|

धनगढी : संघीय संसदमा नेपाली कांग्रेसका सांसदले गृहमन्त्री रामबहादुर थापा संसदमा नआएको भन्दै नियमापत्ति जनाए। सोमबार सभामुख कृष्णबहादुर महराले मन्त्री आउँदै गरेको भन्दै आसन ग्रहण गर्न अनुरोध गरे तर कांग्रेसका सांसदहरुले मानेनन्। 

सभामुख महराले गृहमन्त्री ट्राफिक जाममा परेको र केही बेरमै आइपुग्ने भनेपछि संसद हल हाँसोले गुन्जियो। सोमबार नै प्रदेश-७ को स‌ंसदमा पनि नेपाली कांग्रेसले‍ त्यस्तै अवरोध गर्‍यो। केन्द्रमा जस्तो मन्त्री समयमा नआएको भन्दै होइन। प्रदेश सातमा प्रदेश सरकारले असार १ गते ल्याएको बजेट चित्त बुझ्दो नभएको भन्दै नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसद अवरुद्ध गरेका हुन्।

प्रतिपक्षको अवरोध

पूर्वनिर्धारित समयअनुसार सोमबार अपरान्ह ४ बजे आह्वान गरिएको बैठक छलफलमै प्रवेश नगरी स्थागित भएको हो। प्रदेश सरकारले असार १ गते  ल्याएको २५ अर्ब ६ करोड ५६ लाखको बजेट प्रदेशको हित विपरीत भएको भन्दै प्रतिपक्षी दलहरूले प्रदेशसभाको बैठकमा अवरोध सिर्जना गरेका हुन्। 

प्रदेश सभाको बैठक सुरु भए लगत्तै प्रतिपक्षी दलहरूले टेवल ठोकेर सभामुखको ध्यानाकर्षण गराएका थिए।  सभामुख अर्जुनबहादुर थापाले प्रतिपक्षीलाई कुरा राख्न समय दिएपछि नेपाली कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले बजेट प्रदेशबासीको हितविपरीत भएको भन्दै संसद अवरुद्ध गरेको बताए। ‘प्रदेश सरकारले वितरणमुखी र कार्यकर्ता पोस्ने गरी डल्लो बजेट ल्याएको छ। त्यो टुक्रिएर नआएसम्म हामी अवरोध गर्ने छौँ,’ रावलले संसदमा भने। उनले सरकारले बहुमतको आधारतमा जनमत कुल्चिएको आरोप लगाए। रावलले धारणा राखिसकेपछि पुन सभामुखले सांसदहरूलाई आसनग्रहण गर्न निर्देशन दिए। तर कसैले टेरेन, मौन रहे। एकछिन् सांसद र सभामुखको हेरहेर भयो अनि सभामुखले बैठक स्थगित गरे। 

बैठक स्थगित भएपछि प्रतिपक्ष दलका सांसदहरूले संचारकर्मीलाई प्रतिक्रिया दिदै सरकारको रबैयाप्रति कडा आलोचना गरे। प्रतिपक्षी दल नेपाली कांग्रेसका भरतबहादुर खड्काले योजनाहरूमा प्रदेश सभा सदस्यहरूको सम्मानजनक प्रतिनिधित्व नभएको आरोप लगाए। ‘विधि र प्रक्रिया मिचेर आएको बजेटलाई हामी स्वीकार्दैनौं,’ खड्काले भने ‘योजना ल्याउने काम सांसदको हो। यहाँ अरुले नै ल्याएको भन्ने सुनेका छौं। गलत प्रवृतिबाट आएको बजेटलाई हामी मान्दैनौं। 

संयोग कि सर्कुलर !

प्रदेश ७ मा सोमबार पहिलो पटक प्रतिपक्ष दलले संसद अवरोध गरेका हुन्। सोमबार नै संघीय संसदमा पनि प्रतिपक्षले बैठक अवरोध गरेको थियो। संघीय संसदमा विपक्षको अवरोधपछि केही समयमा संचालन भयो तर प्रदेश ७ मा भने स्थगित गरियो। प्रदेश र केन्द्रमा एकै दिन संसद अवरोध संयोग मात्र भएको संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए। थाहा खबरसँग कुरा गर्दै रावलले सोमबार संसद अवरोध गर्ने विषयमा आइतबार नै सभामुख र मुख्य मन्त्रीलाई जानकारी गराएको बताए। 

‘हामीले बजेटका विषयमा गम्भीर बन्न सबैलाई आग्रह गयौं, कसैले टेरेनन् अनि बाध्य भएर संसद अवरुद्ध गरेका हौं’ रावलले भने। रावलले प्रतिपक्षको विषयमा सरकार गम्भीर नभए मंगरबार पनि बैठक अवरुद्ध गर्ने चेतावनी दिए। कांग्रेसका अर्का नेता तथा सांसद भरतबहादुर खड्काले पनि केन्द्र र प्रदेशको संसद अवरुद्ध संयोग मात्र रहेको बताए। ‘संसद अवरुद्ध गर्ने वा नगर्ने विषयमा हाम्रो केन्द्रमा कसैसँग छलफल भएको छैन। खड्काले भने, ‘सरकार पेलेरै जान थाल्यो। अनि हामी पनि प्रतिपक्षको भूमिकामा उभियौं’ ‘आजसम्म सरकारका राम्रा कुरामा सहयोग गर्‍यौं। अब गर्दैनौं,’ सांसद खड्काले भने। प्रदेश सरकारले बजेट संशाेधन नगरेसम्म संसद चल्न नदिने उनले बताए।

बजेट संशोधन हुँदैन : सरकार 

आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर वोहराले सरकारले ल्याएको बजेट कुनै पनि हालतमा संशोधन नहुने बताएका छन्। उनले बजेटमा प्रदेशवासीको भावना समेटिएको दाबी गरे। ‘बजेट विधि र नीति सम्मत आएको छ। एकै वर्षको बजेटमा सबैको भावना नसमेटिएको हुन सक्छ। छुटेका कुरालाई हामी आगामी वर्षका समेट्छौं’, मन्त्री वोहराले भने।

प्राथमिकताको आधारमा कार्यक्रम समेटिएको पनि मन्त्री वोहराले बताए। बजेटमा सबैको भावना समेटिएको मन्त्री वोहराको दाबी। ‘विधि र नीति भन्दा बाहिर गएर संशोधन गर्ने वा सच्याउने कार्य हुँदैन,’ मन्त्री वोहराले भने। प्रदेश पर्यटन र प्रादेशिक गौरवका आयोजनामा केही काम बाँकी सरकारले केही डल्लो बजेट ल्याएको स्पष्ट पारे। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.