, 'नाती–खेलौना' देखेर हजुरआमाले रमाइलो मान्नुहुनेछ।

हामी उहाँको घर पुग्यौँ। उहाँले त्यसरी नै मुस्कुराएर स्वागत गर्नुभयो, जसरी २० वर्षअघि गर्नुहुन्थ्यो। मलाई ग्वाम्लाङ्ग अँगालो मार्नुभयो। म आएकोमा उहाँ निकै खुसी हुनुहुन्थ्यो। भित्र छिर्दै गर्दा मैले त्यो मेरो प्रतिमूर्ति खेलौना किचन टेबुलमा राखेँ।

'हेर्नुस् त हजुरआमा, यो राम्रो छैन त? यो मै हुँ।'

हजुरआमाले खेलौनालाई हेर्नुभयो। त्यसपछि मलाई हेर्नुभयो अनि उहाँले त्यही गर्नुभयो, जस्तो मान्छेहरूले द्विविधामा पर्दाखेरि गर्छन्। उहाँले बनावटी हाँसो हाँस्दै भन्नुभयो, 'अँ, राम्रो छ। धेरै राम्रो छ।'

उहाँलाई आफ्नो नाति चित्रअंकित खेलौना कसले र किन बनायो, केही थाहा थिएन। कम्तीमा उहाँका आँखाले यही बताइरहेका थिए। त्यति मात्रै हो र! विश्वकप खेल्नु कति ठूलो कुरा हो, यो पनि उहाँलाई थाहा थिएन।

'बाबू, तँ त्यो जाबो फुटबल खेल्न त्यत्रो टाढाटाढा किन जान्छस् भन् त? किन घरै बस्दैनस्? सानोमा झैँ यही बगैँचामा खेले हुन्न र? अरू केटाहरूले यहीँ त खेल्छन्।' हजुरआमाले मलाई भन्ने कुरा सधैँ यही हुन्थ्यो।

'तर हजुरआमा, हामी विश्वकप खेल्दै छौँ', म भन्थेँ।

यो कस्तो हाँसोउठ्दो थियो। उहाँ म रमाइलोका लागि फुटबल खेल्न ब्राजिल गएको भन्ठान्नुहुन्थ्यो। के गर्छ, कसो गर्छ, राम्ररी खायो कि खाएन? उहाँ यस्तै विषयमा बढ्ता सोधीखोजी गर्नुहुन्थ्यो।त्यस दिन आमा, हजुरआमा र मैले त्यो सानो खेलौनालाई अघिल्तिर राखेर त्यहीँ किचेन टेबुलमा एउटा फोटो खिच्यौँ। त्यो फोटो राती मैले इन्स्टाग्राममा पोस्ट गरेँ। कमेन्टहरू हेर्दै गर्दा देखेँ, एक जनाले लेखेका रहेछन्, 'हजुरआमाको किचेन त पुरानो भएछ, तिमी पनि के गर्छौ यार?'

तिनले ठीक भनेका थिए। हजुरआमाको किचेन निकै पुरानो थियो। मेरो विचारमा सन् १९६० मा बनाएयता त्यसमा कुनै बदलाव आएको थिएन। मलाई थाहा छैन, हजुरआमाको किचेनमा भएजस्तो ओभन अचेल बजारमा किन्न पाइन्छ कि पाइँदैन। मेरो हजुरआमा ५० वर्षदेखि यही घरमा बस्दै आउनुभएको छ। उहाँ आफ्नो घरमा कुनै फेरबदल होस् भन्ने चाहनुहुन्न। यो कुरा मान्छेहरूलाई थाहा छैन, त्यसैले कमेन्ट गर्छन्। मेरो पारिवारिक पृष्ठभूमि ग्लाडबेक र गेल्सेनकिर्सन गरी दुई शहरसँग जोडिएको छ। यहाँको रहनसहन बेग्लै छ, यहाँका मान्छेका आफ्नै तौरतरिका छन्। म खाली यति मात्रै भन्छु, तपाईंको इन्स्टाग्राम कमेन्टप्रति मेरो हजुरआमालाई कत्ति पनि रुचि छैन।

गेल्सेनकिर्सनको कुरा सुनाउँछु।

धेरै समयसम्म कोइला नै गेल्सेनकिर्सनका मान्छेहरूका लागि सबथोक थियो। मेरा जिजुबाजेले कोइलाखानीमा काम गरे। मेरा हजुरबाले कोइलाखानीमा काम गरे। मेरो बुबाले समेत कोइलाखानीमा काम गर्नुभयो।

हो, मेरो बुबाले समेत त्यहाँ काम गर्नुभयो तर उहाँले सुरुङभित्र गएर काम गर्नुपरेन। तर ९० को दशकमा सबै कोइलाखानी बन्द भएपछि कथा बदलियो। मेरो बुबा खानदानकै पहिलो पेसा परिवर्तन गर्ने मान्छे बन्नुभयो। उहाँले त्यसपछि वृटिस पेट्रोलियममा काम थाल्नुभएको मलाई सम्झना छ। उहाँको काम बिहान ५ बजेबाट सुरु हुन्थ्यो। मेरो बाबा दिउँसो समयमै घर फर्कने भएकाले सधैँ मलाई फुटबल क्लब लिएर जानुहुन्थ्यो।

म जहाँ हुर्किएँ, त्यहाँ धेरैले साएल्के क्लबलाई रुचाउँथे। त्यतिबेला त्यहाँ निकै धक्कामुक्कावाला फुटबल खेलिन्थ्यो। एकदम फिजिकल। गेल्सेनकिर्सनबाट खेल्न जानेहरूका बारेमा त्यहाँ एक किसिमको धारणा व्याप्त थियो, जो हरेक दिन मैले सुन्नुपर्थ्यो। कोच हुन् वा अन्य स्थानीय, ती हामीलाई हेरेर ओठ लेप्र्याउँथे। भन्थे, 'ए गेल्सेनकिर्सनको बच्चो! यिनीहरू मिहिनेत त गर्ने हुन् तर त्यति चलाख नहुने भएकाले केटाहरू धेरै उँभो लाग्लान् जस्तोचाहिँ देखिन्नँ।'

यस्ता टिप्पणीहरूले मलाई पागल बनाउँथे। म राउल, जिदान, रिभाल्डो र रोनाल्डिनो जस्तो बन्न चाहन्थेँ। मेरो विचारमा तिनीहरू असाध्यै सुन्दर फुटबल खेल्थे। म पनि उनीहरूले झैँ खेल्न चाहन्थेँ तर स्थानीय मान्छेहरूले गर्ने टिप्पणीले मलाई खिन्न पार्थ्यो। म हुर्केको ठाउँ कस्तो थियो भने त्यहाँ कोइलाखानीमा काम गर्नका लागि संसारका विभिन्न ठाउँबाट बसाइँ सरेर आएका परिवारहरू बस्थे र ती आप्रवासी, स्थानीयका आँखाका तारो थिए।

गेल्सेनकिर्सनका रमाइला पक्ष पनि छन्। त्यहाँ सबैको आर्थिक हैसियत लगभग समान थियो। भलै ती संसारका विभिन्न कुनाबाट जर्मन आएका थिए, जीवन एकनासको थियो। ती आफूलाई समान सम्झन्थे। मेरै साथीहरूका अभिभावक पनि कोही बोस्निया, कोही टर्की त कोही अन्य ठाउँबाट आएका थिए। म ती साथीहरूसँग खुब रमाउँथेँ। हो, सबैसँग सबैथोक थिएन तर हरेकसँग केही न केही अवश्य थियो। कसैसँग फुटबल हुन्थ्यो, कसैसँग प्लेस्टेसन हुन्थ्यो। कसैसँग भिडियो गेम हुन्थ्यो। हामी एकै ठाउँमा बसेर सबै कुराको मजा लिन्थ्यौँ।

फुटबल ग्राउण्डमा पनि त्यस्तै हुन्थ्यो। केटाहरू कोही जर्मन बोलिरहेका हुन्थे, कोही पोलिस बोल्थ्यो त कोही पोर्चुगेली। पृथ्वीमा बोलिने विभिन्न भाषाहरू त्यहाँ बोलिन्थ्यो, भलै एउटाले बोलेको अर्कोले नबुझोस्। तपाईं नै भन्नुहोस् न, तीनका विरुद्ध तीनभन्दा त एघारविरुद्ध एघार वा पन्ध्रविरुद्ध पन्ध्र खेल्नु राम्रो होइन र? यसरी फुटबल नै हाम्रो भाषा थियो।

हाम्रो टोलमा ठूल्ठूला सपिङ मलहरू थिएनन्, कुनै भव्यता थिएन तर यसको आफ्नै किसिमको सुन्दरता थियो। यो बहुसांस्कृतिक र मिहिनेतीहरूको समाज थियो, त्यसैले होला विगत १५ वर्षमा यहाँबाट धेरै राम्रा फुटबलरहरू जन्मिए।

म घरको कुरा गर्नेवित्तिकै 'नोस्टाल्जिक' हुन्छु। मैले अघि पनि भनेँ, सानोमा म बुबासँग साएल्केको म्याच हेर्न जान्थेँ। परिवारका सबै जना साएल्के समर्थक थिए। असाध्यै ठूला समर्थक! त्यसैले मैले बाल्यकालभरि साएल्केकै सपना देखेँ। साएल्केको जर्सी लगाएर मेरै परिवारका सदस्यहरूका अघिल्तिर फुटबल खेलिरहेको सपना। बुबाको सहयोगबिना यो सफलता सम्भवै थिएन। मान्छेहरूलाई यो बुझाउन गाह्रो छ, कस्तो भने साएल्केको युथ टिमबाट खेल्दा एक पटक मैले आफूलाई 'प्रोफेसनल फुटबलर' जस्तो महसुस गरेको थिएँ। एघार-बाह्र वर्षको उमेरमै मैले त्यस्तो तीब्र दबाब महसुस गरेको थिएँ। मेरो खराब प्रदर्शनका कारण खेल हारियो भने भोलिपल्ट दिनभर म कोठामा बसेर खेलको समीक्षा गर्थें। खाली यही सोच्थेँ कि अर्को खेलमा कसरी राम्रो गर्ने! म त्यस्तो दबाबमा हुन्थेँ।

मलाई अरू देशमा के हुन्छ थाहा छैन तर जर्मनीमा, अझ भन्नुपर्दा गेल्सेनकिर्सनमा, तपाईंलाई आफ्नो सपना पूरा गर्नु छ भने पागलझैँ लाग्नुपर्छ। त्यहाँ यति राम्राराम्रा खेलाडी छन् कि कुरै नगरौँ। त्यहाँ फुटबलको मतलबै नगर्ने त मेरी हजुरआमा मात्रै हो। त्यसैले त म टुर्नामेन्टका लागि म्युनिख हिँड्न लागेको बेला भन्नुहुन्थ्यो, 'जुलियन, किन त्यति टाढा खेल्न जान्छस् बाबू?  बगैँचामै खेले हुन्न? त्यो पनि रमाइलै त हुन्छ।'

हो, बगैँचामा खेल्न रमाइलै हुन्थ्यो तर मेरो सपना बगैँचामा खेल्नु थिएन। मेरो सपना त साएल्केका लागि खेल्नु थियो। म १६ वर्षको छँदा एक दिन मलाई युथ टिमका कोचले बोलाए र भने, 'जुलियन, तिम्रो समय आयो। फर्स्ट टिम तिमी दुई दिनभित्र ट्रेनिङमा आओस् भन्ने चाहन्छ।’

इमान्दारीका साथ भन्ने हो भने फुटबललाई लिएर म प्राय: नर्भस हुन्न तर यो फुटबल मात्रै थिएन। ती दुई दिन मैले कसोगरी बिताएँ, मलाई मात्र थाहा छ। घरिघरि त पाइन्टमै दिसापिसाब फुस्किन्छ कि झैँ हुन्थ्यो। ड्रेसिङ रुममा राउलसँग भेट्दा म के गरौँला? म यसभन्दा ज्यादा सोच्न सकिरहेको थिइनँ।

साँच्चै मैले राउललाई के भन्ने होला?

म बच्चो थिएँ, उनी राउल थिए।

मेरा लागि त्यो भगवानसँगको साक्षात्कार जस्तो हुनेवाला थियो। राती मैले बुबासँग सोधेँ, ‘बाबा, मैले राउललाई पहिलो पटक भेट्दा के भन्ने होला? हेलो राउल, भनौँ? अलि राम्रो सुनिएन है! कि हेलो मिस्टर राउल भनौँ होला?’

बाबा र मैले अन्तत: निर्णय गर्‍यौँ, हात मिलाउने, मुस्कुराउने, अनि भन्ने–

‘हेलो, आई एम जुलियन। नाइस टु मिट यु।’

त्यसको अर्को दिन म स्टेडियमको ड्रेसिङ रुममा छिरेँ। फुटबलका सारा हस्तीहरू त्यहाँ थिए, जसको खेल हेर्दै मेरो बाल्यकाल बितेको थियो। क्लास जन हन्टेलार, जेफर्सन फार्फान, राउल त त्यहाँ हुने नै भए। तिनीहरू मोजा बदल्दै थिए। उनीहरूका लागि हिजो र आजमा कुनै फरक थिएन तर म भने उनीहरूसँग आँखा जुधाउनसमेत नसकेर भुइँमा गाडिएको थिएँ। तीमध्ये खाइलाग्दो ज्यान र आकर्षक कपाल भएको एक जना मतिर आए। मैले टाउको उठाएँ, ती जर्मन जोन्स थिए। उनले मसँग हात मिलाए।

मैले भनेँ, ‘गुड मर्निङ, मिस्टर जोन्स।’

उनी त मरीमरी हाँस्न पो लागे।

‘मलाई जर्मन मात्रै भने हुन्छ’, उनले भने।

कतिसम्म हुन्थ्यो भने, नचिनेकाले त उडाउँथे उडाउँथे, आफ्नै छिमेकीले पनि हाम्रो खराब प्रदर्शनका लागि उडाउँथे। ती मान्छेहरू, जसको बिचमा म हुर्किएँ, सानो छँदा जसको छतमा खेल्ने गर्थें, तिनले समेत व्यंग्य गर्दा असह्य हुन्थ्यो।

त्यो मेरा लागि अविस्मरणीय दिन थियो। राउलसँग हात मिलाउँदा त मैले के भनेँ यादसम्म पनि छैन। खाली यत्ति सम्झन्छु, मेरा हात चिसा न चिसा भएका थिए र मलाई ढल्छु कि झैँ भएको थियो।

त्यसको एक वर्षपछि त म राउलसँगै फर्स्ट टिमबाट खेल्दै थिएँ। मेरो सपना यथार्थमा परिणत भएको थियो। तर म जसरी खेल्छु भन्ने सोच्थेँ, त्यस्तो भइरहेको थिएन। मेरो शैलीले साएल्केका फ्यानहरूको अपेक्षा पूरा गरिरहेको थिएन। पहिलो दुई सिजन त अविश्वसनीय भयो तर त्यसपछि राउलले क्लब छाडे। फार्फान पनि चोटग्रस्त भए। यसबीचमा हाम्रो म्यानेजर पनि धेरै पटक बदलिए। १९–२० वर्षको उमेरमा मलाई सबै जिम्मेवारी मेरै काँधमा आएको महसुस हुन थाल्यो।

म त्यो परिस्थिति झेल्न तयार थिइनँ। मलाई त्यो भद्रगोलमा साएल्केबाट खेलिरहन उचित लागेन। केही पनि त ठीक भइरहेको थिएन। कतिसम्म हुन्थ्यो भने, नचिनेकाले त उडाउँथे उडाउँथे, आफ्नै छिमेकीले पनि हाम्रो खराब प्रदर्शनका लागि उडाउँथे। ती मान्छेहरू, जसको बिचमा म हुर्किएँ, सानो छँदा जसको छतमा खेल्ने गर्थें, तिनले समेत व्यंग्य गर्दा असह्य हुन्थ्यो।

पत्रिकामा पनि मेरा बारेमा मनपरी लेखिएको हुन्थ्यो। ती लेख्थे, ‘म आफूलाई क्लब फुटबलका लागि अत्यन्तै उपयुक्त पात्र सम्झन्छु र मैले रियल म्याड्रिड वा बार्सिलोनाबाट खेल्ने सपना देख्न थालेको छु’, जुन सत्य थिएन।

म सन् २०१५ को अन्त्यमा आयोजित पाडेर्बनविरुद्धको म्याच कहिल्यै बिर्सन्नँ। त्यही म्याचमा मलाई लागेको थियो कि अब मैले साएल्के छाड्ने बेला भएको छ। पाखुरामा चोट लागेका कारण मैले मैदान छाड्नुपरेको थियो। हामीले राम्रो खेल्ने प्रयास गरे पनि खेल राम्रो भएको थिएन। यद्यपि, हामीले त्यो खेल १–० ले जितेका थियौँ तर खेल कस्तो भएको थियो भने हामी स्टेडियमबाट निस्किइरहँदा हामीलाई हाम्रै समर्थकहरूले गिज्याइरहेका थिए।

त्यो क्षण म भित्रैदेखि टुटेको थिएँ।

त्यो म्याच खेल्दा म बच्चै त थिएँ। क्लबले मलाई सुको दिँदैनथ्यो। म फ्रिमा खेल्थेँ। त्यही क्षणमा मेरो मनले भन्यो, ‘म साएल्केलाई माया गर्छु। म यसलाई सधैँ माया गर्नेछु तर मेरो जीवनमा केही फरक गर्ने समय आएको छ।’

त्यो रात जब म घर पुगेँ, मैले बुबालाई भनेँ- ‘बुबा, यो गर्मीमा मैले जानुपर्छ।’

जीवनमै पहिलो पटक म आफैँ ठूलो निर्णय लिँदै थिएँ। मैले बुबालाई सोधिनँ, ‘म जाऊँ कि नजाऊँ बुबा? तपाईं के भन्नुहुन्छ?’

मैले त सिधै भनेँ, ‘म जानुपर्छ। मैले आफ्नो निर्णय आफैँ गर्नुपर्छ।’

सुरुमा उहाँ त्यति खुसी हुनुभएन। मेरो सिंगो परिवार खुसी भएन। उनीहरू म नजाऊँ भन्ने चाहन्थे। आमा र हजुरआमालाई मेरो निर्णय सुनाइरहँदा म रोइरहेको थिएँ। तर जीवन यस्तै हो। अघि बढ्नका लागि कहिलेकाहीँ परिवारलाई पछि छोड्नुपर्ने हुन्छ।

म नाम वा मान सम्मानका लागि घर छोड्दै थिइनँ। न त ठूला क्लबबाट खेल्नका लागि नै घर छाड्दै थिएँ। म खालि फरक वातावरणको खोजीमा वुल्फबर्ग जाँदै थिएँ।

साएल्के छाड्दा सबैले मलाई गद्दार भने।

तपाईंलाई थाहा छ? सानो छँदा साएल्के छाडेर वुल्फबर्ग जाने हरेकलाई म पनि त्यसै भन्थेँ। फ्यानहरूप्रति मेरो कुनै दुखेसो छैन। एउटा खेलाडीको जीवनमा के चलिरहेको छ, ऊ कति दबाबमा छ, फ्यानहरूलाई थाहा हुने कुरै हुँदैन।

म अहिले पनि साएल्केलाई साँचो प्रेम गर्छु, गेल्सेनकिर्सनलाई पनि म उत्तिकै माया गर्छु। त्यहाँ छँदा, खासगरी राउल र अरू महान् खेलाडीबाट मैले जे सिकेँ, त्योबिना विश्वकप- २०१४ मा खेल्नेबारे मैले चिताउनै पर्दैनथ्यो। मेरो सपना सपनै मात्र हुन्थ्यो।

मलाई राष्ट्रिय टिमका लागि डाकिएको त्यो हिउँद सम्झन्छु। त्यो मेरा लागि स्वप्निल समय थियो। मलाई विश्वासै लागिरहेको थिएन। त्यतिखेर म २० वर्षको थिएँ। डर पनि थियो किनकि म अलिक अप्ठ्यारो समयबाट गुज्रिइरहेको थिएँ। म गम्भीर चोटग्रस्त थिएँ। त्यसमाथि पोडोलोस्की, रेउस, गोट्जे, मुलर जस्ता धुरन्धर स्ट्राइकरहरू अगावै राष्ट्रिय टिममा आइसकेका थिए। जोचिमसँग म अलिक नजिक थिएँ, त्यसले गर्दा फिट भएको प्रमाणित गर्न सकेको खण्डमा टिममा पर्ने मेरो सम्भावना बलियो थियो। मैत्रीपूर्ण खेलका ती तीन हप्ता म सूचीको पुछारमा थिएँ।

२३ जनाको फाइनल–स्क्वाड घोषणा गर्नुपूर्व हामीलाई रिफ्रेसमेन्टका लागि स्पा–रिट्रिटमा लगियो। स्टाफ, कोच, खेलाडी सबै गरी हामी ५० जनाजति थियौँ। तपाईं सोच्नुहोस् न, हामी असिनपसिन भएर सौना लिइरहेका छौँ। सबै जना रमाइरहेका छन् तर मेरो दिमागमा एउटै कुरा चलिरहेको छ, के म टिममा पर्छु? के म ब्राजिल जान्छु? हे भगवान्, के म छानिन्छु?

त्यसको एकछिनपछि ओलिभर बिरहोफ मेरो छेउमा आए र सोधे, ‘जुलियन, तिमी कति नम्बर चाहन्छौ?’

‘हजुर’, मैले भनेँ।

‘कति नम्बरको जर्सी लगाउँछौ भनेको’, उनले भने।

उनी मजाक गर्दै छन् कि साँच्चै भन्दै छन्, मैले केही भेउ पाएको भए मरिजाऊँ। के उनी मेरो परीक्षा लिँदै थिए?

मलाई के भनौँ के भनौँ भयो।

‘अन्तिममा जुन बाँकी रहन्छ, त्यही लिन्छु’, मैले भनेँ।

ओलिभर हाँसे मात्र।

त्यसको भोलिपल्ट जोचिमले म छानिएको जानकारी दिए। त्यो मेरा लागि सर्वाधिक खुसीको क्षण थियो।

मान्छेहरू मसँग सोध्छन्, 'ब्राजिललाई सेमिफाइनलमा ७–१ ले हराउँदा कस्तो महसुस भयो? वर्ल्डकप उचाल्दा कस्तो महसुस भयो?'

दोस्रो प्रश्नको जवाफमा म भन्छु, 'विश्वकप उचाल्दाको पल अवर्णनीय छ। त्यसलाई शब्दमा वर्णन गर्ने प्रयाससम्म गर्न पनि म असमर्थ छु। त्यो कस्तो भने चलचित्रको जीवन बाँचेजस्तो!'

दोस्रो, ब्राजिलसँगको ७–१ गोल अन्तरबारे म टिप्पणी गर्न चाहन्नँ। यसो गर्नु ब्राजिल र ब्राजिलका खेलप्रेमीको अपमान ठहर्छ। म के मात्रै भन्छु भने, खेल हो, जे पनि हुनसक्छ।

तैपनि ब्राजिलसँग सेमिफाइनल खेलेको त्यो रातको एउटा सम्झना मेरो मनमा छ। त्यो मेरो निम्ति महत्त्वपूर्ण पनि छ।

खेल सकिएपछि हामी बाहियामा रहेको हाम्रो क्याम्पतर्फ फर्कंदै थियौँ। एअरपोर्टबाट बाहियाको दूरी टाढै थियो। बाहिर अन्धकार थियो। हामी बस चढेर स्थानीय बजार छिचोल्दै क्याम्पतर्फ अघि बढिरहँदा ठाउँठाउँमा मान्छेहरू चिच्याएको सुनिरहेका थियौँ। त्यहाँ के हुँदै छ, हामीलाई थाहा थिएन। हामीलाई त के मात्रै थाहा थियो भने हामीले केही बेर अघि मात्रै उनीहरूलाई ७–१ ले हराएका थियौँ। बाटोको छेउछाउमा मान्छेहरू सुँक्सुँकाइरहेका थिए।

हामी सबैले झ्यालबाट बाहिर हेर्‍यौँ। स्थानीयहरू बाटोको दुवैतिर लाम लागेर हामीलाई हात हल्लाइरहेका थिए। तीमध्ये धेरै त रोइरहेका थिए तर उनीहरू हाम्रो जीतमा बेखुसी थिएनन्। एउटाले त एक हातमा ब्राजिल र अर्को हातमा जर्मनको झण्डा बोकेको मैले देखेँ।

जुनजुन बजार हुँदै हामी गुज्रियौँ, सबै ठाउँमा मान्छेहरू रोडको दुवैतिर लामबद्ध भई हुटिङ गरिरहेका थिए, ‘जर्मनी! जर्मनी! जित्यो! जित्यो!’

त्यो पल जीवनकै अविश्वसनीय पल थियो। यो साँचो हो कि उनीहरू फाइनलमा हामीले अर्जेन्टिनालाई हराएको देख्न चाहन्थे। आफ्नै घरमा आएर शत्रुले वर्ल्डकप उचालेको उनीहरू देख्न चाहँदैनथे। उनीहरू हामीप्रति त्यतिखेर प्रेम दर्शाइरहेका थिए, जतिखेर ७–१ को हारका कारण सिंगो ब्राजिल तहसनहस भएको थियो।

मेरा लागि फुटबल के हो, अब सायद तपाईं बुझ्न सक्नुहुन्छ।

‘जाबो फुटबल' खेल्न म किन टाढाटाढा पुग्छु भन्ने मेरो हजुरआमाको प्रश्नको जवाफ पनि सायद यही नै हो।

(प्लेयर्स ट्रिब्युनबाट भावानुवाद।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.