|

काठमाडौं : गत वर्ष सम्पन्न तीन तहको निर्वाचनमा कांग्रेस कमजोर देखियो। पार्टी पराजयको विषयमा धेरै बहसहरू पनि भए। पार्टी पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने कसैले बताए त कसैले कम्युनिस्टको गठबन्धनका कारण पार्टी हारेको निष्कर्ष निकाले।

१३ औँ महाधिवशेनपछि पार्टीमा सञ्चालन भएका विभिन्न गुट तथा उपगुटका कारण पार्टी कमजोर बन्दै गएको नेता/कार्यकर्ताहरूले आरोप लगाउँदै आएका छन्। पार्टी नेतृत्वले निर्वाचनका समयमा टिकट वितरणमा गरेको त्रुटिका कारण पनि पार्टीले पराजय भोग्नुपरेको कतिपय नेताहरूले आरोप लगाउँदै आएका छन्।

नेपालको संविधानअनुसार पार्टीको विधानसमेत परिमार्जन भएको छैन। संविधानले स्थानीय, प्रदेश र केन्द्र गरी तीन तहको व्यवस्था गरेको छ। तर, कांग्रेसको संगठन भने संविधानअनुसार छैन।

अहिलेसम्म भएका कमजोरीलाई सुधार गर्दै पार्टी एक भएर अघि बढ्नुपर्ने कार्यकर्ताहरूले बताउँदै आएका छन्। यसै सन्दर्भमा कांग्रेसको विगतका कमजोरी, पार्टी सुधारमा अबको गन्तव्यलगायत विषयमा महामन्त्री डा. शशांक कोइरालासँग थाहाखबरका तीर्थ कोइराला, अर्जुन खड्का, चिरञ्जिबी घिमिरे र दीपक केसीले गरेको कुराकानी :

कांग्रेसले निर्वाचनमा पराजय व्यहोर्नुका कारणबारे धेरै बहस भए तर स्पष्ट कारण आएका छैनन्। अहिलेसम्मको बहसको आधारमा कांग्रेसले हार्नुको कारण नीति कि नेतृत्व?

कांग्रेस अपेक्षित स्थानमा जित्न नसक्नुको कारण चुनावी रणनीति नै मुख्य हो। दुई दल मिल्नु पनि हारको एउटा पक्ष बन्यो। अर्को पक्ष हामी नै एक हुन सकेनौँ। यी दुवै कारणले हाम्रो पराजयका लागि भूमिका खेले। भोलिको दिनमा अब नेपाली कांग्रेसले एक्लै उठेर जित्नु पर्‍यो नि। हामीसँग जित्ने सामर्थ्य छ, त्यो विचार छ। हामी त्यो विचारको आधारमा हिँड्यौँ भने कम्युनिस्टहरूले जतिसुकै गठबन्धन गरे पनि नेपाली कांग्रेसलाई जित्न सक्दैन।

अबको चुनावमा हामीले ५१ प्रतिशत मत पार्नुपर्छ र हाम्रो रणनीति नै त्यही हुनुपर्छ। त्यसका लागि पहिले पार्टी एक हुनुपर्छ। दोस्रो मध्यमार्गी लाइनका अरूलाई पनि समेटेर जानुपर्छ। अबको निर्वाचनमा २५ लाख नयाँ मतदाता आउँदै छन्, उनीहरूलाई हामीतर्फ आकर्षित गर्नुपर्छ। नेविसंघले नयाँ मतदातालाई हामीतर्फ आकर्षित गर्न भूमिका खेल्नपर्छ।

हामीसँग इतिहास, समाजवादी आदर्श छ र तेस्रो कुरा हामीसँग कार्यकर्ता छन्। उनीहरूलाई एकै ठाउँमा राखेर अघि बढ्ने हो भने कांग्रेसको भविष्य अझै पनि उज्ज्वल छ। कार्यकर्ता निराश हुनुपर्ने अवस्था छैन। कांग्रेस अब नीति संगठन र सोचाइबाट माथि उठ्नुपर्छ। महामन्त्रीको हैसियतले म त्यसलाई अगाडि बढाउन तयार छु ।

दिल्लीमा सम्पन्न १२ बुँदे सम्‍झौतापछि क्रमश: बिपीले प्रतिपादन गरेको सिद्धान्तबाट कांग्रेस विमुख हुँदै यो अवस्थामा आएको आरोप छ नि?

त्यो होइन, किनकि हामीले बिपीले देखाएको बाटो नै हिड्ने प्रयास गरिरहेका छौँ। २०४८ सालपछि गिरिजाबाबुले अर्थतन्त्रको क्षेत्रमा एउटा उदारवादी नीति ल्याउनुभयो। त्यसले निजी मेडिकल कलेज, विश्व विद्यालयहरू खुले हर क्षेत्रमा अवसर खुल्यो। त्यो बिपीको सिद्धान्तभन्दा केही फरक भएको सत्य हो। तर, त्यो तत्कालीन परिस्थितिको उपज मात्र हो। अन्तत: हामीले हिँड्नुपर्ने बाटो नै बिपीले देखाएको बाटो नै हो।

त्यसको अर्थ गिरिजाबाबुले नराम्रो गर्नुभयो भन्ने होइन। उहाँको नीतिले ५५ लाख नेपाली विदेश जान पाए। त्यहीकारण आज यो देश रेमिट्यान्सले नै धानिएको छ। पञ्चायतकालमा सर्वसाधारणलाई राहदानी पाउन सहज थिएन। नेपाली कांग्रेसले लिएको उदारवादी नीतिले गर्दा धेरैले विदेश जाने अवसर पाए।

तर, भोलिका दिनमा युवाहरूलाई यही परिचालन गर्नुपर्छ। युवाहरू राष्ट्र निर्माणमा लाग्नका लागि अवसर दिनुपर्छ। तर, हामीले विदेश जान रोक्नचाहिँ सक्दैनौँ। देश विकासमा योगदान गर्ने ६० प्रतिशत ऊर्जाशील युवाहरू विदेश छन्। अब भोलिका दिनमा नयाँ रणनीतिका साथ युवालाई नेपालमै रोजगारी दिने वातावरण बनाउनुपर्छ।

यी त भए तत्कालिक कुरा तर कांग्रेस अगाडि बढ्न बिपी चिन्तनलाई आत्मसात गर्छ?

उदारवादी नीति पनि बिपीबाटै सुरु भएको हो। जसको जोत उसको पोत, भूमि सुधारजस्ता नीति पनि उहाँले नै सुरु गर्नुभएको हो। त्यही आधारमा हामीले अगाडिका दिनहरूमा पनि काम गर्नुपर्छ। कांग्रेसले बिपीको समाजवादी चिन्तन र उहाँको विचारबाट पृथक् भएर कांग्रेसअगाडि बढ्नै सक्दैन। आजको यथार्थ त्यही हो।

कांग्रेसभित्र पनि विभिन्न समयमा हिन्दु राष्ट्रको मुद्दा उठ्दै आएको छ। कांग्रेस अब त्यो एजेन्‍डा बोक्न तयार हुन्छ?

यसमा मेरो आफ्नै एउटा दृष्टिकोण छ। मैले संसद्‍मा नेतृत्व गर्ने ठाउँमा धेरै धार्मिक समूह छन्। उनीहरूको नेतृत्व गरेको छु मैले। मलाई सोध्नुहुन्छ भने हिन्दु राष्ट्र हुनुपर्छ। हाम्रो पार्टीको दिवंगत नेता खुमबहादुर खड्काले त हिन्दु राष्ट्रको एजेन्‍डाका लागि अभियान नै चलाउनुभएको थियो। तर, मेरो भनाइचाहिँ हिन्दु राष्ट्रका लागि जनमत संग्रहमा जानुपर्छ  भन्ने हो।

किनभने अरू राजनीतिक उथलपुथल त एक किसिमले सामान्य भएको छ। माओवादीले बन्दुक छाड्यो। सबै एक ठाउँमा आएका छन्। अब जनमत संग्रह गराएर हिन्दु राष्ट्र ल्याउनुपर्छ भन्ने मेरो पनि धारणा हो। किनभने यो बहुसंख्यक नेपालीको आवाज हो। बहुसंख्या मात्र होइन बौद्धमार्गी र हिन्दु बाहुल्य नेपालमा अरूलाई आफ्नो धर्म मान्न बाधा नपुग्ने गरी हिन्दु राष्ट्र बन्दा सबैको भलो हुन्छ।

अहिले जस्तो लोभ देखाएर नेपालमा अन्य धर्म फैलाउने काम रोकिनुपर्छ। प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन पाइँदैन। गरिब जनता धर्मको नाममा किनबेच गर्न दिनुहुँदैन। स्थानीय प्राकृत धर्म मान्ने जातजातिका धर्म संरक्षण गर्न कांग्रेस अग्रसर हुनुपर्छ। अहिलेसम्म नेपाली कांग्रेसले यो मुद्दामा ध्यान दिएको छैन। तर, आगामी दिनमा त्यो मुद्दा उठ्छ। त्यो मुद्दामा जाँदा हामीले प्रचारप्रसार गर्नुभन्दा तटस्थ बसेर हिन्दु राष्ट्रका बारेमा जनमत संग्रह गर्नुपर्छ।

कांग्रेसले गणतन्त्रको बाटो छोड्ने आशंका पनि कतिपयले गरिरहेका छन् नि?

नेपालमा असम्भव नै त केही हुँदैन। तर, अहिले त्यस्तो वातावरण  छैन। अहिले नै यो सम्भावना देख्नु अपरिपक्व हुनेछ।

अब आउने निर्वाचनसम्ममा कम्युनिस्ट र गैरकम्युनिस्ट दुई ध्रुवमा देशको राजनीति बाँडिने सम्भावना छ?

हाम्रो रणनीति के हुन्छ त्यसमा भरपर्ने हो। मैले अघि नै भनेँ हामी आउँदो निर्वाचनमा ५१ प्रतिशतको न्यूनतम लक्ष्य राख्छौँ। त्यसका लागि हाम्रो विचार संगठन र रणनीतिमा निखार आउनुपर्छ। कुराले मात्र जितिँदैन। गैरकम्युनिस्ट एकै ठाउँमा उभिने कुरामा हाम्रो प्रयास रहन्छ। हामी अरू गैरकम्युनिस्टलाई पार्टीमा आउन आग्रह गर्छौं। समय विश्व समुदाय र जनता कांग्रेसको पक्षमा रहनेछन्।

नेपालमा सिद्धान्त नमिल्ने पार्टीबीचमा पनि गठबन्धन भएको छ। तपाईंहरूले पनि स्थानीय तहको चुनावमा तत्कालीन माओवादी केन्द्रसँग गठबन्धन गर्नुभयो। यस्तै खाले गठबन्धन बेलाबेला देखा पर्छ यो कत्तिको नैतिक र राष्ट्रहितमा होला?

त्यो बेलाको परिस्थितिमा शेरबहादुरजीको रणनीति थियो। कम्युनिष्टहरुलाई  ध्रुवीकरणबाट वञ्चित गर्नका लागि।  नत्र त चितवनजस्तो ठाउँमा यत्रो कार्यकर्ता हुँदा हुँदै माओवादीलाई भोट हाल्न त लगाउनु हुने थिएन होला। त्यो त कांग्रेसको चितवन जिल्लाको इतिहासलाई समाप्त पार्ने काम भयो। असफल रणनीति सिद्धभयो त्यो। त्यसैले कांग्रेसले विचार मिल्ने तहमा मात्र एकता गर्ने काम गर्नुपर्छ। तत्कालीन फाइदा हेरेर र आत्तिएर आत्मघाती सिद्ध हुने काम कांग्रेसले गर्नुहुँदैन।

कांग्रेसको संगठन भद्रगोल भएर र पार्टीभित्रको गुटबन्दील यो हालतमा पुगेको कार्यकर्ताको आरोप छ। अब कांग्रेसलाई सुधार गर्न महामन्त्रीको हिसाबले तपाईंको भूमिका के हुन्छ?

म महामन्त्री भएकाले संगठनलाई मिलाउन मेरो धेरै महत्त्वपूर्ण भूमिका रहने मैले बुझेको छु। मैले पटकपटक भन्दै आएको छु, अब पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्‍यो। गुट र उपगुटले पार्टी यो हालतमा आएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किमजोङ उन त जस्तादुई विपरीत ध्रुवका नेता त एकअर्काबीच मिलिसके भने एउटै विचार, एउटै आदर्श, एउटै इतिहास भएका हामी किन नमिल्ने? हामी सहजै मिल्न सक्छौँ। यसका लागि आउँदो गुटको अन्त्य हुनुपर्छ। महाधिवेशनका बेलामा भोट हाल्दा कसलाई हाल्ने, नहाल्ने  हुन्छ। पक्ष विपक्ष पनि हुन्छ तर त्यसैले आधार बनाएर दीर्घकालीन रूपमा पार्टीभित्र गुट चलाउनुहुँदैन। बिपीको समयमा पनि गुटबन्दी त हुन्थे। तर, अधिवेशनपछि एक भएर अघि बढेको इतिहास छ नि। 

एउटा पार्टीभित्र गुट हुनु त सामान्य हो, तर कांग्रेस त गुटले नै चलाएको छ भनिन्छ नि?

पार्टी सिद्धान्तले चल्नुपर्ने हो। गुटले होइन। तर, धेरैले यस्तो पनि महसुस गरेको बताएका छन्। म यो परिस्थिति अन्त्य गर्न लागिपरेको छु। जसले यस्तो काम  गर्नुभएको छ उहाँहरूलाई पनि पार्टी साझा हो भन्ने आभाष दिलाउन अाग्रह गर्दै छु र जसले गुटले चलायो भन्ने महसुस गर्दै हुनुहुन्छ अब यो पार्टी सबैको साझा बनाउन लाग्नुपर्छ भनेर योगदान गर्न तयार हुन तपाईंहरूमार्फत नै आह्वान गर्छु। अहिले यो विभाजित मनस्थितिमा मैले कार्यकर्तालाई कसरी सम्झाउने भन्ने ठूलो चुनौती पनि महसुस गरिरहेको छु।

युवा नेताले अवसर पाउनुपर्छ भनिरहेका छन्। अब युवा नेतालाई अघि बढाउन तपाईंको भूमिका के हुन्छ?

६० प्रतिशत जनता ४० वर्षभन्दा मुनि छन्। उनीहरूको प्रतिनिधित्व हामीले बढाउनुपर्नेछ। हाम्रो पार्टीमा पनि केही सशक्त युवा नेता छन्। तर, त्यतिले मात्र पुग्दैन। आउँदा दिनमा युवाको सहभागिता बढाउनका लागि उनीहरूलाई अधिकार पनि दिनुपर्छ। उनीहरूलाई मूलधारमा ल्याएर नेतृत्व गर्ने अवसर दिनुपर्छ। युवालाई उत्प्रेरणा दिन युवा नै चाहिन्छ। नेविसंघ, तरुणदललाई अवसर र उत्प्रेरणा आवश्यक छ। पार्टीले यसलाई गम्भीरता साथ हेरिरहेको छ र हेर्नेछ।

युवा पुस्ताले बूढा नेतालाई पार्टीको कार्यकारी पदमा बस्न हुँदैन भन्नेजस्ता माग पनि राखेका छन्। यी माग तत्काल पूरा हुने सम्भावना के छ?

अब हाम्रो विधानमा ठूलो परिवर्तन हुन्छ। विधान मस्यौदा समिति बन्दै छ। भदौसम्ममा हामी संघीयताअनुसार पार्टीको विधान छैन। यसलाई परिमार्जन गरेर हामी संविधानअनुसार विधान बनाउँछौँ। त्यो विधानमा परिवर्तन गर्दा हामीले युवाका लागि ठाउँ दिनैपर्छ। युवालाई आरक्षण गर्ने होइन पार्टीभित्र समावेश गर्नुपर्छ। दया माया मात्र होइन उनीहरूको क्षमताको कदर गरेर स्थान दिनुपर्छ भन्ने मेरो मान्यता छ।

युवाले उठाएको विशेष महाधिवेशनको मुद्दा अहिलेलाई टुंगिएकै हो त?

अहिलेका लागि यो मुद्दा टुंगिएकै भन्नुपर्छ। विशेष महाधिवेशन हुने सम्भावना म देख्दिनँ। तीन वर्षपछि महाधिवेशन हुन्छ। त्यहीअनुसार हामी अघि बढ्छौँ। यो तीन वर्षभित्र विधानमा परिवर्तन गरेर हामी कार्यान्वयन पक्षमा जान्छौँ। प्रान्तको संगठन बनाउनुपर्‍यो त्यसका लागि समय त लाग्छ नि।

प्रमुख प्रतिपक्षी दलका रूपमा संसदमा रहेको कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्न नसकेको गुनासो छ नि?

हामी केही चुकेकै हौँ। नीति तथा कार्यक्रम आयो हामी मौन बस्यौँ। प्रतिपक्षको कडा आलोचना आउनुपर्ने हो। त्यो गर्न सकेनौँ। त्यसमा हाम्रो त्रुटि देखिन्छ। हामीले बोल्दै नबोलेको भने होइन तर त्यसमा दम पुग्न सकेन। सुन्ने गरी बोलिएन। अन्य कतिपय विषयमा पनि हामी नबोलेजस्तो देखिएको छ।

सरकार बनेदेखि नै कांग्रेसले यो सरकार अधिनायकवादतर्फ जान्छ भन्दै आरोप लगाउँदै आएको छ। तपाईंको नजरमा पनि सरकारका गतिविधि यस्तै भएका हुन्?

नीति र कार्यक्रममा पनि केही त्रुटि देखिएको छ। हामी संघीयतामा गएका छौँ। तर, बजेट विनियोजन गर्दा स्थानीय तहलाई न्यून रूपले छोएको छ। अर्को कुरा अधिनायकवातर्फ उन्मुख हुन्छ कि भन्ने एउटा उदाहरण हो पछिल्लो समय प्रेसमाथि देखिएको हस्तक्षेप। प्रधानमन्त्री भएपछि केपी शर्मा ओलीले हरेक अधिकारलाई केन्द्रीकृत गर्दै गएको देखिन्छ।

कम्युनिस्टहरूको विचार पनि केन्द्रीकृत शासन नै हो। विकेन्द्रीकरण उनीहरूको सिद्धान्तमै छैन। अहिलेको सरकारले उद्धारवादी लोकतन्त्रलाई स्थापित गर्न खोजिरहेका छैनन्। अहिलेका काम कारबाही हेर्दा सरकार त्यसतर्फ पाइला चाल्दै देखिन्छ यसलाई राेक्न प्रतिपक्षसँगै प्रेस र नागरिक समाजको भूमिका पनि आवश्यक हुन्छ। बिग्रिएपछि होइन बिग्रिनुअघि नै सबैले सोच्नुपर्छ।

सरकार कसरी अघि बढोस् भन्ने कांग्रेसको अपेक्षा छ?

कतिपय कुरामा प्रधानमन्त्रीले गर्ने प्रयास गर्नुभएको राम्रै कुरा हो। तर, सपना बाँडेर मात्र हुँदैन। नेपालमा रेल ल्याउने भन्नुभएको छ। त्यो ल्याउन कति खर्च लाग्छ भन्नेतर्फ पनि सोचिएको छैन। त्यसले वातावरणमा कति असर पर्छ? त्यसले देश विकासमा कति सहयोग गर्छ त्यो पनि हेर्नुपर्‍यो। हाम्रो प्राथमिकता के हो भन्ने पनि विचार गर्नुपर्छ। कर्णालीमा औषधि नपाएर मान्छेको मृत्यु भइरहेको छ। जहाँ गाँस-वासको अभाव छ। त्यहाँ रेलको कुरा गरेर हुन्छ? ल्याउनु त राम्रो हो। तर, यथार्थवादी हुनुपर्‍यो त्यसले नेपालमा आएर के के परिवर्तन गर्छ? सुन्दा रमाइलो लाग्ने कुरा बढी भएका छन् त्यसको कार्यान्वयन र प्रभावबारे जनतालाई जानकारी दिनुपर्ने सरकार आफैँ अनभिज्ञ रहेको देखिन्छ।

संविधान संशोधनको विषय धेरै पहिलादेखि उठ्दै आएको छ। अहिले पनि यो मुद्दाले चर्चा पाएको छ। संघीय समाजवादी फोरम त संशोधनकै आडमा सरकारमा गएको छ। अहिलेको अवस्थामा संशोधन कत्तिको आवश्यक छ?

पहिला उनीहरूको मुद्दा के हो त्यो हेर्नुपर्छ। जस्तो नागरिकताको मुद्दा, यो जटिल छ त्यति सजिलो छैन। यो विषयमा विशेष आयोग बनाएर अघि बढ्नुपर्छ।विकासका कुराहरू छन्, आरक्षणका कुरा पनि छन्। यी कुरा ठीक पनि छन्। तर, नागरिकताको विषयचाहिँ धेरै गाह्रो छ। यसमा धेरै कडा हुन पनि जरुरी छैन र धेरै उदारवादी पनि हुन जरुरी छैन।

आगामी नेतृत्वकै लागि तपाईंको भूमिका स्पष्ट भएन, मध्यममार्गी खालको भयो, यसले पनि कांग्रेसलाई निर्णय गर्न अप्ठेरो परेको हो कि?

म पार्टीको महामन्त्री हो। महामन्त्रीले यो गुट वा त्यो गुटको भएर काम गर्न त भएन नि! सबै पक्षलाई मिलाउने भूमिका खेल्नुपर्‍यो। म आफैँ एउटा धारमा उभिएमा कसरी मेलमिलाप हुन्छ। कतिपय साथीहरूलाई लागेको हुन सक्छ यो सभापतिसँग मिलेर आगामी सभापति बन्दै छ। मलाई कसैले किस्तीमा हालेर सभापति दिने हो र! सभापतिजीले मलाई सभापति लिनुस् भनेर किस्तीमा राखेर दिनुहुन्छ र? त्यो त कार्यकर्ताले चाहनुपर्‍यो। मध्यममार्गी भूमिका खेल्दा यो वा त्यो पक्षभन्दा पार्टीलाई कसरी हित हुन्छ, त्यो हेर्ने हो। 

अन्तमा, अबको तीन वर्षपछि हामीले तपाईंलाई सभापतिको रूपमा अन्तर्वार्ता लिन पाउछौँ?

तीन वर्ष भनेको धेरै लामो समय हो। अब म देश दौडाहामा जानेछु। कार्यकर्ताको भावना बुझ्नेछु। त्यसअनुसार आउने महाधिवेशनको नेतृत्वबारे निर्णय लिन्छु। अहिले म यति मात्र भन्छु कि कार्यकर्तालाई निराश बनाउँदिनँ।  मैले मेडिकल क्षेत्र छाडेर त्यसै राजनीतिमा आएको पनि होइन। म पार्टीमा परिवर्तनको पक्षमा छु। देशमा परिवर्तनको पक्षमा छु। म आकांक्षी मात्र होइन कार्यकर्ताको भावना देशको आवश्यकता बुझेर पार्टी सरकार र प्रतिपक्ष अगाडि बढोस् भन्ने चाहना राख्ने र जिम्मेवारीबोध भएको मानिस हुँ। समय बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.