|

उदयपुर :  उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउली) मा अाइतबार आठपटक विद्युत् काटियाे। यसरी उसिउलिमा विद्युत् कटिने परम्परागत संस्कार भइसकेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरूलाई मागेजति विद्युत् उपलब्ध गराउने घोषणा गरिरहेको वेला पूर्णसरकारी स्वामित्वको गैँडा छाप सिमेन्टमा विद्युत् कटौती पुरानै रोग हो।

उसिउलीमा पनि विद्युत् अनियमितताकै कारण जेठ महिनामै लाखौँ घाटा व्यहोर्नुपरेको छ। उद्योगका नायव महाप्रबन्धक महेश काफ्लेले गएको जेठ महिनामा १२० पटक विद्युत् कटौती हुँदा २६ घण्टा पाँच मिनेट उद्योग बन्द भएको बताए। ‘यसरी दैनिक रूपमा विद्युत् कटौतीले विगतका महिना उद्योग बन्द भएकै छ,’ नायव महाप्रबन्धक काफ्लेले भने, ‘हामीले पटक-पटक मन्त्रालय अनि विद्युत् प्राधिकरणसँग हारगुहार माग्दा पनि सुख पाएका छैनौँ।’

एक घण्टा विद्युत् अवरुद्ध हुँदा ४ लाखभन्दा बढीको घाटा व्याेहोर्नुपर्नेछ। ‘उत्पादन भइरहँदा एक्कासि विद्युत् कटौती हुन्छ,’ पुन उनले थपे, ‘इन्जिनमा पनि क्षति पुग्छ। कटौती भएर पुन विद्युत् आउँदा इन्जिन सेलाउँछ। तात्नै समय लाग्छ। अनि भनेको जसरी उत्पादन गर्न सक्दैनौँ।’ उदयपुर सिमेन्ट उद्योगले गएको जेठ महिनामा २ करोड ७० लाख ४०० युनिट विद्युत् खपत हुने गरेको छ। जसबाट नेपाल विद्युत् प्राधिकरणलाई २ करोड ८५ लाख ४९ हजार ३८५ रुपैयाँ तिरेको छ। 
‘हामीले उच्चतम दर रेट डेडिकेडेड फिडरबाट विद्युत् आपूर्ति गरेका छौँ,’ उद्योगका महाप्रबन्ध  सुरेन्द्रकुमार पौडेलले भने, ‘तर पनि हामी विद्युत् कटौतीकै मारमा परिरहेका छौँ।’

यसकारण हुन्छ विद्युत् कटौती?

उदयपुर सिमेन्ट उद्योगमा तीनतिर आएको विद्युत् जडान गरिएको छ। भारतको मजफ्फरपुर हुँदै नेपालको ढल्केबर, भारतकै कटैयाबाट नेपालको दुहवी र नेपालमै उत्पादन भएको विद्युत् उसिउलीमा जोडिएको छ। उद्योगका महाप्रबन्धक पौडेलले भने, ‘तीन तिरको विद्युत्भन्दा कुनै एकतिर मात्र दिए झनै राम्रो हुने थियो।’ तिनै तिरको विद्युत् सिरहाको लाहन हुँदै यहाँ आउँछ।

उद्योग प्रशासनका अनुसार लाहान शाखामा जति अनुरोध गर्दा पनि समस्या ज्युँका त्युँ रहेको छ। ‘हामीलाई विद्युत् प्राधिकरणले कुनै एक ठाउँको मात्र दिनुपर्‍यो भन्यो,’ महाप्रबन्धक पौडेलले भने, ‘प्राधिकरणले जताको दिँदा फाइदा हुन्छ। उतै दिँदा कटौती कम हुने थियो। तिनै तिरको दिँदा कटौती भइरहने भएकाले झनै घाटा भयो।’     

जिल्लास्थित वितरण केन्द्र गाईघाट र सिराहाको लाहान शाखाले उद्योगलाई झनै विद्युत् कटौती गर्ने गरेको छ। नेपाल विद्युत् प्राधिकरणका नायव प्रबन्ध निर्देशक (डिएमडी) तथा एलडिसी डिपार्ट प्रमुख विष्णु श्रेष्ठले सरकारी उद्योग उसिउलीलाई नियमित विद्युत् प्रवाह गराउँदै आएको बताए। ‘केही समस्या आएकाले समाधानको बाटो खोजिरहेका छौँ,’ श्रेष्ठले भने, ‘तत्काल नै हटाउने गरी उद्योगले माग गरेको छैन।’ कहिलेकाहीँ सिस्टमबाट नै अटोमेटिक स्विचिङ हुन पुग्ने भएकाले कटौतीको समस्या आउने गरेको श्रेष्ठको भनाइ छ। 

उदयपुर सिमेन्टलाई सास्ती मारुतीलाई मस्ती     

सिरहाको चन्द्रपुरमा मारुती सिमेन्ट उद्योग छ। उदयपुरको जलजलेमा उदयपुर सिमेन्ट उद्योग छ। क्षमताको हिसाबले मारुती सिमेन्ट उद्योग दैनिक १७ सय टन उत्पादन गर्न सक्छ। यता, उदयपुर सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता ८०० टन मात्र छ। मारुतीभन्दा उदयपुर सिमेन्ट उद्योगको क्षमता दोब्बरले सानो छ। सामन्य रूपमा मारुतीले बढी विद्युत् खपतको शुल्क तिर्नुपर्ने हो। तर, मारुतीकै दाँजोमा उदयपुर सिमेन्ट उद्योगले तिरिरहेको दुवै सिमेन्ट उद्योगले विद्युत् प्राधिकरणलाई तिरेको बिलमा देखिन्छ। गत वर्ष २०७४ सालको माघ महिनामा नेपाल विद्युत् प्राधिकरणलाई मारुती उसिउलीले तिरेको विद्युत् शुल्क झण्डै उस्तै छ।

०७४ माघमा मारुती सिमेन्ट उद्योगले ३ करोड ७२ लाख ९९ हजार युनिट खपत गरेको छ। जसबाट ३ करोड ९९ लाख ७१ हजार २५० रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई तिरेको छ। यता, उदयपुर सिमेन्ट उद्योगले त्यही ०७४ माघ महिनामा २ करोड ५८ लाख ४६ हजार ५ ०० युनिट खपत गरी ३ करोड १३ लाख १५ हजार ६७ रुपैयाँ तिरेको उदयपुर सिमेन्ट उद्योगका नायव महाप्रबन्धक काफ्लेले बताए। ‘कस्तो अचम्‍म छ। दैनिक १७ सय टन उत्पादन क्षमता भएको मारुती सिमेन्टले महँगो बिल तिर्नुपर्छ।' नायव महाप्रबन्धक काफ्लेले भने,‘मारुतीले सस्तो विद्युत् खपत गर्छ। तर उदयपुरले महँगो विद्युत् खपत गर्नुपर्ने बाध्यता विद्युत् प्राधिकरणले पारीदिएकाले समस्या भएको छ।’

विद्युत् प्राधिकरणले सरकारी उद्योगलाई डसेर विद्युत् कटौतीको सास्ती दिँदै निजीलाई सस्तोको खपत गर्न दिएर मस्ती बनाइ दिएको बिलमै प्रस्‍टै देखिन्छ। यसैगरी लोडसेडिङ हटेपछिको ०७५ जेठको विल हेर्दा पनि प्रस्‍ट हुन्छ। ०७५ जेठमा उदयपुर सिमेन्टले २ करोड ७० लाख ४०० युनिट विद्युत् खपत गरेको छ। जसबाट नेपाल विद्युत् प्राविधकरणलाई २ करोड ८५ लाख ४९ हजार ३८५ रुपैयाँ तिरेको छ। यता, मारुती सिमेन्टले ३ करोड ७२ लाख ९९ हजार युनिट खपत गरी ३ करोड १३ लाख १५ हजार ६८ रुपैयाँ तिरेको छ। ‘सरकारी उद्योगलाई सस्तो मूल्यको विद्युत् दिनुपर्ने हो,’ पुन काफ्लेले दुवै बिल तुलना गर्दै भने, ‘निजीलाई सस्तो सरकारीलाई महँगो गरिएको छ।’

यसरी महँगो शुल्क तिर्न बाध्य छ, उदयपुर सिमेन्ट उद्योग

सरकारी उदयपुर सिमेन्ट उद्योगभन्दा दोब्बर सस्तोमा मारुती सिमेन्ट उद्योगले विद्युत् खपत गर्दै आएको छ। बिहानको पिक समयमा उसिउलिले प्रतियुनिट १६ रुपैयाँ ५० पैसाले खरिद गरेको छ। यता, मारुती सिमेन्टले १० रुपैयाँ २० पैसामा प्रतियुनिट खपत गरेको छ। अन्य समय तथा नर्मल बेला उसिउलिले प्रतियुनिट १४ रुपैयाँ २० पैसामा खपत गरेको छ भने मारुतीले ८ रुपैयाँ ४० पैसामा खपत गरेको छ। यसैगरी अफ टाइमामा उदयपुर सिमेन्ट उद्योगले ८ रुपैयाँ ६० पैसामा प्रतियुनिट खपत गरेको छ भने मारुती सिमेन्टले ५ रुपैयाँ २५ पैसामा खपत गरेको छ। 

महाप्रबन्धक पौडेलले उदयपुर सिमेन्ट उद्योग डेडिकेटेड फिडरबाट डेडिकेड रेटमा विद्युत् लिइरहेकाले महँगोमा परेकाे बताए। ‘मारुतीले नर्मल फिडरबाट नर्मल रेटमा उपलब्ध गराइदिएको छ विद्युत् प्राधिकरणले,’ उनले भने, ‘हामीले पटकपटक विद्युत प्राधिकरण र विभाग, मान्त्रालय गुहार्दा पनि नर्मल फिडरबाट नर्मल रेटमा विद्युत् पाउन सकेका छैनौँ।’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उदयपुर सिमेन्टले नर्मल फिडरबाट नर्मल रेटमा विद्युत् पाउने व्यवस्था भए पनि माग नगरेको बताए। ‘उदयपुर सिमेन्टले यसबारेमा हामीलाई जानकारी दिएको छैन,’ उनले भने, ‘निजीले भन्दा सरकारीलाई प्रमुख प्राथमिकतामा राखेका छौँ।’

यसकारण हटेन उदयपुर सिमेन्टमा लोडसेडिङ

गत बैशाख ६ गते उदयपुर सिमेन्ट उद्योगले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई सम्बोधन गरेर विद्युत् आपूर्ति सहज बनाउन पत्र पठाएको छ। पत्रमा भनिएको छ- मुलुकमा विगतका केही अघिका महिनासम्म विद्युतको अपर्याप्त उपलब्धताका कारण लोडसेडिङ थियो। जुन समस्याले गर्दा उच्च दर रेट डेडिकेटेड फिडरबाटै विद्युत आपूर्ति गरिएको थियो।

हाल आएर लोडसेडिङ अन्त्य भएपछि नर्मल फिडरबाट नर्मल दर रेटमा विद्युत आपूर्ति गराउनेतर्फ आवश्यक पहल तथा व्यवस्था हुन अनुरोध गरिएकाे छ। ‘हामीले पटक पटक आग्रह गर्‍याै। मन्त्रीलाई जानकारी गराउने काम भयो,’ महाप्रबन्धक पौडेलले भने, ‘अहिलेसम्म कतैबाट सुनुवाई भएन।’ जुन लोडसेडिङको प्रयोगमा ल्याइएको डेडिकेटेड फिडरको विद्युत अहिलेसम्म नर्मल फिडरमा नबनाउँदा उदयपुर सिमेन्ट उद्योगमा लोडसेडिङ हटेको छैन। उदयपुर सिमेन्ट महँगोमा परेको छ।

यसो भन्छन्, विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले देशका अधिकांश उद्योगहरू नर्मल फिडरबाट सञ्चालन भइरहेको बताए। उनले भने, सरकारी उद्योगहरू नर्मल फिडरबाटै नर्मल दर रेटमा सञ्चालन भइरहेका छन्। उदयपुर सिमेन्टमा लोडसेडिङ हुँदा विद्युत कटौती नभएको होला भन्दै यसबारेमा बुझ्ने बताए।

‘हामीलाई नर्मल फिडर चाहियो भन्दै उदयपुर सिमेन्ट आएको छैन,’ उनले भने, ‘यसमा के रहेछ म बुझने प्रयास गर्छु। जुन उदयपुर सिमेन्ट विद्युत कटौतीको मारमा परेको गुनासो बारम्बार आइरहेको छ। त्यो पनि मैले एक पटक बुझ्नैपर्ने र सकेसम्म एउटै लाइनबाट विद्युत् आपूर्ति गराउने गरी काम गर्ने याेजना छ,' घिसिङको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.