|

दार्चुला : जैविक विविधताको संरक्षण तथा स्थनीय समुदायको जीविकोपार्जनमा सुधार ल्याउने दुरदृष्टिसहित आजभन्दा ८ वर्ष पहिले साविकका २१ गाविसको १९०३ वर्ग किलोमिटर क्षेत्रफलमा स्थापना गरिएको अपी नाम्पा संरक्षण क्षेत्र अनियमितताको भंगालोमा फसेको छ।

संरक्षण क्षेत्रको मुख्य आकर्षण र सम्पत्तिका रूपमा रहेको यार्सागुम्बा व्यवस्थापनमा यो अनियमितता प्रस्‍ट देखिन्छ। दोहोरो कर र नियमतिविपरीत भएका कार्यहरुले संरक्षण क्षेत्रका दुरदृष्टिलाई पूरा गर्न चुनौती थपेको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामी टिप्पणी गर्दछन्।

दोहोरो कर तिर्दै स्थानीय

यस वर्षको यार्सागुम्बा संकलनमा स्थानीयले दोहोरो कर तिर्नुपर्ने अवस्था सिर्जना भएको छ। स्थानीय सरकार र अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले छुट्टाछुट्टै कर उठाउन थालेपछि संकलक र व्यापारीहरुले दोहोरो कर तिर्नुपर्ने अवस्था सिर्जना भएको हो। यार्सा संकलकहरूले मात्रै नभएर यो क्षेत्रमा भेडाबाख्रा चराउनेहरूले समेत दोहोरो कर तिर्नुपरेको छ।

व्यास गाउँपालिकाको क्षेत्रमा प्रतिव्यक्ति ४ सय रुपैयाँ र अपी हिमाल गाँउपालिकाले वातावरण संरक्षण शुल्कको नाममा प्रतिव्यक्ति ५ सय रुपैयाँ उठाइरहेको छ। अपि हिमालमा सुरुमा यार्सा संकलन अनुमतिपत्रको नाममा शुल्क उठाइए पनि पछिल्लो समय वातावरण संरक्षण शुल्क नाम दिइएको छ भने भने अपिनाम्पा संरक्षण क्षेत्रले संकलन अनुमति पत्र बाफतको शुल्क उठाएको छ।

यार्सागुम्बाका नाममा स्थानीयले दोहोरो कर तिर्नुपर्ने अवस्था सिर्जना भएपछि जिल्लास्तरमा सरोकारवाला पक्षबीच पटक-पटक समन्वय र छलफल गरिएको थियो तर समस्या अझै जस्ताको त्यस्तै छ।

रेन्जपोष्टमा कार्यरत कर्मचारी वीरेन्द्रसिह ठाकुरका अनुसार जेठ १ देखि ६ गतेसम्म ४६ जनालाई यार्सा संकलन अनुमति दिइएको छ। जेठ ६ मा भएको सरोकारवालाहरुको बैठकपछि यार्सा संकलन अनुमतिपत्र वितरणमा अन्यौलता देखिएको कर्मचारीहरुको भनाइ छ।

अलिखित र गोप्य सहमति

जेठ ६ गतेको बैठकको निर्णयमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा संकलन अनुमतिपत्र जारी गर्ने उल्लेख भए पनि गाँउपालिकाहरुले शुल्क लिन सक्ने गरी अलिखित र गोप्य सहमति भएको अपिनाम्पा कार्यालय स्रोतले जानकारी दिएको छ।

व्यास र अपि हिमाल गाँउपालिकाले वनक्षेत्रमा गएर शुल्क उठाउने तथा उठेको शुल्क दुहुँ, नौगाड र मार्मा गाँउपालिकालाई पनि बाँडफाँड गर्ने सहमति बैठकका सहभागीबीच भएको स्रोतले बतायो।

नियमविपरीत अनुमति पत्र

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जारी गरेको यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका २०७३ को नियम ३ को उपनियम ६ मा ‘यार्सागुम्बा संकलन अनुमतिको म्याद बढीमा ३० (तीस) दिनसम्मको हुनेछ र यसरी अनुमति प्रदान गर्दा एकजना व्यक्तिलाई एकपटक भन्दा बढी यार्सागुम्बा संकलनको अनुमति दिइनेछैन।’ भन्ने प्रष्ट उल्लेख छ। तर अलिखित गोप्य भनिएको सहमतिअनुसार व्यापारीहरुलाई संकलन अनुमति पत्र उपलब्ध गराउने भनिएपछि अहिले यार्सा संकलन क्षेत्रका गएका संकलकहरुसँग नियमानुसार हुनुपर्ने संकलन अनुमति पत्र नै छैन। 

जनप्रतिनिधिहरुको दबावमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले वनक्षेत्रमा गएर यार्सा संकलन अनुमतिपत्र जारी गर्न नसकेको एक कर्मचारीले बताए। ‘सबैजनाले एउटै निष्‍कर्ष निकालेपछि कार्यालय र रेन्जपोष्टहरूबाट अनुमतिपत्र जारी गर्ने कार्य रोकिएको छ’ अपिनाम्पामा कार्यरत एक कर्मचारीले भने।

बैठकको अलिखित र गोप्य सहमतिअनुसार अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयमा निर्धारित शुल्क तिरेर यार्सा व्यापारीहरुले संकलन अनुमति पत्र बनाउनेछन्।

भारतीय यार्साका कारण खर्च गर्न बाध्य छन् व्यापारी

यार्साको कारोवार सुरु भएदेखि नै ठूलो परिमाणमा भारतबाट यार्सा आउने गर्दछ। भारतमा यार्सागुम्बा संकलन तथा यसको कारोवार प्रतिबन्धित छ तर पिथौरागढ जिल्लाको उत्तरपूर्वि क्षेत्रमा यार्सा प्रशस्त पाइने गर्दछ र सिमावारी (नेपाल) यार्साको राम्रो मूल्य पाइन्छ।  भारतबाट ल्याइएको यार्सागुम्बा दार्चुला जिल्लाको वनक्षेत्रमा संकलन भएको देखाइन्छ र संकलन अनुमतिदेखि लिएर छोडपूर्जीसम्म जारी गरिदै आएको छ।

भारतका स्थानीय नागरिक र राजनीतिको दबावमा भारतीय प्रशासनले यसमा रोक लगाउन सकेको छैन। हरेक वर्ष भारतका हिमाली क्षेत्रमा संकलन गरिएको यार्सागुम्बा अवैध रुपमा नेपाल आउने गर्दछ। नेपाल भित्रिएको यार्सागुम्बा नेपालमै संकलन भएको कागज बनाइन्छ।

‘यो वर्ष पनि ठूलो परिमाणमा भारतबाटै यार्सा आउने भएकाले यार्सा संकलन अनुमतिपत्रका लागि केही लाख रुपैयाँ खर्च गर्न व्यापारीलाई समस्या नभएको’ स्रोतको भनाई छ।

निर्देशिकाको प्रावधान मिचियो

जेठ ६ को बैठकले यार्सागुम्बा व्यवस्थापन निर्देशिका २०७३ को व्यवस्था विपरीत निर्णय गरेको देखिन्छ। जिम्मेवार जनप्रतिनिधिहरु, राजनीतिक नेतृत्व र प्रशासकीय नेतृत्व सम्मिलित बैठकले निर्देशिकाको प्रावधान विपरीत गरिएको निर्णयले आर्थिक चलखेलतिरको समेत संकेत गरेको स्रोतको भनाइ छ।

निर्देशिकाको नियम ३ को उपनियम ३ मा ‘यार्सागुम्बा संकलन गर्न १६ वर्ष उमेर पूरा गरेको व्यक्तिले मात्र अनुमति पाउनेछन्’ भन्ने उल्लेख छ। साथै निर्देशिकाको अनुसुची १ मा यार्सागुम्बा संकलन गर्न अनुमति पाउ भन्ने निवेदन पत्रसाथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने उल्लेख छ।

तर बैठकले ‘नेपाली प्रमाणपत्र नभए पनि अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् वा सो परिषद्अन्तर्गत गठित उपभोक्ता समितिबाट संकलनकर्ताको नाम र ठेगाना स्पष्ट खुलाई सिफारिस प्राप्त भएको अवस्थामा’ संकलन अनुमतिपत्र दिने व्यवस्था मिलाउन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।

त्यति मात्रै भएर निर्देशिकाको नियम ३ को उपनियम ६ को विपरीत हुने गरी प्रतिकिलो यार्सागुम्बाको लागि ८ संकलन अनुमति पत्र दिने र एक व्यापारीले जति संकलन अनुमति पत्रका लागि निवेदन दियो सोको ६० प्रतिशतले हुन आउने संख्याका आधारमा उक्त व्यापारीलाई संकलन अनुमति पत्र दिने अलिखित र गोप्य सहमित भएको जिल्ला जडिबुटी संघका एक पदाधिकारीले बताए। यार्साका व्यापारीसमेत रहेका निज पदाधिकारीले सोही सहमतिअनुसार अहिले व्यापारीहरुले यार्सासमेत खरिद गर्न सुरु गरेको जानकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.