|

काठमाडौं : २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त बनेको काठमाडौं हनुहानढोका दरबार क्षेत्रस्थित गद्दी बैठकको जिर्णोद्वार गरिएको छ। अमेरिकी सरकार सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसीपी)को सहयोगमा ऐतिहासिक पुरातत्वको गद्दी बैठकको जिर्णोद्वार गरिएको हो।

निर्माण सम्पन्न गरिएको गद्दी बैठक तथा अन्य चार स्मारकको बुधवार समुद्घाटन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि कार्यबाहक अमेरिकी राजदूत पिटर मालनाकले एक कार्यक्रमकाबीच संयुक्तरुपमा समुद्घाटन गरे। सात लाख अमेरिकी डलर अनुदान प्राप्त भएपछि मियामोटो ग्लोबल डिजास्टर रिलिड्ड तथा नेपाल सरकार पुरातत्व विभागसँगको साझेदारीमा गद्दी बैठकको भूकम्पीय प्रबलीकरण तथा पूर्ण जीर्णोद्वार गरिएको हो। 

१७/१८ औं शताब्दीमा निर्माण भई हालै जीर्णोद्वार तथा पुनर्निर्माण गरिएका महादेव, कागेश्वर लक्षम्नारायण र सरस्वती मन्दिरहरुको समेत उद्घाटन गरिएको हो। एएफसीपीको दुई लाख अमेरिकी डलर रकम भूकम्पपछिको आकस्मिक अनुदानमार्फत काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टले नेपाली शैलीका चार स्मारकहरुको जीर्णोद्वार कार्य तथा भूकम्पीय प्रबलीकरण गरेको हो।

उक्त सम्पदाको जीर्णोद्वारका लागि भूकम्प प्रतिरोधी विधिमा दक्षता भएका इञ्जिनियरहरुले सांस्कृतिक सम्पदा संरक्षण तथा जीर्णोद्वार सम्बन्धी अनुभव प्राप्त आर्किटेक्कहरुसँग समन्वय गरेर संयुक्त रुपमा गद्दी बैठक भवनको जीर्णोद्वार डिजाइन तथा निरिक्षण गरेका थिए।

उक्त भवनको वास्तुशिल्प निष्ठामा आँच नआउनेगरी भूकम्पीय प्रबलीकरण गर्नका लागि उनीहरुले लक्षित संरचनागत हस्तक्षेप समेत गरेको बताइएको छ। गद्दी बैठकलाई अझै भूकम्प प्रतिरोधी बनाउन र भावी पुस्ताका लागि संरक्षण गर्न जीर्णोद्वारका क्रममा स्थानीय शिल्पकार तथा परम्परागत निर्माण सामग्री तथा विधि प्रयोग गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.