|
फाइल फोटो

विराटनगर : तामझामका साथ धान दिवस मनाइँदै गर्दा प्रदेश १ मा धान खेतीयोग्य भूमि घट्दो क्रममा छ। तथ्यांकअनुसार सन् २००२ देखि २०१४ सम्ममा झण्डै १५ प्रतिशत र साविक पूर्वाञ्चल विकास क्षेत्रमा २४ प्रतिशतले धान उत्पादन योग्य जमिनको क्षेत्रफल घटेको छ। 

सन् २००२ मा हालको १ नम्बर प्रदेशमा तीन लाख ६६ हजार ४ सय ९५ हेक्टर जमिनमा धान खेती हुन्थ्यो। उक्त क्षेत्रफल घटेर सन् २०१४ मा ३ लाख ११ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमा झरेको थियो। क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले दिएको जानकारी अनुसार साविक पूर्वाञ्चल विकास क्षेत्रमा धान खेतीयोग्य जमिन २४ प्रतिशतले घटेको छ।

सबैभन्दा बढी पूर्वाञ्चलको सिरहा र सप्तरीमा सोही अवधिमा ५० प्रतिशतले खेतीयोग्य जमिनमा कमी आएको छ। सप्तरीमा सन् २००२ मा ७० हजार एक सय ९० हेक्टर जमिनमा धान खेती हुन्थ्यो भने हाल घटेर ३५ हजार हेक्टर पुगेको छ। यस्तै सिरहामा ७१ हजार ८ सय हेक्टरमध्ये हाल ३६ हजार हेक्टर जमिनमा मात्रै धान खेति लगाइरहेको अवस्था छ। प्रदेश १ मा सबैभन्दा बढी धानखेतीयोग्य जमिन ह्रास हुने जिल्लामा ओखलढुंगा र तेह्रथुम छन्। ओेखलढुंगामा ३५ प्रतिशत र तेह्रथुममा ३२ प्रतिशतले धानखेतीयोग्य जमिनमा ह्रास आएको छ। 

अन्न भण्डार मानिने झापा, मोरङ र सुनसरीमा पनि खेतीयोग्य जमिनमा ह्रास आएको छ। यो अवधिमा झापामा १० प्रतिशत, मोरङमा १३ प्रतिशत र सुनसरीमा २७ प्रतिशतले ह्रास आएको छ। विकास क्षेत्रका आधारमा सबैभन्दा बढी पूर्वाञ्चल रहेको छ भने मध्यमाञ्चलमा ११ प्रतिशत र पश्चिमाञ्चलमा २ प्रतिशतले धान खेतीयोग्य जमिनको क्षेत्रफल घटेको छ। यद्यपि सुदूर पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा भने खेतीयोग्य जमिनकोे क्षेत्रफल बढेको छ।

तथ्यांक अनुसार सुदुर पश्चिमाञ्चलमा २२ प्रतिशत र मध्यपश्चिमाञ्चलमा नौ प्रतिशतले खेतीयोग्य जमिन बढेको छ। सुदूरपश्चिमाञ्चलमा सन् २००२ मा एक लाख ३४ हजार पाँच सय ४२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्थ्यो भने हाल बढेर एक लाख ७० हजार एक सय १७ पुगेको छ। यस्तै मध्यपश्चिमाञ्चलमा एक लाख ५४ हजार ८६ हेक्टर क्षेत्रफलबाट बढेर एक लाख ७२ हजार ६ सय ४८ हेक्टर क्षेत्रफलमा धान खेती हुन थालेको छ। तथ्यांक अनुसार समग्र नेपालमा ९ प्रतिशतले धानखेती योग्य जमिनमा ह्रास आएको छ। 

बाध्यताले खेती गर्दैछन् किसान

धानखेती योग्य जमिन क्रमश: घट्दै जानुको मुख्य कारण हो, जथाभावी प्लटिङ।धान उत्पादन गर्ने किसानले उचित मूल्य नपाउनु पनि एक कारण हो। त्यसका अलावा धान खेतीका लागि मजदुर अभाव हुनु र वैकल्पिक पेशामा धेरै आबद्ध हुनुपनि कारण रहेको क्षेत्रीय कृषि निर्देशनालयका सूचना अधिकृत राजेन्द्र उप्रेतीको भनाइ छ। अव्यवस्थित रूपमा प्लटिङ हुनु वा कन्ट्रक्सन निर्माण हुनु एउटा कारण भए पनि त्यही मात्रै सबै कारण नभएको उप्रेतीको दाबी छ।

‘मजदुरको अभावले गर्दा पनि धान खेती घटेको छ। कतिपय ठाउँमा सिँचाइ सुविधा छैन, भारतीय उत्पादनसँग जोडिएर पनि धानखेती प्रभावित भएको छ,’ उप्रेतीले भने, ‘किसान आफैँ पनि धान खेतीले मात्रै केही नहुने रहेछ भनेर विकल्पको खोजी गरिरहेका छन्।’

केन्द्र सरकारले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्ने बजेट भाषण गरेको छ। प्रदेश सरकारले कृषिजन्य वस्तुको उत्पादनका लागि जमिनको चक्लाबन्दी गरेर खेती गर्ने भाषण गरिरहेको छ। तर, त्यसको प्रक्रिया र मापदण्ड निर्धारण गर्ने देखि विभागीय मन्त्रालयलाई दिइने जिम्मेवारी कहिले हुन्छ भन्ने विषयमा कार्यालयहरु अझै अनविज्ञ छन्। 

यो वर्षको चैते धानको मूल्य अत्यन्तै कम भएको किसानको गुनासो छ। त्यसको समाधानका लागि क्षेत्रीय कृषि निर्देशनालयले पहल गरेको थियो। तर, सानो प्रयासले केही नहुने निर्देशनालयको ठम्याइ छ। ‘मूल्यमा कमी आएको गुनासो पछि हामीले झापा तथा मोरङमा अध्ययन गरियो,’ उप्रेतीले भन्छन्, ‘समस्या भण्डारणको पनि छ। मिलवालाको पनि सीमित भण्डारण क्षमता हुनु र किसानले पनि जोगाएर राख्न नसक्दा मूल्य कम हुन गएको पाइयो।’

धान खेतीयोग्य जमिनको संरक्षण गर्नेतिर सरकार लागिरहेको उप्रेतीको भनाइ छ। अन्य विकसित मुलुकहरुमा किसान संरक्षण गर्ने विभिन्न कार्यक्रम ल्याइरहेको भन्दै उहाँले नेपालमा पनि समस्या समाधान गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो। 

किसान भन्छन् मूल्यै छैन 

विगाहामा ८०\९० मन धान फलाउन सकिने बताउँदै बुढीगंगा गाउँपालिकाका किसान मनिस राजवंशी अन्य विकल्प नभएकै कारण धान खेतीको पेशा अवलम्बन गर्नुपरेको बताउँछन्। ‘एक बिघामा धान खेती गर्दा सबैथोक मिलाएर २० देखि २५ हजार रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘डिजेलको भाउ बढेको छ। अाठ हजार त ट्याक्टरले नै लिन्छन्।’ त्यसबाहेक बाढी आउँदा, किरा लाग्दा बाली बिग्रिए क्षतिपूर्तिको कुनै व्यवस्था नहुँदा आफू निराश हुने गरेको किसानको भनाइ छ। ‘धानको मूल्य पाइँदैन, मरीमरी काम गर्छौं, ५०६ सयमा बेच्नु पर्छ कसरी पोसाउँछ’, सोही ठाउँकी किसान कुसिया राय भन्छिन्, ‘सस्तो भाउमा बेच्नु परेपछि हामीले कसरी बाँच्नु र खेती गर्नु ? हाम्रो रोजी रोटी नभएको कारण मात्रै खेती गरेका हौँ।’ 

११ प्रतिशत धान रोपाइँ सम्पन्न

पूर्वाञ्चलमा मध्यअसारसम्ममा ११ प्रतिशत धान रोपाइँ भएको छ। पूर्वाञ्चलका १६ जिल्लामा ५१ हजार चार सय ९३ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ। 

सबैभन्दा बढी पहाडी जिल्ला भोजपुरमा ५० प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम सप्तरीमा १.५ प्रतिशत मात्रै धान रोपाइँ भएको निर्देशनालयका सूचना अधिकृत राजेन्द्र उप्रेतीले जानकारी दिए। गत वर्ष पूर्वाञ्चलमा असार १५ सम्ममा १२ मात्रै धान रोपाइँ भएको थियो। 

उच्च पहाडी जिल्लामा १७ प्रतिशत, मध्य पहाडी क्षेत्रमा २२ प्रतिशत र तराई क्षेत्रमा लगभग अाठ प्रतिशत धान रोपाइँ भएको कार्यालयको तथ्यांकमा उल्लेख छ। तथ्यांक अनुसार धनकुटामा अाठ, तेह्रथुममा ३५, संखुवासभामा १५, भोजपुरमा ५०, झापामा पाँच, इलाममा १०, पाँचथरमा १९, ताप्लेजुङमा १७, सुनसरीमा २०, मोरङमा पाँच, सप्तरीमा १.५, सिरहामा पाँच, उदयपुरमा ८, खोटाङमा १५, ओखलढुंगा १५ र सोलुखुम्वुमा ३५ धान रोपाइँ भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.