‘नेताका संरक्षणमा रहेकाले पार्टीभित्र पैसा कमाउने व्यवसाय चलाए’

|

काठमाडौं : गत वर्ष सम्पन्न तीन तहको निर्वाचनअघि बलियो नेपाली कांग्रेस निर्वाचनलगत्तै कमोर बनेपछि पार्टीभित्रका युवा नेताले नेतृत्वको आलोचना गर्दै आएका छन्। युवा नेताहरूले पार्टीका नेताहरू विधानअनुसार नचल्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आएको धारणा राख्दै आएका छन्। युवाहरूले अब तत्काल पार्टीको महाधिवेशन गर्नुपर्ने पनि बताउँदै आएका छन्।

आगामी महाधिवेशनबाट पार्टी नेतृत्वको जिम्मा युवाको काँधमा सुम्पिएर अब बुढा नेताले विश्राम लिनुपर्ने युवा नेताको तर्क छ।

अहिलेको अवस्थामा कांग्रेसको नेतृत्व लिने अवस्थामा युवा नेता छन् त? यसै विषयमा कांग्रेसका युवा नेता गुरुराज घिमिरेसँग थाहाखरबका घनेन्द्र ओझाचिरञ्जिबी घिमिरेले गरेको कुराकानी प्रस्तुत छ।

कांग्रेसले चुनावपछिको अवस्थालाई कसरी समीक्षा गरेको छ?

नेपाली कांग्रेस इतिहासको महत्त्वपूर्ण चरणबाट गुज्रिएको छ। कांग्रेसले यस्तो अवस्थाको सामना गर्नुपर्छ भन्ने अनुमान पनि गरिएको थिएन र यो भन्दाअघि यस्तो अवस्था पनि आएको थिएन। गत वर्ष भएको तीन तहको निर्वाचनमा कांग्रेस नराम्ररी हार्‍यो। चुनावमा हार्नु जित्नु ठूलो कुरा त होइन तर यो निर्वाचनमा कसले जित्यो भन्ने कुरा महत्त्वपूर्ण हो। यो निर्वाचनमा लोकतन्त्रप्रति गहिरो आस्था र विश्वास नभएकाले प्रष्ट बहुमत ल्याए। साम्यवादी सिद्धान्त बोकेर विश्वमा गैरलोकतान्त्रिकको परिचय बनाएका कम्युनिस्टहरू सरकारमा पुगे।

यो अवस्थामा कांग्रेसले गम्भीर चुनौतीको महसुस गरेको छ। अब कसरी यसको सामना गर्ने भन्ने विषयमा कांग्रेसको विभिन्न फोरममा छलफल जारी छ। कसरी अगाडि जाने भन्ने विषयमा हामी गम्भीर छलफलमा छौँ।

कांग्रेस हार्नुको मुख्य कारण के हो भन्ने लाग्छ तपाईंलाई?

नेपालको राजनीतिक परिवर्तनलाई यहाँसम्म ल्याइपुर्‍याउन कांग्रेसको महत्त्वपूर्ण भूमिका छ। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न कांग्रेसको भूमिका छ। अरू हाम्रो पछि लागेका हुन्। हाम्रो एजेण्डाको अनुसरण गरेका हुन्।

कम्युनिस्टहरू उनीहरूको सिद्धान्तको विजय भएर यहाँ आएका होइनन्, नेपाली कांग्रेसको मुद्दालाई अनुसरण गरेर यहाँसम्म आइपुगेका हुन् भन्ने विषयलाई जनता माझ हामीले राम्रोसँग बुझाउन सकेनौँ। त्यस कारण राजनीतिक नेतृत्व, विचारको नेतृत्व, सिद्धान्तको नेतृत्व कांग्रेसले गर्दागर्दै पनि पराजय भोग्नुपर्‍यो।

अर्को कुरा, संगठन निर्माण र विस्तारका कुरालाई तीव्र रूपमा अघि बढाउन सकेको भए, भ्रातृ संगठनलाई काम दिन वा क्रियाशील गराउन सकेको भए, आन्तरिक विवाद अन्त्य गरेर टिकट वितरणलाई पारदर्शी बनाउन सकेको भए हामी यति कमजोर हुने थिएनौँ। तर यो हुँदाहुँदै पनि कम्युनिस्ट एकताका कारण पनि केही कमजोर भएकाचाहिँ पक्कै हौँ।

कांग्रेसभित्र पार्टी हारको जिम्मेवारी सभापतिले लिनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ नि!

कसैले घर चलाउँदै छ र त्यो घर बिग्रियो भने त्यसको जिम्मेवार घरमूली नै हुन्छ, यो विश्वव्यपी मान्यता पनि हो। तर घरमूलीलाई अरूले उसको एजेण्डाअनुसार चल्न दिएका छन् कि छैनन् भन्ने पनि हुन्छ। यस अवस्थामा शेरबहादुर दाइले उन्मुक्ति पाउने एउटा ठाउँ छ। उहाँले मेरो योजनाअनुसार पार्टी चलाउन दिएनन् भन्न सक्नुहुन्छ।

उहाँले मेरो प्रतिस्पर्धी समूहले निर्णय गर्दा हस्तक्षेप गर्छ, भाग खोज्छ भन्ने बाटो त पाउनुभएको छ। त्यो वास्तविक कुरा पनि हो। तर उहाँको एजेण्डा के हो भन्ने पनि उहाँलाई नै थाहा छैन।

अनि गुटले पार्टी चलाउनुचाहिँ हारको कारण होइन?

उहाँहरू प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा गरिरहनुभएको छ। उहाँहरूले यस्ता कुरा गर्नुभयो भने अब ध्रुवीकरणको कुरा आउँछ। उहाँहरूले गलत बाटो अपनाउन थाल्नुभयो भने सबै एक हुनुपर्ने बेला आउँछ। राजा ल्याउनुपर्छ भन्ने जनमत पनि आउँछ, हिन्दु राष्ट्रका कुरा पनि आउँछन्। त्यो कम्युनिस्टकै हातमा भर पर्छ। उहाँहरूले गडबड गर्न खोजे यहाँ ठूलो उथलपुथल हुन सक्छ

लोकतान्त्रिक पार्टी गुट निरपेक्ष त चल्नै सक्दैन। यो विश्वव्यापी वास्तविकता हो। लोकतान्त्रिक पार्टीमा गुटहरूको अस्तित्व थियो, छ र हुनेछ तर गुटको व्यवस्थापन गर्नुपर्छ। एकअर्काबीच समझदारी बनाएर अघि बढ्नुपर्छ। त्यसका लागि मूल नेतृत्वले अग्रसरता देखाउनुपर्छ।

पार्टी सभापतिले आफ्नो कौशल देखाउनुपर्छ गुट व्यवस्थापनका लागि। मूल नेतृत्वमा विशेष क्षमता हुनुपर्छ। हाम्रो पार्टीको मूल नेतृत्वले विशेष क्षमता प्रस्तुत गर्न सकेको भए हाम्रो पार्टी यो अवस्थामा आउने थिएन।

विभिन्न गुटका नेताले एकअर्काप्रति आरोप/प्रत्यारोप गरिरहेको अवस्थामा गुट व्यवस्थापन सम्भव छ?

सम्भव त किन नहुनु र! हामी पार्टीको विधानले बाँधिएका छौँ। विधानभन्दा माथि कोही पनि हुँदैन। आदर्श त आफ्नो ठाउँमा छँदै छ। पार्टी आदर्शबाट अभिप्रेरित भए पनि विधानबाट चल्नुपर्छ। लोकतान्त्रिक पार्टी विधिबाट चल्नुपर्छ तर हाम्रो पार्टी अहिलेको अवस्थामा विधिलाई सिरानीमा राखेर नेतृत्वको आफ्नो खुसीले चलेको छ।

तर हारको दोषीचाहिँ सभापति मात्र हुनुहुन्न। यद्यपि, बढी जम्मेवारी उहाँ नै हो किनभने उहाँ पार्टीको नेतृत्व हो। हामी निर्णय प्रक्रियामा कोको सहभागी भयौँ? पार्टी महाधिवेशनपछि केन्द्रीय समिति गठन गर्दा, संसदीय बोर्ड गठन गर्दा वा टिकट वितरण गर्दा हामी कोको सहभागी भयौँ? त्यतिले हारको जिम्मेवारी लिनुपर्छ। तर मैले किन दोषको भारी बोक्ने? निर्णय प्रक्रियामा म सहभागी थिइनँ। तथापि, पनि मैले सिंगो केन्द्रीय समितिले हारको जिम्मेवारी लिनुपर्छ भन्दा म पनि त्यसको भागिदार त भएँ नि! त्यस कारण पार्टीभित्रको अव्यवस्थालाई रोक्न नेतृत्व सफल भएन र यस कारण पनि पार्टीले हार व्यहोर्नुपरेको हो।

पार्टीभत्र हिजोका गुटहरूभन्दा बढी गुट र उपगुट सिर्जना भइरहेका छन्, अब गुट व्यवस्थापनका लागि के गर्नुपर्ला?

उहाँहरू (नेतृत्व)को त्यो गुटगत राजनीति भनेको जुँगाको लडाइँ मात्र हो। उहाँहरू केका लागि जुँगाको लडाइँ लड्दै हुनुहुन्छ भन्नेमै उहाँहरू स्पष्ट हुनुहुन्न। आफैँ स्पष्ट नभएको विषयमा उहाँहरूले कसरी गुट व्यवस्थापन गर्नुहोला, यो पनि सोचनीय छ।

अहिलेसम्म उहाँहरूले सरकारमा भएको पार्टीले के गर्दै छ भनेर हेर्नुभएको छैन। जबसम्म उहाँहरूले यतातर्फ ध्यान दिनुहुन्न, तबसम्म उहाँहरू यस्तै सानातिना कुरामा अल्झेर बस्नुहुन्छ। उहाँहरू यति साना कुरामा अल्झिनुभएको छ कि सार्वजनिक रूपमा प्रश्न उठ्ने बेला भइसक्यो। लोकतन्त्र घेरामा परिसक्यो। हाम्रो नेतृत्व झगडा गरेर बस्छन्। यो त धेरै हास्यास्पद भयो। 

निर्वाचनमा टिकट वितरणका बेला प्यापक पैसाको चलखेल भयो भन्ने आरोप छ नि!

हो, कांग्रेसभित्र अहिले नातावाद, कृपावादसँगै पैसाको चलखेल पनि बढेको छ। यो ठ्याक्कै कसले गर्‍यो भन्न सकिन्न तर चलखेलचाहिँ ठूलो छ। पार्टीका नेताबाट संरक्षित व्यक्तिले यो व्यवसाय चलाएका छन्।

पार्टी हार्नुको कारण यो पनि हो। वर्षौंदेखि काम गरेका, पार्टीमा योगदान गरेकाले टिकट नपाउने, एउटा भर्खर आएकाले पैसाका कारण टिकट पाउने प्रवृत्तिले त पार्टी खतम बनाएको छ।

पार्टीको अबको बाटो के हो?

अब पार्टीलाई दह्रो बनाउन सबै संरचनालाई चलायमान बनाउनुपर्छ। जुन संगठन जेका लागि बनेको हो, त्यसमै काम गर्नुपर्छ। नेविसंघले पार्टीको गुटबन्दीमा लाग्ने होइन नि! त्यस्तै अरू संगठनले आफ्ना क्षेत्रमा लागेकालाई संगठित गर्नुपर्छ। तर भ्रातृ संगठन पनि पार्टीको राजनीतिमा सहभागी भए। त्यसको अन्त्य गर्नुपर्छ।

अर्को कुरा, पार्टीका अंगहरूचाहिँ निर्वाचनमा मात्र सक्रिय भए। अरू बेला सुस्ताउँछन्। अधिकांश स्थानीय क्षेत्रका नेतृत्व सदरमुकाम बस्छन्। जिल्ला सभापतिहरू सदरमुकाम कि त काठमाडौं केन्द्रित हुन्छन्। यसको अन्त्य गर्नुपर्छ। स्थानीयस्तरमा नेतृत्वको उपस्थिति अनिवार्य हुनुपर्छ अब।

यस्तै, क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक गर्दा पार्टीको सिद्धान्त बुझेको< आदर्श बुझेको र पार्टीलाई कम्तीमा दिनमा दुई घण्टा समय दिनेलाई दिनुपर्छ भनिएको छ तर पार्टीको निर्वाचनमा भोट दिनेलाई मात्र दिइएको छ नि! यसको कुनै औचित्य छैन। सबै संगठनको आधार क्रियाशील सदस्य हो। त्यसमा ध्यान दिनुपर्छ।

पार्टीभित्रका युवा नेताहरूले अवसर खोजिरहनुभएको छ। अब युवाले पार्टीको नेतृत्व गर्नुपर्छ भनिरहनुभएको छ। युवाहरू पार्टीको त्यो जिम्मेवारी थेग्ने अवस्थामा पुगेका छन्?

पार्टीभित्रका पाका नेताहरूले मुलुकको राजनीतिलाई कहिले नेतृत्व गरेर त कहिले सहभागी भएर मात्र भए पनि यहाँसम्म ल्याइसक्नुभएको छ। उहाँहरूले धेरै आन्दोलनको नेतृत्व गर्नुभयो। अहिलेसम्मको अवस्थामा ल्याउने काम उहाँहरूले गर्नुभयो। जीवनको कति समय पार्टीका लागि योगदान गर्ने? अब लोभ केका लागि? मुलुकलाई एउटा विकट र अप्ठ्यारो अवस्थाबाट उहाँहरूले यहाँसम्म त ल्याउनुभएकै छ नि!

अब उहाँहरूको उमेर आराम गर्ने, तीर्थ यात्रामा जाने, चारधाम घुम्ने भयो। यो बेलामा सकी नसकी भारी बोकर किन झगडामा सामेल हुने? हामी त उहाँहरूको उमेरसम्म राजनीति गर्दैनौँ। तर अब देशलाई योगदान दिन युवा पुस्ताले अवसर त पाउनुपर्‍यो नि! अहिलेको बुढा पुस्ता नै अब सक्रिय राजनीतिबाट बिदा हुनुपर्छ। कुरा शेरबहादुर देउवा, रामचन्द्र पौडेलको मात्र होइन, ७० वर्ष नाघेको पुस्ताले अब विश्राम गर्नुपर्छ। उहाँहरू सल्लाहाकारको रूपमा बस्नुपर्छ। 

१४औँ महाधिवेशनपछि नेतृत्व युवाको हातमा आउँछ त?

हामी नेतृत्व हस्तान्तरणको ऐतिहासिक मोडमा छौँ। यस्तो मोड इतिहासमा कहिलेकाहीँ मात्र आउँछ। पार्टीमा काम गरेका शीर्ष नेताहरूको उमेरले अब नेतृत्व गर्न सुहाउँदैन। कि त उहाँहरूले चमत्कार गर्नुपर्‍यो। उहाँहरू सुध्रिनुभयो र नेतृत्व शैली परिवर्तन गर्नुभयो भने फेरि उहाँहरू नेतृत्वमा रहनसक्नुहोला।

तर पार्टीभित्रको जनमतले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरिरहेको छ। त्यसो भयो भने हामी नयाँ लडाइँ लड्न सजिलै सक्छौँ। विपक्षीहरू आत्तिएका पनि छन्। युवाका कुरा सुन्दा विपक्षी आतिन्छन्, बुढाका काम देखेपछि फेरि अब केही गर्न सक्दैनन् भनेर ढुक्क हुन्छन्।

जनताले अहिले कांग्रेसलाई प्रतिपक्षमा बस भनेर मत दिएका छन्। अब कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका खेल्छ कि ध्वंसात्मक प्रतिक्षको भूमिकामा हुन्छ?

कांग्रेसले पराम्परागत प्रतिपक्षको भूमिकालाई परिमार्जन गर्नुपर्छ। सरकारले गरेको राम्रो काममा सहयोग पनि गर्नुपर्छ। राम्रो कामले देश र जनतालाई फाइदा पुग्ने हो। यसमा आग्रह/पूर्वाग्रह राख्नुहुँदैन। अब प्रतिपक्षमा हामी उदाहरण बन्नुपर्छ।

तर जनताको जीवनमा संकट थपिने गरी भएका सरकारका निर्णयमा भने कांग्रेस दह्रो भएर उभिनुपर्छ। पछिल्ला दिनमा संसदका कांग्रेस लाचार देखिन्छ। अहिले सरकारले ल्याएको बजेटमा मौन समर्थन गर्नु, आलोचना गर्न नसक्नुले हामीलाई कमजोर बनाएको छ। हामी संसदमा नभएकाहरू सडकबाट उहाँहरूलाई साथ दिन्छौँ, संसदमा भएका साथीहरूले सदनभित्र आवाज उठाउनुपर्‍यो।

दुई ठूला कम्युनिस्ट पार्टी अहिले एक भएका छन्। तपाईंहरूले पनि ध्रुवीकरणको कुरा उठाउँदै आउनुभएको छ। अब गैरकम्युनिस्ट पार्टीबीच ध्रुवीकरणको बेला आएको हो र?

कम्युनिस्टहरू अहिले अब देशमा कम्युनिजम ल्याउँछौँ, विश्वको उदाहरण हुन्छौँ भनिरहेका छन्। त्यसो गरेमा भने यो दुर्भाग्य हुन्छ। यो म्यान्डेट उहाँहरूलाई छैन। तर हाम्रो संविधानले एउटा कुराबाहेक सबै संशोधन गर्नसक्ने व्यवस्था गरेको छ। संविधान मनाउँदा नै मैले त भनेको थिएँ, यस्ता कुरा उल्लेख नगरौँ, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरौँ भनेर।

संशोधनबाट व्यवस्था परिवर्तन गर्ने अवसर संविधानबाट कांग्रेसले नै बाटो दिएको भन्छु म त। उहाँहरू प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा गरिरहनुभएको छ। उहाँहरूले यस्ता कुरा गर्नुभयो भने अब ध्रुवीकरणको कुरा आउँछ। उहाँहरूले गलत बाटो अपनाउन थाल्नुभयो भने सबै एक हुनुपर्ने बेला आउँछ। राजा ल्याउनुपर्छ भन्ने जनमत पनि आउँछ, हिन्दु राष्ट्रका कुरा पनि आउँछन्। त्यो कम्युनिस्टकै हातमा भर पर्छ। उहाँहरूले गडबड गर्न खोजे यहाँ ठूलो उथलपुथल हुन सक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.