|

कञ्चनपुर : कञ्चनपुरको दुर्गममा रहेको लालझाडी गाउँपालिका कार्यालयले व्यवसायिक खेती गर्नका लागि आधुनिक कृषि उपकरण र अनुदान उपलव्ध गराएपछि किसान उत्साही बनेका छन्। नगदेबालीका रुपमा रहेको उखु, बगर खेती र व्यवसायिक तरकारी खेतीतर्फ यहाँका किसान उत्साह देखिएका हुन्।

पाँच दर्जन बढी किसानले व्यवसायिक खेतीलाई अगाडि बढाएका छन्। गाउँपालिका ३ का किसान रामप्रसाद चौधरीले अनुदान रकम पाएपछि दोदा नदीको डेढ विघा बगरमा लौका, फर्सी, काँक्रा, तरबुजा लगातका तरकारी रोपेर तीन महिनाको अबधिमै दुई लाख ५० हजार रुपैयाँ आम्दानी गरेका छन्।  चौधरीले खेतीका लागि रकम अभाव  भएकाले मजदुरी गरेर परिवार पाल्दै आएको थिए। चौधरीले भने, ‘कृषि शाखाबाट बीउ, मल र बिषादीका लागि अनुदान रकम पाएपछि बगरखेती गरेर परिवारको खर्च चलाइरहेकाे छु। बाँकी रहेको रकम भविष्यका लागि बचत गरेको छु।’

कृषि शाखाले बगरमा व्यवसायिक तरकारी खेती गर्ने २० जना किसानलाई तालिमसँगै एक लाख रुपैयाँ रकम अनुदनस्वरुप उपलव्ध गराएको छ। युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ४० हजार अनुदान रकम पाएका गाउँपालिका ६ का किसान गौरीदेवी चौधरीले पाँच कठ्ठा जग्गामा तरकारी खेती गरी एकलाख ६० हजार रुपैयाँ आम्दानी हात पारेकी छन्।

घर खर्च, बालबालिकाको विद्यालय खर्च तरकारी बेचेर आएको आम्दानीले धानिदै आएको उनले बताइन्। ‘अनुदान रकम पाएपछि बीउ, मलखाद, सि‌ंचाइका लागि बोरिङको व्यवस्था भएकाले बाह्रै महिना तरकारी फलाउन संभव भएको छ’ उनले भनिन्। 'म खेतमा तरकारी फलाएर परिवारको खर्च चलाउने रकम जुटाउछु उनले भनिन्, ‘श्रीमानले डकर्मीको कार्य गरेर ल्याएको पैशा बचत गर्दै आएका छौं।’

गाउँपालिकाको कृषि शाखाका प्रमुख एकराज वलीका अनुसार किसानलाई तालिम, बीउविजन, बिषादी, सिंचाइका लागि विद्युतीय मोटर, डिजेल इन्जन र कृषि उपकरण प्रदान गर्नका लागि रु ५० लाख ७१ हजार रुपैयाँ रकम परिचालन गरिएको छ। प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना अन्तर्गत गठन भएका छ वटा पकेटमा आवद्ध किसानलाई  २४ लाख रकम बरावरका पावर टिलर, रिपर, सिंचाइका लागि बोरिङको व्यवस्था गरिएको छ।

युवा स्वरोजगार कार्यक्र अन्तर्गत व्यवसायिक तरकारी खेती गर्ने ११ जना युवालाई प्लाष्टिक टनेल निर्माण गर्न बीउ विजन, मलखाद र बिषादी खरिद गर्नका लागि  चार लाख ८८ हजार, साना सिंचाइ कार्यक्रमअन्तर्गत सिंचाइको अभाव रहेका क्षेत्रका १० जना किसानलाई  छ लाख ५० हजार, जैविकमल र बिषादीको उत्पादमा जोड दिनका लागि भकारो सुधार कार्यक्रमअन्तर्गत १८ जना किसानलाई  ९८ हजार रुपैयाँ अनुदान रकम प्रदान गरिएको छ।

गहुँ उत्पादनका लागि एक लाख ५५ हजार, तरकारी खेती विस्तारका लागि एक लाख दुईहजार,आलु खेती विस्तारका लागि  एक लाख ८८ हजार, दालबाली उत्पादनका लागि ८८ हजार, गरिवी न्यूनीकरण गर्न तरकारी खेतीका लागि ६० हजार, च्याउ खेती विस्तारमा १७ हजार रकम अनुदान स्वरुप किसानलाई उपलव्ध गराइएको शाखा प्रमुख वलीले बताए।

आकस्मिक वाली संरक्षण कार्यक्रमअन्तर्गत ४५ हजार, गहुँको स्राेत बीउ ढुवानी २४ हजार, तलहन बाली उत्पादन र बृहत उन्नत धानको बीउ वितरणका लागि  दुई लाख ८० हजार रुपैयाँ बरावरको अनुदान यहाँका किसानले पाएका छन्। धानखेती, माछापालन, धानको बीउ उत्पादन, केरा खेतीसम्बन्धी ३६ वटा तालिम किसानलाई दिइएको छ। जसका लागि  एकलाख ८० हजार रकम खर्चिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.