|

त्रिपुराकोट (डोल्पा) : हिमाली जिल्ला डोल्पाको एक गाउँ खानेपानीको समस्याले काकाकुल बनेको छ। धाराको दायाँबायाँ दर्जनौँ खाली भाँडाहरू राखेर पानी पालो पर्खदै गरेका दर्जनौँ सर्वसाधारणहरू मध्ये रातिसम्म धारामै देखिन्छन्।

त्रिपुरा सुन्दरी नगरपालिका ९ मा पर्ने चुँ गाउँमा खानेपानीको समस्याले बिकरालरुप लिएको हो। क्षेत्री,दलित समुदायको २०० हाराहारीमा घरधुरी रहेको चुँ बस्तीको लागि एउटा मात्रै धारो छ। मान्छेको चाप धेरै भएको बस्तीमा एउटामात्रै खानेपानीको धारो भएकाले खानेपानीको समस्या दिनप्रतिदिन बिकराल बन्दै गएको स्थानीयले बताए।

'पुस्तौँदेखि यही एउटा धारो हो।देशमा व्यवस्था फेरियो तर चुँबासीको नियति फेरिएन्। खानेपानीको समस्याको पिरलो अहिलेसम्म छुटेको छैन्,' स्थानीय योगेन्द्र बहादुर कार्कीले भने, ' एकगाग्री पानी ल्याउन परिवारको एकजना खट्नुपर्दछ। नत्र मुखमा पानीको थोपा पर्दैन। एकजनाले पानी ल्याउनेबाहेक अरु केही काम हुँदैन। जलस्रोत धनी जिल्ला भए पनि मरुभूमिको जस्तो अवस्था छ।'

चुँबासीलाई खानेपानीको समस्याले सताइरहेको छ। धारामा मान्छेको चाप धेरै भएपछि एक गाग्री पानी ल्याउनका लागि घण्टौँ हिँडेर छिमेकी गाउँ लिकु,दापु लगायतका बस्तीमा धाउनुपर्ने बाध्यता छ। 'अवस्था परिवर्तनको आसामा जनताले थुप्रै व्यवस्था परिवर्तन गरे तर चुँबासीको अवस्था परिवर्तन भएन,' स्थानीय जगत बुढाले भने, 'हामीले हिजोदेखि आजसम्म धेरै नेता जिताइसक्यौँ। तर हाम्रो समस्या कसैले समाधान गरेनन्।' बुढाले भने, 'चुनावताका भोट माग्दा पानी ल्याइदिन्छौँ। प्रत्येक घरमा रोजगारी दिन्छौँ भन्थें। हामीले पानीको समस्या समाधान गर्दिनु मात्रै भन्यौ। नेताले हुन्छ भन्दै आश्वासन दिए। एकघर एक रोजगारी त के पानीको लागि कुनै पहल गरेनन्।'

खानेपानीकै लागि प्रहरीकोमा

पानीकै लागि चुँ गाउँमा दैनिक झगडा पर्ने गर्दछ। पानी भर्नका लागि धारोमा पुगेका सर्वसाधारणबीच कुटाकुट समेत हुने गरेको स्थानीयले बताए। पानी पालो कुर्न जाँदा पालो मिचामिच भयो भन्दै आफन्त-आफन्त र गाउँले-गाउँलेबीच झैं-झगडा समेत हुने गर्दछ। पानीकै रिसमा अहिलेसम्म दर्जनौं मुद्दाहरू प्रहरी चौकीमा पुगेको स्थानीयले बताए। चुँ बस्तीमा पहिले जनसंख्या थोरै थियो। अहिले दिनप्रतिदिन जनसंख्या बढ्दै गएकाले खानेपानीको समस्या बिकराल बन्दै गएको हो।

सरसफाइका लागि शनिवार

खानेपानीको समस्या दिनप्रतिदिन बड्न थालेपछि चुँ गाउँका सर्वसाधारणहरू सरफाई कालागि शनिवार नै कुर्न बाध्य भएका हुन्। 'खानेपानीको समस्याले नियमित सरसफाइमा ठूलो असर पुगेको छ। जसले मनलाग्दी पानीको प्रयोग गर्न पाइँदैन। राम्रोसँग भाँडाकुँडा घर आँगन सरसफाई गर्न नपाउँदा विभिन्न रोगले च्याप्ने डर छ' स्थानीय महिला फागुनी खातीले बताइन्।

'पानीकै समस्याले अहिलेसम्म पीडित छौँ। सरसफाई र पशुवस्तुलाई खुवाउन खोलानाला खोज्दै घण्टौ हिंड्नुपर्ने अवस्था छ,'  खातीले भनिन्। पानी पालो कुर्न पठाई छाड्छन्। बिद्यार्थी चुँ बस्तीको पूर्वी छेउमा रहेको धारोमा केटाकेटीदेखि बुढापाखाहरू समेत पानी भर्नका लागि पालो कुरिहेका हुन्छन्। पानी पालो कुर्दा कुर्दै बिद्यालय जाने समय चुकेपछि बिद्यार्थीहरू नियमित पढाइबाट समेत वञ्चित हुने गरेका छन्। धेरैजसो समयमा केटाकेटी धारोमै पानी कुर्दै बसेका हुने भएकाले  पानी पालो मिचिने डरले पढाई छाडेर पानी पालोे कुर्नुपर्ने अवस्था भएको त्यहाँका बालबालिकाले बताए। पानीका लागि जीवनको ज्याेति शिक्षाबाट समेत वञ्चित भएकाले खानेपानीको व्यावस्था गरिदिन आग्रह समेत बालबालिकाले गरे। 

बस्ती नै सर्ने स्थिति

खानेपानीको समस्या बिकराल बन्दै गएपछि स्थानीय त्रसित भएकाछन्। खानेपानीको धारा नै सुक्न थालेपछि पुस्तौदेखि बसिरहेको घरजग्गा बस्ती नै उठ्ने खतरा बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरे। जलवायु परिवर्तनसँगै हिमाली क्षेत्रमा धेरै प्रभाव परिरहेको बेला भएको धारानै सुक्ने चिन्ताले सताइरहने स्थानीयले दुखेसो पोखे। कि खानेपानीको व्यवस्था गरिदिन होइन भने पानीको सहज आपूर्ती हुने ठाउँमा बस्ती सार्दिन समेत सरकारलाई स्थानीयले ध्यानकार्षण गराए।

महिलाका पीडा

खानेपानीको समसले महिलाहरू अझ धेरै पीडित हुने गर्दछन्। बिहानै काममा निस्केका महिलाहरू बेलुकी घर फर्कन्छन्। 'पुरुषवादी समाजमा खेतबारीको कामदेखि घर दैलोको सम्पूर्ण काम महिलाले नै गर्नुपर्छ भन्ने स‌ंस्कारको हावी छ। घण्टौं काम गरेर आउँदा घरमा पानीको थोपा हुँदैन। फेरि रित्तो भाँडो च्यापेर पानीको लाइनमा बस्न धारोमा पुग्नु पर्दछ,' स्थानीय महिला रामसरी बुढाले बताइन्। 'खाना खाने त मध्यरात हुन्छ। पानी नभएकै कारण कहिलेकाहिँ भोकै बस्नुपर्ने बाध्यता हुन्छ महिलाहरूले गुनासो गरे।

खानेपानीको माग

चुँबासीले स्थानीय सरकारलाई खानेपानीको माग गरेका छन्। देशमा संघीयता आएको छ। गाउँ गाउँमा सिंहदरबार आएको भन्छन्। हामी भने थोपा गनेर पानीको प्रयोग गर्नुपर्ने स्थिति छ,' स्थानीय रुपचन्द्र बुढाले भने। 'सरकारको एक घर धाराको नीति हाम्रा लागि रहेनछ। आजको युगमा पनि पानीले काकाकुल बन्दा समेत सरकारले केही हेरेको छैन,' बुढाले गुनासो गरे।

'स्थानीय चुनावमा उठेका जनप्रतिनिधिलाई पनि भोटको सट्टा पानी माग्यौँ। चुनाव जित्ने बित्तिकै खानेपानीको समस्या समाधान गर्ने बाँचा गरेका थिए। तर चुनाव सम्पन्न भएको एकवर्ष वितिसक्दा पनि पानीका समस्या उठाउँदैनन्। नेताहरू साह्रै स्वार्थी हुँदारहेछन्,' बुढाले दुखेसो पोखे।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.