|

काठमाडौं : नेपाल प्रहरीको अनुसन्धान प्रक्रिया नै चित्त बुझ्दो छैन। प्रहरीले निष्पक्ष अनुसन्धान नै गर्दैन भनेर नेपाल प्रहरीलाई लाग्ने सबै भन्दा ठूलो आरोप हो। हजारौं घटनाको सफल अनुसन्धान गरेको नेपाल प्रहरीलाई एउटै असफल घटनाले आरोप खेपिरहनु पर्ने हुन्छ।

यस्तो हुनुको कारण मानिसमा नेपाल प्रहरी संगठन प्रतिको विश्वसनियता नै नरहेको कतिपय प्रहरी अधिकारीकै भनाई छ। तर, नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शैलेश थापा भने नेपाल प्रहरीले कतिपय घटना बर्षै लगाएर भएपनि त्यसको सफल अनुसन्धान गरेको बताउँछन्।

कुनै घटनाको गहिराई सम्म पुग्न निक्कै समय लाग्छ यसलाई मात्र हेरेर नेपाल प्रहरी सफल भएन, छैन भन्न नमिल्ने उनको भनाई छ। 'संसारका कतिपय देशका प्रहरी जहाँ बिभिन्न उच्च प्रविधिको प्रयोग गर्दा समेत एउटा घटनाको अनुसन्धान गर्न वर्षै लागाएका उदाहरण छन्। हाम्रो प्रविधि विनानै कयौ अपराधका घटनाको सफल अनुसन्धान भएका छन्। अपराधी पक्राउ परेका छन्। यसमा सफलता मान्नु पर्छ',थापाले भने।

हाल सम्म नेपाल प्रहरीले प्रविधिको नाममा लागू औषधको परीक्षण गरिने हाइपरफरमेन्स थिन लेअर क्रोम्याटोग्राफी (एचपिटएलसी), डिएनए प्रोफाइलिङ युनिट, अटोमेटिक फिंगर प्रिन्ट आइडेन्टिफिकेशन सिस्टम (एफआइएस), पोलिग्राफ, डिजिटल फरेन्सिक ल्याब र कुकुर प्रयोगलगायतका केही प्रविधिबाटमात्रै अनुसन्धान गर्ने गरेको छ। यो प्रहरीको अनुसन्धानको लागि पर्याप्त नभएको प्रहरी अधिकृतहरुको भनाई छ।

कसरी गर्छ नेपाल प्रहरी घटनाको अनुसन्धान ?

अपराध अनुसन्धान अधिकृत

अपराध अनुसन्धानको पहिलो सिँढी हो, अपराध अनुसान्धान अधिकृतहरुको टिम यसमा घटनास्थललाई सुरक्षित राखेर घटना स्थलमा भेटिएका रगत, कपडा, हतियार, लगायतका घटना स्थलका सबुद प्रमाणहरू जुटाउने काम हुन्छ। घटना स्थल संकलनमै कमजोरी भयो भने वर्षौंसम्म पनि अपराधी पत्ता लाग्न सक्दैन।

विकसित देशहरुमा यस्ता प्रमाण संकलन गरी ल्याब टेस्टका लागि पठाइन्छ। घटनास्थललाई सुरक्षित राख्छन्। तर नेपालमा भने घटनास्थललाई सुरक्षित गर्नेकाम भने राम्रो संग गरेका देखिदैन्।

सिसीटिभी फुटेज  

नेपाल प्रहरीले अपराध अनुसन्धानमा सहयोग हुने भएकाले उपत्यकाका झण्डै ३ सय स्थानमा सिसी टिभी जडान गरिएको छ। अपराधीको पहिचान गर्न सिसी टिभीले सहयोग समेत गरेको छ।

सिसी टिभीको फुटेजबाटै निमार्ण व्यवसायी महासंघका अध्यक्षक शरदकुमार गौचनका हत्यारा पत्ता लागेको थियो। तर,कतिपय अवस्थामा सिसी टिभी फुटेजमा अस्पष्ट तस्बिर देखिएका कारण अपराधी पत्ता लाग्न कठिन हुने गरेको प्रहरीको भनाई छ।

पोलिग्राफ मेसिन

कुनै अभियुक्तले बोलेका कुराहरू सत्य हुन् वा होइनन् छुट्याउन पोलिग्राफ प्रविधिको प्रयोग गरिन्छ। पोलिग्राफले व्यक्तिको शरीरमा हुने विभिन्न मानसिक गतिविधि र शारीरिक परिवर्तनलाई एकैसाथ बहुग्राफमा अभिलेखीकरण गर्छ।

नेपाल प्रहरीले अपराध अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्युरो, विषेश ब्युरो, लागूऔषध नियण्त्रण ब्युरो र महानगरीय प्रहरी र प्रदेश प्रहरी कार्यालयहरूमा पोलिग्राफ परीक्षण कक्ष स्थापना गरेको छ।

डिजिटल फरेन्सिक ल्याब

डिजिटल फरेन्सिक ल्याब (डिएफएल) नेपाल प्रहरीले भित्र्याएको सबैभन्दा नयाँ अपराध अनुसन्धान प्रविधि हो। २४ मंसिर २०७२ मा यो ल्याबको स्थापना गरिएको हो।

यसले घटनास्थलबाट प्राप्त पेन ड्राइभ, हार्ड डिस्क, याहु गुगललगायत डिजिटल डिभाइसको डिजिटल डाटाको परीक्षण गरी प्रमाण जुटाउन सहयोग पुर्‍याउने गर्दछ। 

सि फोर आइटु विश्लेषण

साइबर क्राइम कोअर्डिनेटर सेल (सी–४) ले अपराध अनुसन्धान कार्यमा आवश्यक पर्ने अपरेशनल डाटा नेपाल दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक संस्थासँग समन्वय गरी उपलब्ध गराउँदै आएको छ।

कुन व्यक्तिको सम्बन्ध कोसँग छ, भन्ने कुरा खुलाउन आइटु विश्लेषण सफ्टवयेरको प्रयोग गरिन्छ। यसले कल डिटेल रेकर्ड केलाउँने काम गर्ने अपराध महाशाखाका एक अधिकृतले जनाए। यस मार्फत धेरै अपाराधका घटना पत्ता समेत लगाएको उनको भनाई छ।

तर, सर्वोच्च अदालतले गत वर्षको २१ माघदेखि व्यक्तिको गोपनियता अधिकार भंग हुने भन्दै अदालतको स्वीकृतबिना प्रहरीले कल डिटेल संकलन गर्न नपाउने आदेश जारी गरेका छ। यसले अपराध अनुसन्धानमा केही अप्ठेरो परेको अपराध महाशाखाका प्रहरी अधिकृतको भनाई छ।

कुकुर मार्फत अनुसन्धान

भिन्न भिन्न मुलुकमा पाइने विभिन्न प्रजातिका कुकुरमध्ये केही प्रजातिका कुकुरलाई नेपाल प्रहरीले अपराध अनुसन्धानमा प्रयोग गर्दै आएको छ। ती मध्ये नेपाल प्रहरीसँग जर्मन सेफर्ड, ल्याब्रोडर, ककर स्प्यानियल, गोल्डेन रिट्रिभर, विगल, बेल्जियम मेनोलोइज, ब्लड हाण्ड र डच सेफर्ड गरी आठ प्रजातिका कुकुर रहेको छन्।

कुकुरलाई तीन महिनाको आधारभूत तालिम दिएपछि उनीहरूको क्षमताअनुसार वर्गीकरण गरिन्छ। कुकुरलाई घटना स्थलमा पुर्‍याए पछि सुघेर अपराधी सम्म पुग्न सयोग गर्ने गर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.