|

उदयपुर :  प्रदेश १ का सोलुखम्बु, खोटाङ र ओलखलढुंगालाई एक महिनादेखि नाकाबन्दी लगाउने ठाँटी खुल्न अझै दुई दिन लाग्ने भएको छ।  सगरमाथाको प्रवेशद्वार मानिने सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्डमा पर्ने ठाँटी भञ्ज्याङमा खुल्न अझै कम्तीमा दुई दिन लाग्ने भएको हो। 

 ठेकेदारको अनुरोधमा सडक डिभिजन कार्यालय लाहानले गएको जेठ १३ देखि असार १२ गतेसम्म लोकमार्ग मर्मतका लागि पूर्ण रूपमा बन्द गरेको थियो। असार १२ मर्मतको काम नसकिएपछि अझै दुई दिन बन्द हुने भएको हो। त्यही ठाँटीमा भइरहेको आरसीसी ढलान र कालोपत्रे गर्ने काम सक्न अझै दुई दिन लाग्ने भएको हो।

सडकको १२ सय मिटर पिचको काम अम्बे बिल्डर्स काठमाडौंले एक करोड पाँच लाख रुपैयाँ र तीन सय मिटर सडक आरसीसी ढलानको काम ९० लाख रुपैयाँमा विकास निर्माण सेवा सिरहाले गरिरहेको छ। ‘दुवै ठेकेदारले तीव्ररूपमा काम गरिरहेका छन्,’ सडक डिभिजन कार्यालय लहानका सूचना अधिकारी चित्रञ्जन रानाले भने, ‘केही दिन विवाद भएकाले काम रोकिएको थियो, अब असार १५ गतेदेखि खुल्छ।’

उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले असार १५ गते खुल्ने गरी काम गर्न दबाब दिएको बताए। ‘सुरु सुरुमा गुणस्रहिन काम गरेको थियो,’ उनले भने, ‘पछि हामीले सबैले दबाब दिएपछि मात्र गुणस्तरीय काम गर्दा ढिला भयो। ठेकेदारको लापरबाहीका कारण ढिला भएको हो।’

ठाँटी नखुल्दा तीन जिल्लामा नाकाबन्दी जारी

सिरहाको मिर्चैयाँदेखि ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग ओखलढुंगा सोलुखम्बु र खोटाङको प्रमुख मार्ग हो। अकटारी नगरपालिकामा पर्ने कटारी–घुर्मी सडक खण्डको ठाँटी मर्मतका लागि एक महिनादेखि बन्द भएपछि तीनै जिल्लामा नाकाबन्दी लागेको छ। प्रदेशको उच्च पहाडी क्षेत्रमा पर्ने सोलुखम्बु, खोटाङ र ओलढुंगामा नाकाबन्दी नै लागेको छ। ‘तीन जिल्लामा खाद्यनन्नदेखि नुन तेललगायतका उपभोग्य वस्तु ढुवानी हुने भनेको यही सिद्धिचरण लोकमार्ग नै हो,’ उदयपुर उद्योग वाणिज्य संघ कटारी अध्यक्ष पुस्कर खड्काले भने, ‘गत जेठ १३ गतेदेखि उक्त लोकमार्गमा पर्ने ठाँटी खण्डमा बन्द गरेर सडक विभाग लहान कार्यालयले ठेकेदारमार्फत मर्मत गरेकाले यातयात ठप्प भएको छ, तीन जिल्लामा अझै नाकाबन्दी जारी छ भन्दा फरक पर्दैन।’

ठूला तथा साना मालवाहक सवारी साधन सञ्चालन ठप्प भएको छन्। यसका कारण ओखलढुंगा सोलुखम्बु र खोटाङमा उपभोग्य वस्तुको मुल्य वृद्धि भएको उपभोक्ताको गुनासो छ। ओखलढुंगमा बजारमा ग्राहकको माग अनुसारको उपभोग्य वस्तु उपलब्ध हुन छाडेको उद्योग वाणिज्य संघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.