|

जनकपुरधाम : धनुषाको पूर्वी क्षेत्र कमला नगरपालिकामा विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको घटनाको छानबिन गर्न प्रदेश सांसदले माग गरेका छन्। बिहीवार बसेको प्रदेशसभाको बैठकमा नेकपाका सांसद रामचन्द्र मण्डलले विशाक्त मदिरा सेवनबाट मृत्यु भएका प्रदेश सरकारले यथाशिघ्र छानबिन गर्न माग गरेका हुन्।

संसद् बैठकमा नेकपाका सांसद मण्डलले प्रहरीकै संरक्षणमा अवैद्य मदिरा उत्पादनदेखि बिक्री वितरणसम्म भएकोले सत्यतथ्य छानबिन तथा मृतकको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन प्रदेश सरकारसंग माग गरे।

नेपाली कांग्रेस सांसद नरेश यादवले प्रदेश-२ लाई मदिरामुक्त प्रदेश बनाउने विधेयक ल्याउन माग गरे। धनुषा तथा सिरहाको सिमाना जोड्ने कमला नदीसँगै रहेको कमला नगरपालिकामा विषाक्त रक्सी (घरेलु मदिरा) सेवनबाट बिहीबारसम्म छ जनाको मृत्यु भएको छ। यसैगरी आधा दर्जन स्थानीय सिकिस्त रहेको र उनीहरूको उपचार जनकपुर अञ्चल अस्पताललगायतका अस्पतालमा भइरहेको छ।

मृत्यु हुनेहरूमा कमला नगरपालिका-५ लक्कड बस्ने ४० वर्षीय रामनाथ पासवान, ५५ वर्षीय रामचन्द्र पासवान, ३६ वर्षीय मणिक पासवान र वडा-६ सिग्याही मडानका ४५ वर्षीय साबिर अन्सारी, राजवीर महतो र गंगा पासमानको रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.