|

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायमा अध्ययनरत विद्यार्थीले रिले अनशन सुरु गरेका छन्। विद्यार्थीले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै क्याम्पसमा रिले अनशन सुरु गरेका हुन्।

विद्यार्थी निकुञ्ज पाण्डेले विश्वविद्यालय प्रशासनले माग पूरा नगरे थप आन्दोलनका कार्यक्रम गर्ने बताए। इन्जिनियरिङ संकायलाई विश्वविद्यालय प्रशासनले वास्ता नगरेको, दक्ष तथा अनुभवी शिक्षकको व्यवस्थापन गर्न नसकेको र पैसा मात्रै कमाउने काम गरेको विद्यार्थीको आरोप छ।

इन्जिनियरिङ संकायलाई स्वायत्त बनाइनुपर्ने, हाइड्रो इन्जिनियरिङको पूर्ण पाठ्यक्रम उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गरिनुपर्ने, सम्पूर्ण प्रयोगात्मक कक्षा पूर्णरूपमा सञ्चालन गर्नुपर्ने, १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, लाइव्रेरीमा पर्याप्त पुस्तक उपलब्ध गराउनुका साथै छुट्टै लाइब्रेरियनको व्यवस्था गर्नुपर्ने र सम्पूर्ण विषयको विषयगत शिक्षकको उचित व्यवस्थापन गर्नुपर्ने विद्यार्थीको माग रहेको छ।

उज्ज्वल भविष्य बोकेर विश्वविद्यालयमा इन्जिनियरिङ पढिरहेका विद्यार्थीले आवश्यक पाठ्यक्रम र पुस्तकको माग गदै विगत तीन वर्षदेखि आन्दोलन गर्दा पनि विश्वविद्यालयले विद्यार्थीका माग हालसम्म पूरा गर्न सकेको छैन। 

विद्यार्थीले इन्जिनियरिङ संकायलाई स्वायत्त बनाइनुर्ने लगायतका माग राखिरहेका बेला विश्वविद्यालय प्रशासनले असार ७ गतेदेखि पठनपाठन बन्द गराएको छ। आन्दोलित विद्यार्थीले सडक प्रदर्शनसमेत गर्ने गरेका छन् ।

संकायका डीन डा. गोविन्दप्रसाद लामिछानेले आर्थिक र प्रशासनिक अधिकार केन्द्रीकृत भएकाले विद्यार्थी आन्दोलित भएको बताए। डिन लामिछानेले चारजना शिक्षक मागेको ठाउँमा एकजना मात्रै उपलब्ध गराइएको भन्दै ‘विद्यार्थीले शिक्षक पाउने कि नपाउने' भन्ने विषय गम्भीर भएको बताए।  विद्यार्थीले स्तरीय शिक्षा पाउन नसकेको स्वीकार्दै उनले प्रशासनले संकायलाई बेवास्ता गरेको आरोप लगाए।

विश्वविद्यालयका रजिस्टार डा. महेन्द्रकुमार मल्लले शिक्षकका लागि विज्ञापन गरिएको तर स्नातकोत्तर गरेका शिक्षक काठमाडौंभन्दा बाहिर जान नमान्ने भएकाले आवश्यक मात्रामा पदपूर्ति गर्न नसकिएको भन्दै संकायमाथि कुनै पनि खालको भेदभाव नगरेको दावी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.