सरकारले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्‍याे : हिसानअध्यक्ष सिलवाल

|

काठमाडौं : पूर्व शिक्षा सचिव जनार्दन नेपालले कक्षा १० तथा एसईईको नतिजा प्रकाशनमा सरकारले लापारबाही गरेको आरोप लगाएका छन्।  रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्व शिक्षा सचिव नेपालले एसईई नतिजा प्रकाशनमा देखिएको कमजोरीलाई अर्को वर्ष नदोहोर्‍याउँने गरि सत्य-तथ्यका बारेमा अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्। 

पूर्व शिक्षा सचिव नेपालले भर्खरै मात्रै प्रकाशित गरिएको एसईईको नतिजालाई लिएर धेरै कुराहरू सुनिन थालेको बताए। नेपालले भने, ‘यसका बारेमा सरकार गम्भीर बन्नुपर्छ। प्राविधिक तथा अन्य कुन-कुन पक्षले गल्ती गरेको छ। त्यो छानविन हुुनुपर्‍यो। अर्को वर्षमा यस्तो कमजोरी हुन नदिनको लागि चनाखो बन्नुपर्‍यो।’
कार्यक्रममा हिसानका अध्यक्ष रमेश सिलवालले सरकारले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लगाए। ‘प्रत्येक दिन नतिजा फरक छ। अघिल्लो दिन एक प्रकारको रिजल्ट अर्को दिनमा फरक रिजल्ट देखाएको छ। नतिजा प्रकाशितमा त यति विध्न समस्या छ भने कापी जाँचमा कति लापरबाही भयो होला? हामीले सहज अनुमान लगाउन सक्छौं,’ उनले भने, ‘विद्यार्थीको भविष्यका बारेमा मन्त्रालय, शिक्षा विभाग, परीक्षा बोर्ड कोही पनि गम्भीर बनेका छैनन्। ग्रेड सिस्टमका पनि त आफ्नै प्रकारका नियमहरू छन्। हाम्रो देशमा अंकमा तयार पारिने नतिजालाई अक्षरमा ढालेर ग्रेडिङ सिस्टम ल्यायौं भनिदैँछ। सबै मान्यता अपनाएर ग्रेड सिस्टम लागू गर्न सरकारलाई आग्रह गर्दछु।’

त्यस्तै उनले यसपाली त निजी र सामुदायिक विद्यालयको रिजल्ट समेत एउटैमा प्रकाशित गरेकोमा गुनासो पोखे। उनले भने, ‘कुन संस्थागत विद्यालयमा पढेको हो।  कुन कहाँ पढेको हो भन्ने नै थाहा छैन।’ त्यस्तै कार्यक्रममा एन प्याव्यसनका अध्यक्ष ऋतुराज सापकोटाले पनि राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको जीवनमाथि खेलवाड गरेको आरोप लगाएका छन्। उनले भने, ‘कक्षा ९ र १० को परीक्षाको बीचमा कुनै भिन्नता छैन्। परिणाम मात्रै फरक देखाएर हुन्छ ? पाठ्यक्रम पुरानै छ। शिक्षाको स्तर घट्दो छ। पढाईमा विद्यार्थीको चासो कम हुँदै गएको छ। परीक्षाको नाममा विद्यार्थी अल्मल्याउने काम भइरहेको छ।’

पछिल्लो तीन वर्षसम्म पनि एसईईको नतिजामा कुनै भिन्नता नआएको उनको आरोप छ। उनले भने, ‘यस वर्षको नतिजामा १४ हजार विद्यार्थीको रिजल्ट आएको छैन्। फरक-फरक रिजल्ट आएको छ। शिक्षामन्त्री र राष्ट्रिय शिक्षा बोर्डले यसको जिम्मेवारी लिनुपर्छ। दोषिमाथि कडा कारबाही गर्नुपर्छ।’ 

कार्यक्रममा प्याव्सनका महासचिव राजेन्द्र बानियाँले एसईईको नतिजा प्रकाशित गर्ने काममा सरकारले हतार गरेको आरोप लगाए। ‘उत्ताउलो गाइ बाघले खाई भनेजस्तै रिजल्ट प्रकाशित गर्ने काममा सरकार निक्कै हतारमा प्रस्तुत भएको छ। एकदुई दिन ढिला हुँदैमा आकास खस्ने त थिएन होला? यसमा शिक्षामन्त्री, शिक्षा मन्त्रालय, परीक्षा बोर्डका कर्मचारीले लापरबाही गरेका छन्,’ उनले भने, ‘यस्तो लापरबाहीका कारण कति विद्यार्थीको रिजल्ट आएको छैन। कतिको रिजल्ट आज एउटा र भोलि अर्कै भएर आएको छ। संस्थागत विद्यालयलाई बन्द गर्ने, कमजोर बनाउने काममा सरकार लागेको देखिन्छ। तर सामुदायिक विद्यालयको शिक्षालाई माथि उठाउनका लागि प्रयत्नरत देखिँदैन।’ उनले अघि थपे, ‘शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकारले लिनुपर्छ। हामी साथ दिन्छाैं। आफू पनि नगर्ने अरूलाई पनि गर्न नदिने हो भने कसरी विकास र समृद्धि आउँछ? अरु जेसुकै भए पनि एसईई को नतिजाले हामीलाई निराश बनाएको छ।’  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.