|

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको पनौतीमा देवीदेवताको प्रतिक स्वरूप बनाइएको रथ जुधाएर ऐतिहासिक पनौती जात्रा बिहीवार सम्पन्न भएको छ।

प्रत्येक वर्ष जेठ पूर्णिमाको दिन पनौती जात्रा मूल ब्यवस्थापन समितिको आयोजनामा एक साता आगडिदेखि सुरु भएको जात्रामा यौनिकता झल्काउने गरी उन्मत भैरव, भद्रकाली र इन्द्रेश्वर महादेवबीच रथ जुधाएर सम्भोग गराइन्छ। ज्या पुन्ही जात्राको नाममा परिचित सो जात्रामा पनौतीको लाम्पाटीमा रहेको भैरवको रथलाई तानेर ल्याई पुलिसपाटी नजिकै रहेको भद्रकालीको रथसँग जुधाइन्छ। रथ जुधाउने बेलामा दुवै रथमा सवार रहेका मानिसहरू एक–आपसमा अबिर छर्केर हर्ष व्यक्त गर्दछन्। सो कार्य सकिएपछि भैरवको रथलाई फर्काएर नवदुर्गा डबलीभन्दा केही पर राखिन्छ।

किंबदन्तीअनुसार उन्मत्त भैरवको रथ गन्तव्यस्थानमा पुगेपछि भद्रकालीको रथ तानेर ल्याई भैरवको रथसँग पछाडिबाट जुधाएर जात्रा मनाउने गरेको पनौती जात्रा मूल ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण कर्माचार्यले बताए। एवं प्रकारले भैरव र भद्रकालीको रथ तीन–तीन  पटक एक–आपसमा जुधाइसकेपछि इन्द्रेश्वर महादेवको रथ भद्रकालीको रथसँग अगाडिबाट तीन पटक जुधाइने उनले बताए।

जानकारहरूका अनुसार सो जात्रा १४ सय २६ वर्ष पुरानो हो । राजा शिवदेव मल्लको पालादेखि चल्दै आएको जात्रालाई हालसम्म पनि निरन्तरता दिँदै आइरहेको छ। ज्यहा पुन्ही पछि पनौतीमा यो वर्षको जात्रा सकिन्छ।

मन्दिरैमन्दिरको सहरको रूपमा चिनिएको पनौतीमा वर्षमा देवीदेवताको नाममा ५३ वटा जात्रा हुने र त्यसको सम्पूर्ण ब्यवस्थापन एउटै समिति पनौती जात्रा मूल ब्यवस्थापन समितिले गर्ने प्रचलन छ। त्यसको लागि नगरपालिकाले वार्षिक रूपमा बजेटको समेत ब्यवस्था गर्दै आएको छ।

वर्षको अन्तिम जात्रा भएकाले आफन्त र इष्टमित्र अनिवार्य पुग्ने गरेका छन्। छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौं, भक्तपुर, ललितपुरदेखिका मानिसहरू जात्रा हेर्न आउने गरेको जात्रा ब्यवस्थापन समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.