छानविन गर्न नगरप्रमुखको संयोजकत्वमा समिति गठन

|

काभ्रेपलाञ्चोक : पाँचखाल नगरपालिकास्थित आँपघारी आसपासका स्थानीय बासिन्दाले बस्ती नजिकै सञ्चालन भइरहेका इँटाभट्टा र प्लाइ उद्योगका कारण वातावरण प्रदूषित हुनुका साथै मानव स्वास्थ्यमा समेत असर गर्न थालेको भन्दै उद्योगहरू हटाउनु पर्ने माग गरेका छन्।

नगरपालिकाको वडा नं. ७, ८, ९ र १२ मा पर्ने त्यहाँका आँपघारी, श्रीराम पाटी र किटिनी टोललगायतको करिब एक किलोमिटरको दूरी आसपासमा मात्रै सात वटा इँटाभट्टा र एउटा प्लाइ उद्योग सञ्चालनमा छन्। ती उद्योग नियम विपरीत सञ्चालन हुँदै आएको स्थानीयको भनाइ छ। तरकारीको पकेट क्षेत्रको रूपमा परिचित ‘पाँचखाल नगर, कृषि सहर’ नामले चिनिने पाँचखाल नगरपालिकामा इँटाभट्टा सञ्चालनमा आएपछि वातावरण प्रदूषित बन्दै गएको भन्दै नगरपालिकाका बासिन्दा आक्रोसित बनेका छन्। त्यहाँ करिब १० वर्षअघि एक दुई वटा इँटाभट्टा सञ्चालनमा आए पनि अहिले सात वटा भट्टा सञ्चालनमा छन्।

उद्योगबाट निस्कने धुवाँले वायु प्रदूषण हुनका साथै खेतबारीमा लगाएको तरकारी बालीमा समेत असर गरेको वडा नं. ७ का वडाध्यक्ष पुष्कर ढकालले बताए। उनले भने, ‘कृषि सहर पाँचखाल नगर भनेर चिनिएका पाँचखालको उत्पादनलाई उद्योगबाट निस्किने धुवाँले असर गरेको छ।’

स्थानीय चेतनाथ दंगालले भट्टाबाट निस्कने धुवाँका कारण रात छिप्पिँदै जाँदा सास फेर्न गाह्रो हुने गरेको बताउँछन्। ‘बिहान त हुस्सु लागेजस्तो आकाश नै धुम्म हुन्छ, बगैंचामा आँप, लिचीलगायतका फलफूलले फूल फुल्न छाडिसक्यो’ दंगालले भने, ‘यस्तो अवस्थामा हामी कसरी बाँच्ने र खेती गर्ने?’

स्थानीय ढकनारायण पराजुलीले इँटाभट्टालाई सार्न अथवा सुधार्न अपनाउनु पर्ने विधिको विषयमा छलफल गर्दा उल्टै धम्क्याउने गरेको बताए। उनले भने, ‘भट्टाको विषयमा कुरा गर्नका लागि सञ्चालक कहिल्यै नआएको र बीचमा फाइदा खाने ठेकेदारहरू अगाडि सरेर सबैलाई तर्साउने र धम्क्याउने गरेको छ।’ भट्टाले डिप बोरिङ गरेको कारण भएको पुराना इनारहरू समेत सुकेको उनले बताए।

स्थानीयवासीले पहिलादेखि नै इँटाभट्टाको विषयमा बारम्बार आवाज उठाइरहे पनि सुनुवाई नभएको नवराज ढकालको गुनासो छ। जनप्रतिनिधि आएपछि केही होला कि भन्ने सोचेको तर त्यसअनुसार आफुहरूले सुधार नपाएको उनको भनाइ छ। उनले भने, ‘नगर प्रमुखले सुरुमा भट्टा जसरी भए पनि हटाउँछौं भन्नुभएको थियो, अहिले भने कुनै प्रतिक्रिया दिनुभएको छैन।’ 

स्थानीयको मागको कुनै सुनुवाई नभएपछि भट्टा सञ्चालक, ठेकेदार, स्थानीयवासी र नगरका प्रमुख, उपप्रमुख लगायत वडाका सबै जनप्रतिनिधि सहभागी हुने गरी आयोजना गरिएको अन्तक्र्रियामा समेत प्रमुख र उपप्रमुख उपस्थित नै नभएको ढकालले बताए।

इँटाभट्टा विद्यार्थी कामदार

पाँचखाल नगरपालिका–१२ स्थित आँपघारीमा रहेको जय भिमसेन इँटा उद्योग भुवनेश्वरी निम्न माध्यमिक विद्यालयभन्दा करिब ५० मिटरको दूरीमा रहेको छ।

त्यस उद्योगमा उक्त विद्यालयका विद्यार्थीहरू इँटा लोड गर्न जाने गरेका छन्। उद्योग विद्यालय नजिक रहेको र आर्थिक हिसाबले विपन्न रहेको दनुवार वस्ती भएकाले विद्यार्थी इँटा लोड गर्न जाने गरेको विद्यालयका शिक्षक जगन्नाथ धिमालले बताए। ‘इँटाभट्टा विद्यालयको छेउमा नै भएका कारण विद्यार्थीहरू कतिबेला बाहिर निस्केर इँटा लोड गर्न जान्छन् थाहा हुँदैन,’ उनले भने, ‘भन्ने बेलामा बालश्रम शोषण गर्नु हुँदैन भन्छन्, तर यहाँका विद्यार्थीहरूलाई काममा लगाइन्छ।’ 

विद्यालयका प्रधानाध्यापक बलबहादुर कुँवर इँटाभट्टाका कारण विद्यालय र गाउँलाई नै असर गरिरहेको बताउँछन्। ‘हामीले जति समस्या उठाए पनि उहाँहरूको उद्योग सञ्चालन भइरहेको छ’ कुँवरले भने, ‘विरोध गर्नुको हुनै अर्थ रहेको छैन।’

नगरपालिकाले वास्ता गरेन : स्थानीय

दश वर्षअघि सुरु भएको इँटाभट्टाले नियम विपरीत जथाभावी डिप बोरिङ गरेकाले पानीको मुहान सुकेकाले स्थानीयवासी संघर्ष समिति नै गठन गरी आन्दोलन गर्दै आइरहेको छन्।

संघर्ष समितिका संयोजक सूर्यबहादुर भेटवालका अनुसार भट्टाको धुवाँका कारण धोएर सुकाएको कपडा नै कालो हुने गरेको छ। ‘तरकारी बाली सुक्न थाल्यो, गाई भैंसीले घाँस खान छाडिसके,’ भेटवालले भने, ‘अब नगरलाई हरियाली सहर र कृषि नगर बनाउन इँटाभट्टा हटाउनुको विकल्प छैन।’

प्रदूषणबारे नगरपालिकाका प्रमुखलाई पटक पटक भटेर समस्या राख्न पनि कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ। ‘शुरुमा नगर प्रमुखले आफ्नै नेतृत्वमा हटाउँछौं भन्नुभएको थियो, अहिले चासो दिनुभएको छैन,’ भेटवालले भने, ‘यदि उहाँहरूले गर्नुभएन भने स्थानीयवासी जसरी भए पनि हटाउँछौं।’

गुनासो सम्बोधन हुँदैछ : नगर प्रमुख 

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले नगरपालिकाको कृषि नगर र व्यवस्थित सहरका लागि नगरपालिकाको तर्फबाट समस्या समाधान र त्यसलाई थप व्यवस्थित र सुदृढीकरण गर्न आफुहरू लागिपरेको बताए।

नगरपालिकाको वडा नं. ७, ८ ९ र १२ मा सञ्चालित इँटा उद्योगले वातावरण प्रदूषण गरेर स्थानीयवासीलाई असर पु¥याउनुका साथै कृषिमा समेत असर गरेको भन्ने कुरा आएपछि नगरप्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेरको प्रमुख खरेलले बताए। ‘अहिले समितिले काम थालिसकेको छ,’ नगर प्रमुख खरेलले भने, ‘पहिलो चरणमा त्यहाँका व्यवसायीहरूलाई बोलाएर छलफल गरिसकेका छौं, अब भट्टा सञ्चालनको लागि जग्गा भाडामा दिने किसानहरूलाई बोलाएर छलफल गर्ने तयारीमा छौं।’

श्रीरामपाटीका सुवर्णेश्वरी इँटाभट्टाका सञ्चालक ज्ञानबहादुर दनुवारले नियमले के भन्छ भन्दा पनि वातावरण मैत्री कसरी बनाउने भन्नेतर्फ अगाडि बढ्न खोजिरहेको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.