|

बाँके : नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालले हाड रोग उपचारमा सघाउ पुर्‍याउन उपकरण जडान गरेको छ। उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उपकरण जडित ‘डेक्सा स्क्यान तथा बोन हेल्थ ओस्टेको ‘प्रोसिस क्लिनिक’ को उद्घाटन गरेपछि सेवा सुरु भएको हो।

क्लिनिक उद्घाटन पछि बोल्दै मन्त्री यादवले भेरी अञ्चल अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालयले प्रक्रिया अघि बढाएको बताए। उनले भेरी अञ्चल अस्पतालको सेवालाई प्रभावकारी बनाउन आवश्यक उपकरण थप गरि प्रविधिले सम्पन्न बनाउने बताए।

नेपालगन्जमा एउटा ठूलो सुविधा सम्पन्न अस्पताल आवश्यक भएको महशुस गरि केन्द्रीय सरकारले आवश्यक प्रक्रिया अघि बढाएको मन्त्री यादवले जानकारी दिए। उनले भेरी अञ्चल अस्पताललाई मेडिकल कलेजको रुपमा विस्तार गर्दै लैजाने आश्वासन समेत दिए।

‘नेपालमै काठमाडांै बाहिर डेक्सा स्क्यान मेसिन जडान गर्ने भेरी अञ्चल अस्पताल पहिलो सरकारी अस्पताल भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले बताए। उनले भने, ‘पश्चिम नेपालका विरामीका लागि यो महत्वपूर्ण उपलब्धी हो।’

हड्डीको घनत्व पत्ता लगाएर उपचारका लागि सहज बनाउन सहयोग पुग्ने डा. थापाले बताए। उनले उक्त उपकरण हड्डीको घनत्व पत्ता लगाउने मेसिन भएको बताए। ‘यो हड्डीको घनत्व पत्ता लगाउने एक प्रकारको एक्सरे मेसिन हो’, डा. थापाले भने। 

उमेर बढ्दै गएपछि पुरुष र महिनावारी बन्द भएपछि महिलाको हड्डी कमजोर हुँदै जाने भएकोले उक्त मेसिनको सहायताले उपचार गर्न सहज हुने उनले विश्वास ब्यक्त गरे। मेसिनको ७३ लाख ३४ हजार ८ सय ३० रुपैयाँ मूल्य रहेको अस्पतालले जनाएको छ। 

क्यान्सर अस्पतालमा बहिरङ सेवा सुरु

त्यस्तै बाँकेको खजुरास्थित क्यान्सर अस्पतालमा सोमबारबाट क्यान्सर रोगको उपचार सुरु भएको छ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले क्यान्सर अस्पतालको बहिरङ सेवा (ओपीडि) को उद्घाटन गरेपछि क्यान्सर रोगको उपचार सुरु भएको हो।

स्वास्थ्य मन्त्रालयबाट एक सय बेडको पूर्वाधार निर्माण स्वीकृति लिएपनि हाललाई बहिरंग विभाग निर्माण कार्य सकिएकाले सेवा शुभारम्भ गरेको अस्पताल प्रशासनले जनाएको छ। जटिल प्रकारका उपचारका लागि रेडियोलोजी तथा रेडियसन भवन निर्माण कार्य पनि अन्तिममा पुगिसकेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए। जटिल समस्या देखिए थप उपचारका लागि भरतपुर रेफरको व्यवस्था मिलाइएको उनले बताए।
अस्पतालले महिलाका लागि निःशुल्क पाठेघरको क्यान्सर चेकजाँच शिविर सञ्चालन गर्नुका साथै सचेतना अभियान संचालन गर्दै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.