|

वीरगन्ज : राष्ट्रिय गौरवका आयोजनामा राज्यपक्षको ढिलासुस्तीले पनि विलम्ब हुने गरेको पाइएको छ। भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्ज तेल भण्डारण केन्द्रसम्म जमिनमुनिबाट पेट्रोलियम पदार्थ ल्याउन भनी पाइप बिच्छ्याउने काम नेपालतर्फ राज्य पक्षकै ढिलासुस्तीले कछुवा गतिमा भइरहेको पाइएको हो।

१५ महिनामा सक्ने लक्ष्यसहित आठ महिना अगाडिबाट काम सुरु भए पनि अझैसम्म आधा पनि पाइप बिच्छ्याइ सकिएको छैन। दुवै देशमा गरी कुल ६८.९ किलोमिटरमा जमिनमुनि पाइप बिच्छ्याइ सक्नुपर्ने योजनामा उल्लेख छ।

तर, नेपालतर्फ भने बल्ल १३ किलोमिटरमा मात्र पाइप बिच्छ्याइएको मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्ट कार्यालय सिमराले जनाएको छ। नेपालतर्फ विलम्ब हुनुमा वन तथा वातारवरण मन्त्रालयले पर्सा वन्यजन्तु राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने पाइप लाइनको ८.७ किलोमिटर जति बाटोको विषयमा चाँडो निर्णय नगरिदिँदा विलम्ब भएको प्रोजेक्ट कार्यालयले जनाएको हो।

तेल भण्डारणका लागि अमलेखगञ्जसम्म नै पाइप बिच्छ्याउनुपर्ने हुँदा निकुन्जभित्र पाइप लाइनको बाटोमा पर्ने रूख काट्नुपर्ने विषयमा वन तथा वातावरण मन्त्रालयले टुंगो नगरिदिँदा विलम्ब भएको नेपालतर्फको प्रोजेक्ट कार्यालय सिमराका मेकानिकल इन्जिनियर (एक्सपर्ट) शरद प्रसाद पौडेलले बताए। दुवै देशमा गरी कुल ३५ किलो मिटरमा पाइप बिच्छ्याउने काम भए पनि नेपालतर्फ १३ किलोमिटरमा मात्र काम सम्पन्न भएको उनको भनाइ छ।

भारततर्फ भने सोही काम २२ किलोमिटरमा पाइप बिच्छ्याउने काम सम्पन्न भइसके छ। दुवैतर्फको मिलाएर मात्र आधा काम भएको उनले तर्क गरे। निकुञ्जले भने आफ्नो क्षेत्रको बाटो प्रयोग गरेबापत प्रतिलिटर एक रुपैयाँ दिनुपर्ने भनी पछिल्लो समयमा बार्गेनिङ थालेको नेपाल आयाल निगन क्षेत्रीय कार्यालयले जनाएको छ। 

नेपालतर्फ पर्सा राष्ट्रिय निकुञ्जको ८.७ किलोमिटर क्षेत्रको अल्झनलाई चाँडो वन तथा वातावरण मन्त्रालय तथा नेपाल सरकारले चाँडो निर्णय गरिदिए समयमा नै काम सम्पन्न गर्न सहजता हुने प्रोजेक्ट कार्यालयको भनाइ छ। पाइप लाइनको बाटोको दूरी नेपालतर्फ ३६.२ किलोमिटर र भारततर्फ ३२.७ किलोमिटर रहेको छ। नेपालतर्फको सो दूरीमा जम्मा ३५.९१ प्रतिशत मात्र पाइप बिच्छ्याइ सकिएको प्रोजेक्ट कार्यालयको भनाइ छ।

दुईदेशबीच भएको सम्झौताअुनसार सातवटा सर्वे पूरा भई काम सुरु भएको भए पनि आफ्नै देशतर्फ विलम्ब हुँदा अबको वर्षातका समयमा झन कामै रोकिन सक्ने हुन्छ। अवरोध नभएका ठाउँहरू बाराको सिमरादेखि पथलैयाबीचमा पर्ने बाटो पश्चिमतर्फ जीतपुर दक्षिण र उत्तर तर्फ वीरगन्ज भन्‍सारबाट उत्तर बाइपास सडकखण्डमा पाइप बिच्छ्याउने काम भइसकेको छ।

निजी व्यक्तिका जमिनमा पाइप बिच्छ्याउँदा मुअब्जालगायतको विवाद हुने र फेरि यो योजना समयमा सफल पार्न गाह्रो हुने आँकलन गरी सरकारी जमिन अथवा रोडबाट ल्याउने निष्कर्षमा पुगी सोही अनुसार काम भए पनि फेरि राष्ट्रिय निकुञ्ज क्षेत्रको जंगलको एरियाको झमेलाले विलम्ब हुने प्रविधिकहरूको आशंका छ।  

इण्डियन आयल कर्पोरेशनको पूर्ण सहयोगमा मोतिहारीबाट रक्सौल र रक्सौलबाट वीरगन्ज भंसार नाका हुँदै बाराको अमलेखगञ्जसम्म पाइप बिच्छ्याउने काम विलम्ब हुँदा सधैंको घामपानीले वीरगन्जको चिनीमिल क्षेत्रमा राखिएका पाइपमा अहिले नै खिया आउन थालेको छ।  इण्डियन आयल निगमले मोतिहारीबाट भारतकै अर्को ठाउँका लागि माष्टर प्लान बनाउँदा नेपालले पनि अनुरोध गरे अनुसार नेपालतर्फ पनि पाइपबाट तेल दिन सहमत भई पहिलो फेजमा डिजेल ल्याउने तयारी गरी ५ एल/६० अपी ग्रेडको फलामे पाइपहरू जमिनमुनि गाड्ने क्रम चलिरहेको हो।

आठ फिट तीन इन्च गहिराइमा जमिनमुनि गाडिने पाइपको मार्गमा कति ठाउँमा त नदीहरू पनि पर्ने र कतै टर्निङ प्वाइन्ट हुने भएकोले सो ठाउँमा पाइप गाड्न वर्षाले गाह्रो पार्ने हुँदा त्यस्ता ठाउँमा भने सुख्खा मौसममा नदीमुनि ड्रिल गरी काम गर्नुपर्ने नेपालतर्फका एक्सपर्ट पौडेलले बताए।

'आगामी हिउँदमा काम सम्पन्न गर्ने लक्ष्य छ। यसको लागि पेट्रोलियम पदार्थ भण्डारणका लागि अमलेखगञ्जमा रहेका तीन हजार ९०० किलो लिटरका तीनवटा र चार हजार १०० किलोलिटर क्षमताका दुर्इवटा ट्याँकी मर्मत गरिने छ। अहिले दुर्इवटा ट्याँकीको रेडियोग्राफ, बटम टेष्ट, प्लेट टेष्टजस्ता कामहरू पनि भइरहेको छ', एक्सपर्ट पौडेलले बताए।

सुरुङमार्गको कुरा चलिरहेको नेपालमा पेट्रालियम पदार्थ जमिन मुनिबाट पाइपमा ल्याउने कुरा पनि यो पहिलो सुरुङमार्गकै काम हुने प्रोजेक्ट कार्यालय सिमराले तर्क गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.