|

जनकपुरधाम : धनुषाको कमला नगरपालिकामा घरेलु मदिरा सेवन गर्दा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नं. ५ लक्कडका ४० वर्षीय रामनाथ पासवान, ५५ वर्षीय रामचन्द्र पासवान, ३६ वर्षीय मणि पासवान र वडा नं. ६ सिग्याही मडानका ४५ वर्षीया साबिर अन्सारी रहेको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक श्रेयस्कर राम थानदारले जानकारी दिए।

मदिरा सेवनबाट तीन जना गम्भीर बिरामी भएका छन्। गम्भीर बिरामी हुनेमा वडा नं. ५ का जामुन पासमान, गंगा पासमान र वडा नं. ६ का विनयकुमार ठाकुर रहेका छन्। भारत मोतीहारीका मनोज साहको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

मदिरा सेवन गरेपछि मंगलवार रातिदेखि नै सिकिस्त बनेका उनीहरूको बुधबार अपराह्न मृत्यु भएको हो। नगरपालिकाका प्रमुख रामउदगार गोइतले आफु नगरभन्दा बाहिर रहेकाले सत्यतथ्य बुझ्ने प्रयास बारम्बार गरिरहँदा पनि वडाध्यक्षसँग सम्पर्क नभएको बताए। 

प्रहरीले घटना स्थलमा बरामद भएका सामग्रीहरूलाई प्रविधि तथा विज्ञान प्रयोगशालामा पठाएको छ। प्रयोगशाला र पोष्टमार्टमबाट आउने रिपोर्टको आधारमा मात्र उनीहरुको मृत्युबारे यकिन हुने प्रहरी निरीक्षक थानदारले बताए। तर, स्थानीयहरूले घरेलु मदिरा सेवन गरेकै कारण उनीहरुको मृत्यु भएको दावी गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले घटनाको अनुसन्धान भैरहेको र थप कुरा अनुसन्धानपछि मात्र खुल्ने बताए। केही वर्षअघि जनकपुर नगर क्षेत्रमै घरेलु रक्सी सेवन गरेकै कारण आधा दर्जनभन्दा बढी मानिसको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.