पाँचथर : झ्याप्प साँझ परेको के थियो, तमोर भ्याली होटलको सभाहल खचाखच भरियो। हलमा नअँट्ने गरी साहित्यकार र लेखकहरुको बाक्लो उपस्थितिपछि कवि सन्देश सुब्बाले कवि भूपि शेरचनको कवितांश वाचन गरे।
मौलिक शैलीमा कवितांश वाचेका उनी आफूतिर सहभागीहरुको ध्यान खिच्न सफल पनि भए। प्रसङ्ग, सदरमुकाम फिदिममा बुधबार साँझ याक्थुङ मुन चइत् चोक सयङले आयोजना गरेको नाम्धिङ्गो साँझ–३ को हो। अघिल्ला साँझहरुभन्दा अलिक भिन्न लाग्ने साँझमा कविताको गुञ्जन अग्रज कवि प्रेम ओझाबाट भयो। हाउभाउको प्रष्टोक्तिसहित कविता बाच्न खप्पिस उनको लिम्वू लोक मिथक प्रयुक्त गद्य कविता ‘झम्के बुलाकी’ले तालिको पर्रा पायो। प्रेमरस सहितको उक्त कवितापछि कवि सरस्वती दुमी राईले कन्यादान दिने प्रचलनलाई कच्याक् कुच्युक पार्न बल पुर्याउने खालको विध्वाशात्मक कविता ‘आफ्नो भन्न पाइन’ वाचिन्।
संयुक्त कविता वाचन भएकोले अन्तिममा पालो आयो, अर्का कवि सिरेन वान्तावाको। उनले पहिचानमा आधारित तर स्वच्छन्दवादी धारमा लिखित ‘मेरो देश’ बाचे। लघु कविता भएपनि भाव गाम्भिर्यता शक्तिशाली थियो। पालैपालो त्रिकविले चार चार थान तिख्खर कविता बाचेर फिदिमलाई फेरि कविताको सहर भन्न बाध्य बनाए। संकटोन्मुख जस्तो लाग्ने कवि कुनाले फेरी विस्तारै कविता पाउने आशा पनि जगायो, नाम्धिङ्गो साँझले। अनि अधिक तन्नेरी स्रष्टाहरु गजलमा रमिरहँदा कविता लेखनमा साँझले गज्जवको उत्साह भरिदियो। समसाँझमा कवित्रयको धुवाँदार प्रस्तुतीले त्यसैको संकेत दियो। कविताको भाव साँच्चिकै बढो शक्तिशाली हुने युवा समालोचक राज दिलाञ्जलीले मत जाहेर गरे। अनि दोश्रो पुस्तादेखि तेश्रो पुस्ताका पाँचथरे कविहरुमा शक्तिशाली कविता लेख्ने दम पाएको पनि भने। हुनतः कविता साहित्यमा थुप्रै नविनतम चिन्तनको विकास थलो पाँचथरै हो। आयामेली आन्दोलन, उत्तरवत्ती सोच, सिर्जनशिल अराजकता, रंगवादी साहित्यिक आन्दोलन, प्रमाण साहित्य, लीला लेखन, चाउचाल कविता लेखनलगायतका अनेकन आन्दोलन यहीँका साहित्यकारले थालनी गरे।
हाल चर्चामा रहेको कुकुर कविता लेखनको सुरुवाती विन्दु पनि पाँचथरै हो। यससँगै साहित्यमा केही प्रवृत्तिको पनि थालनी पाँचथरे साहित्यकारबाटै भएको छ। यद्यपि, केही आन्दोलनले भने प्राणोत्सर्ग गरे। केहीको अझसम्म छ। नाम्धिङ्गो साँझमा कविता श्रवण गर्न यीमध्ये केही आन्दोलनका अगुवाहरुको पनि जमघट थियो। साँझको प्रमुख अतिथ्यता ग्रहण गरेका प्रगतिशिल लेखक तथा पूर्व राज्यमन्त्री श्रीप्रसाद जवेगूले कवितामा उनिएका शव्दसँग सामाजिक विकृति, विसङ्गती, राष्ट्रप्रेम, घृणा, पीडा मात्रै नभई कुनै सरकार जनविरोधी भए पुर्लुक्कै ढाल्ने तागत हुनु पर्नेमा जोड दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।