|

छब्बीस वर्षको सक्रिय राजनीति गरेका साविकको ग्वानी गाविस– ५, दार्चुलाका अमरसिंह धामीले गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा शैल्यशिखर नगरपालिकाको प्रमुखमा विजय प्राप्त गरे। प्रतिस्पर्धी तत्कालीन नेकपा एमालेका गंगादत्त जोशीलाई ५३७ मत अन्तरले पराजित गर्दै नेपाली नेपाली कांग्रेस जिल्ला कार्यसमितिका उपसभापति धामी जिल्लाको ठूलो नगरपालिका शैल्यशिखर नगरपालिकाको प्रमुखमा तीन हजार ९३७ मत ल्याएर निर्वाचित भए। 

जनसंख्याका हिसाबले जिल्लाकै ठूलो शैल्यशिखर नगरपालिकामा २२ हजार ६० जनसंख्या रहेको छ भने १२ हजार ९१ मतदाता रहेका छन्। साविकको शिखर, देथला, रानीशिखर, ग्वानी, बोहरीगाउँ र गोकुलेश्वर गाविसको कुल ११७.८१ वर्ग किलोमिटरमा यो नगरपालिका फैलिएको छ। यसको पूर्वमा चमेलिया नदी र पश्चिममा महाकाली नगपालिकाको केही भाग र मालिकार्जुन गाउँपालिका पर्दछन्। उत्तरतिर नौगाढ र मार्मा गाउँपालिका जोडिएको यस नगरपालिकाको दक्षिणमा लेकम गाउँ गाउँपालिकासँग सीमा जोडिएको छ।

२०२८ जेठ १३ गते जन्मिएका धामी दुई भाइ र दुई बहिनीका जेठा दाजु हुन्। बहुदलीय व्यवस्थाका लागि संघर्ष भइराखेका बेला नेपाल विद्यार्थी संघको सदस्य हुँदै राजनीतिक यात्रा सुरु गरेका धामीले २०४८ मा नेपाली कांग्रेसको सक्रिय सदस्यता लिए र सोही वर्ष नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि (सदस्य)का रूपमा नेपाली कांग्रेसको नेतृत्व चयनमा समेत सहभागी भए।

निरन्तर नेपाली कांग्रेसको स्थानीय राजनीतिमा जिम्मेवारी सम्हालेका धामी २०५४ को जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमिति सदस्य र पार्टीको महाधिवेशन प्रतिनिधि भए। सोही वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा ग्वानी गाविसको अध्यक्ष पदमा निर्वाचन लडेका धामी एमालेका उम्मेदवारसँग पराजित भए। द्वन्द्वकालीन समयमा समेत निरन्तर कांग्रेसको राजनीति गरेका धामी २०७१ सालको जिल्ला अधिवेशनमार्फत् जिल्ला कार्यसमितिको उपभासभापति र महाधिवेशन प्रतिनिधि समेत भए।

‘घ’ श्रेणीका निर्माण व्यावसायीसमेत रहेका धामी विकास निर्माणमा भइरहेको ढिलाइका लागि निर्माण व्यावसायीलाई मात्रै दोष लगाउन नसकिने बताउँछन्। उनै नगर प्रमुख अमरसिंह धामीसँग थाहाखबरकर्मी पदम बडालले गरेको कुराकानी प्रस्तुत छ।

विकास निर्माणको ढिलाइमा निर्माण व्यावसायीले ढिलासुस्ती गर्ने गरेको आरोप लाग्छ, तपाईं पनि निर्माण व्यावसायी, तपाईंलाई पनि यस्तो आरोप लागेको छ। निर्माण व्यावसायी काममा किन ढिलो गर्छन्?

पहिलो कुरा त विकास निर्माणमा निर्माण व्यावसायीको मात्रै दोष देख्ने कुरा नै गलत भयो। विकास निर्माणलाई सम्पन्न गर्ने सवालमा धेरै पक्षको भूमिका हुन्छ। केही निर्माण व्यावसायीहरूले व्यक्तिगत कारणले काम समयमै सम्पन्न नगर्न सक्लान् तर नब्बे प्रतिशतभन्दा बढी निर्माण व्यावसायीहरू समयमै काम गर्न चाहन्छन्। तपाईंले उठाएको कुरा ‘विकास निर्माण ढिलो हुन्छ’ भन्नेसम्म ठीक छ तर त्यो ढिलाइ निर्माण व्यावसायीका कारणले मात्रै हुँदैन। हाम्रो सरकारी कामकाजको कागजी प्रक्रिया, कर्मचारीहरूको रवैया, सामग्रीको उपलब्धता र काम गर्ने स्थानका नागरिकहरूको प्रवृत्तिका कारण विकास निर्माणमा ढिलाइ हुन्छ।

एक जना मित्रले तत्कालीन रानीशिखर गाविसको गाविस भवन निर्माण सम्पन्न गरेको करिब तीन वर्ष पूरा भयो। त्यसको भुक्तानी हुन सकेको छैन, कागजमा त्यो काम अपूरो देखिएको छ। अध्यक्षमा निर्वाचित हुनुपूर्व तत्कालीन भगवती गाविसमा विद्युत विस्तार गर्ने काम मैले पाएको थिएँ। कहिले दुई पोल, कहिले पाँच पोल, कहिले तार उपलब्ध नहुने, ट्रान्सफर्मर उपलब्ध नहुँदा त्यो काम अहिलेसम्म पूरा गर्न सकेको छैन। मेरो त्यो काम पूरा गर्ने दृढ इच्छा तर सामान समयमा उपलब्ध हुन सकेको छैन। त्यसमाथि स्थानीयले मेरो जग्गा, हाम्रो वनमा काम गर्न दिन्नौँ भन्ने जस्ता कारणले पनि काम गर्न समयमै सकिएको छैन। काममा ढिलाइ भएको कुरामा मेरो पनि सहमति छ तर दोष सबै निर्माण व्यावसायीको मात्र होइन।

वातावरणीय विस्तृत अध्ययन नगरी दर्जन सडकहरू सुरु गर्नुभएको छ। यसका परिणामहरू गम्भीर हुन सक्छन्। नगरपालिका गम्भीर किन नभएको यसमा?

जनप्रतिनिधिको जिम्मेवारी बडो जटिल छ। नागरिकले तत्काल परिणाम खोज्छन्। काम सुरु गरिहाल्नुपर्छ। त्यसमाथि निर्वाचित भएपछिको धेरै सयम संसदीय निर्वाचनमा गयो, भेला, बैठक, तालिम, गोष्ठी आदिका बीचबाटै नगरपरिषद् सम्पन्न गर्नुपर्ने चटारो एकातिर छ भने अर्कोतिर यस्ता अध्ययन गर्न आवश्यक पर्ने दक्ष जनशक्तिको अभाव र आवश्यक वजेटसमेत नहुँदा वातावरणीय अध्ययन हुन नसकेको हो।

विकास निर्माणका कार्यले विनाससमेत निम्त्याउने कुरामा हामी सजग छौँ। यसबारेमा कर्मचारी र जनप्रतिनिधिहरूका बीचमा छलफल गरेका छौँ। हामीले अघि सारेका विकास निर्माणका कामले कति क्षति पुर्‍याउन सक्छ भन्ने पूर्व आँकलन गर्न सुरु गरेका छौँ। ग्वानी–आगर सडकले खानेपानीको लाइन, सिँचाइ र खानेपानीको मूलमा क्षति पुर्‍याएको छ। अब सडक वा अन्य भौतिक निर्माण गर्ने उपभोक्ता समितिलाई यस्ता क्षतिको मर्मत गर्न लगाउने वा के गर्ने भन्ने सन्दर्भमा छलफल हुँदै छ। जहाँसम्म ठूला योजनाको जस्तो पर्याप्त वातावरणीय, पर्यावरणीय, आर्थिक, सामाजिक पक्षको अध्ययन गर्ने कुरा छ, ससाना योजनाका लागि सम्भव नहुन सक्छ तर पनि सम्भावित क्षतिलाई न्यूनीकरण गर्नेतिर हामी गम्भीर भएर लाग्छौँ।

दर्जन सडकहरूको योजना बनाउनुभएको छ, कतिपय सुरु भएका छन्। सडक सुरु मात्रै गर्ने हो वा पूरा पनि गर्ने?

नगरपालिकाको रिङ रोडसहित एक दर्जन सडकहरूको निर्माण कार्य सुरु गरेका छौँ। विकास निर्माण सुरु हुने तर पूरा नहुने भन्ने तपाईंको चिन्ता स्वाभाविक हो। हामी पनि यसमा सचेत छौँ। बन्तोली–पनेवाज करिब अढाई किलोमिटर सडक ३० लाख रुपैयाँमा निर्माण सम्पन्न भएको छ। त्यसैगरी पारीगाउँ–नकडक १२ सय मिटर सडक र आगर–बगर सडकको निर्माण कार्य पूरा भएको छ। कुणी–रानीशिखर, देथला–बलाच र थला–चौकी सडक निर्माण सम्पन्न हुने अवस्थामा छन्। अन्य सडकहरूको सर्भे भइसकेको छ। वडा नम्बर– ६ को लेक–ग्वानी–खोल्सी सडकको निर्माणका क्रममा स्थानीयले आफ्नो जग्गा भएर सडक निर्माण गर्न नदिने भनेपछि अवरुद्ध भएको छ। त्यसबाहेक अन्य सडकहरू निर्माण हुनेमा ढुक्क छौँ।

चुनावमा गरिएका अन्य केके प्रतिबद्धता पूरा गर्दै हुनुहुन्छ?

जिल्लाको प्रदेशद्वार मात्रै नभएर अपी हिमालको द्वारका रूपमा यस नगरपालिकालाई विकसित गर्ने योजना छ। त्यसैगरी विमानस्थल संचालनका लागि नगरपालिका मात्रै नभएर जिल्लाका अन्य स्थानीय सरकारहरूसँग मिलेर समेत बजेट विनियोजन गर्ने तयारी छ तर यसका लागि नेपाल सरकारले केन्द्रीय नीतिअनुसार विमानस्थल संचालन गर्ने तयारी गर्नुपर्छ।

खासगरी चुनावताका गरिएका भौतिक निर्माणका प्रतिबद्धताहरू सुरु गर्ने कार्य भएको छ। अर्को वर्षसम्म भौतिक निर्माणका प्रतिबद्धताहरू धेरै पूरा भएको स्थानीयले देख्नेछन्। पहाडको उच्च ठाउँमा खानेपानीको अहिले पनि निकै समस्या छ। ती बस्तीहरूमा लिफ्टिङमार्फत् खानेपानी पुर्‍याउने योजना छ। यसका लागि चारवटा योजना अगाडि सारेका छौँ। मौरभिटा, दोबाट, देथलामा खानेपानीका योजना सुरु भएका छन्। यस आर्थिक वर्षको मात्रै कुरा गर्ने हो भने हामीले अहिलेसम्म ९० प्रतिशत भौतिक प्रगति गरेको र ७५ प्रतिशत भुक्तानीसमेत गरेका छौँ। थोरै कर्मचारीको अभाव खड्किएको छ। नौवटा वडामा चार जना सचिव छन्। बाँकीमा कार्यालय सहायकमार्फत् काम चलाइरहेका छौँ। सबै ठाउँमा प्राविधिक कर्मचारीहरूलाई एउटै समयमा पुग्न नसकिने भएकाले भुक्तानीमा केही ढिलाइ भएको छ।

नेपाल सरकारले नमुना पठाएका सबै ऐन, कानुन, नियमावली, कार्यविधि, निर्देशिका बनाएका छौँ। संघ र प्रदेशको प्रावधान तथा नगरपालिकाको वस्तुगत अवस्था अध्ययनपछि निर्माण गर्ने भनेर शिक्षा कार्यविधिलाई अन्तिम रूप दिएका छैनौँ। खानेपानीका मुहानहरू सुक्दै जाने समस्या बस्तीहरूले भोगेका छन्। खानेपानी र सिँचाइको वृहत् अध्ययनका लागि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनालाई अध्ययनका लागि प्रस्ताव गरेका छौँ। कतिपय बस्ती नजिक खानेपानीको मुहान छैन। निकै टाढा डाँडैडाँडा भएर ल्याउनुपर्ने खर्चालु र जोखिमपूर्ण योजना निर्माण गर्नुपर्ने भएकाले वृहत अध्ययन थालेका हौँ।

नगरपालिकामै उत्पादन गरिएको चमेलिया जलविद्युत योजनाले देश उज्यालो पारेको छ। तर तपाईंले नगरपालिका उज्यालो पार्न सक्नुभएको छैन, किन?

यो हाम्रा लागि विडम्बना नै हो। विद्युत उत्पादन क्षेत्रलाई विद्युतीकरण पहिले गर्ने भनेर विद्युत प्राधिकरण, नेपाल सरकारले पाटक पटक लिखित नै गरेको छ तर चौलानी नदी किनारका बस्तीबाहेक अन्य क्षेत्रमा विद्युतीकरण हुन सकेको छैन। चमेलियाले उत्पादन सुरु गर्ने भएपछि गोकुलेश्वरमा रहेको साना जलविद्युत योजना विगत तीन वर्षदेखि बन्द छ। नगरपालिकाको विद्युतीकरण बोहरीगाउँका साना जलविद्युतहरूले धानेको छ। सबै बस्तीमा विद्युतीकण गर्ने योजनामा दुई वर्ष अझै लाग्छ जस्तो छ, त्यो पनि केन्द्र र प्रदेश सरकारले तदारुकता देखायो भने। पुराना टेण्डरमार्फत् गर्नुपर्ने लाइन विस्तारको काम यही महिना (असार)भित्र सकिने छन्। देथला, गोकुलेश्वर, शिखर, बोहरीगाउँमा लाइन विस्तार यो महिनाभित्रै गरिनेछ।

चमेलियाको विजुली अर्थात् राष्ट्रिय प्रसारण लाइन विस्तार सबैभन्दा पहिले शैल्यशिखर नगरपालिकामा गरिनुपर्छ भन्ने हाम्रो प्रष्ट भनाइ छ। केही बस्तीका लागि पोल र तारहरूसमेत आएका छन्। स्थानीयले खेतमा पोल राख्न आनाकानी गरेपछि लाइन विस्तारका क्षेत्रमा थोरै समस्या पनि देखिएको छ।

समस्याहरू केलाउँदा नीतिगत र व्यावहारिक समस्या के झेल्नुभयो?

नीतिको कुरा गर्ने हो भने के प्रावधान राख्दा उपयुक्त हुन्छ? भन्ने विषयमा धेरै छलफल, वादविवाद भए। एउटै बैठकबाट नटुंगिने समस्या पनि आए। नीतिको कारणले समस्याभन्दा पनि कस्तो प्रावधान राख्ने विषयमा बढी केन्द्रित भयौँ। रातीरातीसम्म बस्दा पनि निर्णयमा पुग्न नसकिने अवस्था नीतिगत र व्यावहारिक समस्या हल गर्दा, खासगरी योजना छनोट र विनियोजन गर्दा आयो।

योजना कार्यान्वयन गर्दा आएका समस्याहरू पहिले पनि भनेँ। आफ्नो जग्गामा सडक बनाउन दिन्नौँ, काम गर्न दिन्नौँ, सामुदायिक वन भएर काम गर्न दिन्नौँ भन्ने र उपभोक्ता समितिमा आफू बस्न चाहेका कारण थप समस्याहरू आए। बोलाएको बेला भेलामा उपस्थित नहुने र एकलौटी उपभोक्ता समिति गठन गर्‍यो भन्ने आरोपहरू पनि आए। केही ठाउँमा पुनः भेला बोलाएर उपभोक्ता समिति गठन गर्नुपर्‍यो।

नगरलाई समृद्ध बनाउने अन्य योजनाहरू केके छन्?

शैल्यशिखर नगरपालिका दार्चुला जिल्लाको प्रवेशद्वार हो। देशका अन्य भागलाई जोड्ने नगरपालिका यहीँ भएरै जानुपर्छ। त्यति मात्रै नभएर अपी हिमालको बेस क्याम्पससम्म पुग्ने छोटो रुट पनि यही पर्छ। वर्षौंदेखि बन्द रहेको दार्चुलाको एक मात्र विमानस्थल यहीँ छ। अपी हिमालसम्मको पदयात्रा र आरोहणलाई सरकारले प्राथमिकता दिने हो भने एक रात शैल्यशिखरमा हामी यात्रुको स्वागत गर्न पाउँछौँ।

जिल्लाको प्रदेशद्वार मात्रै नभएर अपी हिमालको द्वारका रूपमा यस नगरपालिकालाई विकसित गर्ने योजना छ। त्यसैगरी विमानस्थल संचालनका लागि नगरपालिका मात्रै नभएर जिल्लाका अन्य स्थानीय सरकारहरूसँग मिलेर समेत बजेट विनियोजन गर्ने तयारी छ तर यसका लागि नेपाल सरकारले केन्द्रीय नीतिअनुसार विमानस्थल सञ्चालन गर्ने तयारी गर्नुपर्छ।

चमेलिया नदी किनारमा नगरपालिकाको समरमुकाम छ, जुन जोखिमयुक्त छ। नदी किनारका अन्य बस्तीसँगै सदरमुकाम गोकुलेश्वरको नदी किनार क्षेत्रमा तटबन्ध राख्ने वृहत् योजनाको छलफलमा छौँ। साविकका प्रत्येक गाविससम्म सडक, प्रत्येक बस्तीमा विद्युतीकरण, खानेपानी हाम्रो कार्यकालकै लक्ष्य हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.