'डाक्टर, नडाक्टर सँगसँगै नेपाली रेल चढौँला!'

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि विभिन्न विभागहरू प्रधानमन्त्री मातहत ल्याइएको बताएका छन्। प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकार पुरानै पाराले चल्न नसक्ने र प्रभावकारी किसिमले चल्नका लागि नयाँ बाटो अपनाइएको बताएका हुन्।

सुरुमा प्रधानमन्त्रीले सांसदहरूले प्रश्नका लागि प्रश्न सोधेको भन्दै असन्तुष्टि जनाएका थिए। उनले 'कसैले १ रुपैयाँ घटाइयोस् त कसैले १ रुपैयाँ कायम गरियोस्' भनेर संशोधन हालेको भन्दै यस्तोलाई बिरालो बाँधेको संज्ञा दिएका थिए।

केपी शर्मा ओली प्रधानमन्त्री भएसँगै गृहमन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभाग, अर्थमन्त्रालयअन्तर्गत रहेको राजश्व अनुसन्धान विभाग र सम्पति शुद्धीकरण विभागलाई प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयअन्तर्गत लगिएको भन्दै आएका आलोचनाको जवाफ दिँदै ओलीले भने, 'यस्ता प्रश्न उठ्नु स्वाभाविकै हो।

सरकार नयाँ ढंगले अगाडि जान खोजेको छ। अनुसन्धानलाई प्रभावकारी बनाएर देशको हितको पक्षमा अनुसन्धान विभागझैँ काम गरेर नतिजा निकाल्न र त्यसहिसाबले काम गराउनपर्छ।' उनले अहिलेको सरकार बनिरहने र भत्किरहने सिलसिलाको सरकार नभएकाले नयाँ किसिमले जानका लागि नयाँ अभ्यास गरिएको बताए। उनले विकास, सुशासन र समृद्धिको निम्ति यस्तो गर्नुपरेको स्पष्ट पारे। उनले सरकारका संरचनाहरू नयाँ किसिमले चलाउन खोजेको जवाफ दिए।

प्रधानमन्त्रीले सम्झाए सांसदले सोध्न छुटाएको प्रश्न!

फेरि प्रश्नप्रति नै सोझिएका थिए प्रधानमन्त्री ओली। विशेषतः प्रधानमन्त्रीले जवाफ दिनुपर्ने विनियोजन विधेयकमा प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले संशोधन हालेकाले भन्दै उनले एक प्रश्न गर्न छुटाएको बताए। उनले यस्तो गर्न बिर्सिएको हो कि भनेर प्रश्न गरे। उनले यसो गरेर पनि नयाँ ढंगले चलाउने खोजेको बताए।

'६४ जना, ६४ जना मन्त्रीले चालाएको देशलाई २४ मन्त्री राखेर के खेलाँची गरेको हो? भनेर छुटाउनुभएको रहेछ।' उनले फेरि दोहोर्‍याए, '६४ जनाको पल्टनले चलाएको देश के २४ जनाले चलाएको भनेर सोध्न सकिन्थ्यो।'

उनले देश नयाँ बाटोमा गइरहेको भन्दै धेरै आशंका नगर्न आग्रह गरे। हिँडिरहेको बाटोमा अध्याँरोमा पनि सहजै जान सकिने र नयाँ तथा सहज बाटोमा पनि आशंका हुने भएकाले यस्तो धेरै आंशका नगरिहाल्न उनले आग्रह गरे। उनको भनाइ थियो, 'नयाँ अभ्यासमा देश जाँदा नयाँ संरचना निर्माण गर्दा नयाँ ढंगले मुलुकलाई ड्राइभ गर्नुपर्छ, त्यतैतिर जान लाग्या हो।'

अधिनायकवाद, जता पनि लाउन मिल्ने चाइने केरे!

पछिल्लो समय नेपाली कांग्रेसले सडकदेखि सदनसम्म कम्युनिस्ट सरकारले लोकतन्त्र खतरामा पारेको आरोप लगाउँदै आएको छ। यस्ता अभिव्यक्तिहरू पूर्वप्रधानमन्त्री एंव कांग्रेस सभापतिदेखि तल्लो तहका कार्यकर्ताले पनि दिने गरेका छन्। प्रधानमन्त्री ओलीले भने यस्ता क्रियाकलापलाई कांग्रेसले केटाकेटीलाई हाउगुजी देखाएजस्तो गरिरहेको भन्दै आलोचना गरेका थिए।

कसैका पसिनाले आर्ज्याको नभई हामी सबैका पसिनाले आर्जेको लोकतन्त्र भएको र कसैले किस्तीमा दिएको होइन

प्रधानमन्त्री ओलीले एक उखान सुनाए, 'एउटा थेगो छ, बजार गएर अलिकति सब्जी किनेर ल्याउनुपरेको थियो भन्दा चाइनकेरे माने बजार जानुपरेको छ, चाइने केरे माने अलिकति सब्जी, चाइने केरे माने… भनेजस्तै अधिनायकवाद आउँछ भन्ने पनि चाइनेकेरे माने भनेजस्तै भएको छ। यो जेमा पनि मिसाउन मिल्छ। अचम्मैको चाइनेकेरे माने!' उनले अहिलेको राजनीतिक नेतृत्व लोकतन्त्रका लागि लडेकाले आश्वस्त हुन आग्रह गरे। 'कसैका पसिनाले आर्ज्याको नभई हामी सबैका पसिनाले आर्जेको लोकतन्त्र भएको र कसैले किस्तीमा दिएको होइन' भने। उनले लोकतन्त्रका लागि लड्दा आधा शताब्दी लोकतन्त्रका लागि लड्दा पाएको पीडा ताजा भएको बताए।

उनले लोकतन्त्र गएर आउने व्यवस्था के हो? कहाँबाट आउँछ भनेर प्रश्न गरे। उनले कांग्रेसलाई जनतामा यसरी भ्रम र आशंका नफिजाउन बरु सरकारलाई सहयोग गर्न सुझाब दिए। उनले यस्तो भ्रमपूर्ण प्रचार उपयुक्त नभएको बताए। उनले जे कुरामा पनि प्रतिपक्षीले अधिनायकवाद आउँछ र लोकतन्त्र जान्छ भनेर गरेको प्रचारले जनतामा आशावादिता जगाउनेभन्दा पनि निराशा ल्याउने बताए।
जनतामा आशावादिता जनाउन प्रधानमन्त्रीको आग्रह थियो। अहिलेको व्यवस्था सबैले लडेर ल्याएकाले आफैँमाथि सन्देह नगर्न उनको भनाइ थियो। उनले नेपाली लोकतन्त्र भर्‍याङबाट चढेर नल्याइएको बरु रक क्लाइम्बिङबाट ल्याइएको बताए।

कामचोर ठेकेदारलाई हर्जना तिराइने

सरकारले योजना आयोगलगायत निकायलाई प्रभावकारी बनाउन पुनर्निर्माण गरेको बताए। उनले काम नगर्ने ठेकेदारहरूलाई त्यसको हर्जना पनि भराउने बताए।

उनले भने, 'एक दुई बाटो बनाउने क्षमता भएको ठेकेदारले ६०-७० ठाउँमा देखाएर योजना लिने तर काम नगर्ने! अब कुन क्षमताले कतिवटा योजना लिँदै छ त्यो हेर्ने हो। त्यसकारण समय तोकेर यतिसम्म बनाउने हो होइन भने हर्जनासमेत तिर्नुपर्छ।'  

उनले योजना निर्माणमा विलम्ब नसहने र समयभित्र काम खोज्ने बताए। संसदमा भ्रष्टाचार बढ्दै गएको भन्ने अभिव्यक्तिलाई 'टङ स्लिप'को संज्ञा दिए। उनले भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिए।

प्रधानमन्त्री ओलीले प्रधामन्त्री कार्यालयले दह्रोसँग अनुगमन गर्ने र त्यसमा तलमाथि देखिए कडा कदम चाल्ने गरी अगाडि बढेको बताए।

बजेटमाथिको छलफलमा परिपक्वकता देखिएन

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमाथि सबैभन्दा बढी आलोचना गर्नेमा सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीका नेताहरू रहे। उनीहरूले मन्त्रालयगत विनियोजन विधेयकमा चर्को असन्तुष्टि जनाएपछि नेकपाले संसदीय दलको बैठक राखेर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेटमा धेरै आलोचना नगर्न निर्दशन नै दिए। तर पनि नेकपाका सांसदहरूको बजेटमाथिको आलोचना २० को १९ भएन।

त्यसपछि संसदमा बजेटको प्रसंगमा बोल्न पुगेका प्रधानमन्त्री ओलीले नयाँ ढंगले नयाँ व्यवस्थामा कोही पनि अभ्यस्त नभएकाले यसरी आलोचना भएको बताए। उनले बजेटमाथि सबैले सत्ता पक्ष र प्रतिपक्षीले आ-आफ्नो किसिमले धारणा राखेको बताए। उनले अहिलेको व्यवस्थामा कोहीपनि अनुभवी नभएकाले कसैमा पनि परिपक्वता नआएको बताए।

विदेशी लगानीमा पहाडमा प्वाल पारेर मेलम्ची काठमाडौंमा ल्याँइदै छ। अब विदेशी पैसाले हाम्रो पहाडमा प्वाल किन पारियो भन्ने कि पानी आयो भन्ने?

वैदेशिक ऋणबाट मात्रै आयोजना बनाएर नेपालीलाई ऋणमा डुबाउन लागिएको भन्ने सत्ता र प्रतिपक्षका कतिपय सांसदहरूको धारणाको जवाफ दिँदै उनले देशको विकासका लागि वैदेशिक सहायता र ऋण लिनुपरेको बताए। उनले वैदेशिक सहायता लिएर नेपालमा लगानी गर्ने र विकास एवं समृद्धिलाई तिव्रता दिइने बताए। उनले भने, 'हाम्रो विकासको आकांक्षालाई पूरा गर्न छिमेकीबाट सहयोग लिइएको हो। विदेशी पुँजी प्रयोग गरेर हाम्रा साधन स्रोतको उपयोग गर्ने हो। विदेशी पुँजी ल्याउने नै होइन भन्नु गलत हो।'

देशमा तीव्रताका साथ चौतर्फी विकास गर्नुपर्ने भएकाले विदेशी लगानी ल्याउन पहल गरिएको उनको धारणा थियो। उनले विदेशी लगानीमा ठूला योजना बनाउन लागिएको बताए। 'विदेशी लगानीमा पहाडमा प्वाल पारेर मेलम्ची काठमाडौंमा ल्याँइदै छ। अब विदेशी पैसाले हाम्रो पहाडमा प्वाल किन पारियो भन्ने कि पानी आयो भन्ने?'

भूकम्प प्राधिकरणका सिइयो चुनावको टिकट लिएर कहाँ गएको?

प्रधानमन्त्री ओलीले सरकार भूकम्पपीडितका आवास बनाउन लागिपरेको बताए। उनले भूकम्पले भत्काएर संरचनालाई रेट्रोफिटिङदेखि नयाँ निर्माणसम्म भइरहेको बताए। हालै वसन्तपुरमा रहेको गद्दी बैठकको पुनर्निर्माण पूरा भएको र धरहरा तथा राष्ट्र बैंकका सरकारी कार्यालय पनि निर्माण कार्य चाँडै अगाडि बढ्ने उनको भनाइ थियो।

पुनर्निर्माण प्राधिकरणको सिइओमा नेपाली कांग्रेसले गरेको डा. गोविन्द पोखरेलको नियक्तिलाई आलोचना गरे। 'अलिक समय चुनावको तयारीमा ध्यान गयो उहाँको। पछि त खोइ त प्राधिकरणका सिइओ भनेको त टिकट लिएर चुनाव लड्न (हातको इशारा गर्दै) गइसकेका। हातमा टिकट कताको पुनर्निर्माण।' उनले थपे, 'ढिलो त हुने नै भयो नि!'

अहिले पनि काम गर्न सकिन्छ भन्ने भावना नै जागृत नभएको उनको भनाइ थियो। उनले यस्तो अवस्थालाई गाडीको न्युट्रल गियरमा रहेको अवस्थासँग तुलना गरे। 'चलेको छैनभन्दा चलेको छ तर गुडदैन, एकैपटक ६ नम्बर गियरमा लिन नसकिने र अब विस्तारै तीव्रता दिइन्छ।'

उनले तराईमा रहेको डुबानलाई नियन्त्रण गर्न काम भइरहेको जानकारी दिए। नेपाल र भारतको संयुक्त टिमले डुबान क्षेत्रहरूमा डुबान खोल्न संयुक्त रूपमा काम गरिरहेको उनको भनाइ थियो। उनले तराईको बाढी नियन्त्रण, भूकम्पपीडितको उद्धार र बसोबासलगायत विषयमा सरकार संवेदनशील रहेको बताए।

हस्तक्षेपले संशोधन हुन्न

उनले कतिपय राजनीतिक विषयलाई देशको आवश्यकताका आधारमा पूरा गरिने बताए। संविधान संशोधनलगायतका विषयलाई देशको हित हेरेर अगाडि बढ्ने उनको भनाइ थियो। उनले नेपालको संविधान संशोधन गर्न सकिने बताए।

एक घरमा त सानातिना कुरामा मतभेद हुने तर देशमा केही कुरामा बेमेल हुनु सामान्य भएको र त्यसलाई पार लगाइने पनि उनको भनाइ थियो।

जसले जे भने पनि हामी नेपालमा रेल लिकमै चलाउँछौँ, डाक्टर नडाक्टर हामी सबै सँगै चढौँला, धन्यवाद!

उनले संविधान कसैको दबाबमा नभएर देशको आवश्यकता र औचित्यको आधारमा गर्ने बताए। उनले कसैले गर्नु भनेर दबाब दिँदैमा त्यो नहुने बताए। उनले भने, 'दबाब र हस्तक्षेपमा नेपाल काम गर्दैन, स्वाधीन रूपमा काम गर्छ।'

डाक्टर, नडाक्टर सँगसँगै नेपाली रेल चढौँला!

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले प्रधानमन्त्रीलाई रेल र कम्युनिस्ट पार्टीको लोककथा सुनाए। उक्त लोककथामा रिजालले रुसमा लेनिनको पालामा रेलमा पिकनिक जानेबारेको थियो। कम्युनिस्ट नेता स्टालिनको पालामा बिनालिक पनि कुद्ने र ख्रुस्चेभको पालामा बिनागियर पनि रेल किन अगाडि जानुपर्‍यो भन्ने कथन रहेका कुरा सुनाउँदै रिजालले सोधे, 'हाम्रो कम्युनिस्ट पार्टीको पालामा आफ्नो देशको रेल नबने अर्काको देशको रेल आफ्नो भन्ने हो कि? बुझ्न सकेको छैन, स्पष्टीकरण पाए हुन्थ्यो।'

डा. रिजालका यी कुरा ध्यान दिएर सुनेका प्रधानमन्त्री ओलीले रेलको कुरा गर्दा तर्सिनु नपर्ने बताए। उनले भने, 'विद्वान् भनेको विद्वानै हुन्छ, डाक्टर भनेको डाक्टर नै हुन्छ। तिथिमितिसमेत याद छ। कहाँ ट्रयाकबिनै हिँड्यो, कहाँ लिकबिनै हिँड्यो! ड्राइभर को थियो। त्यो विद्धतालाई सलाम छ, त्यसमा अरू केही थप्दैन।'

उनले प्रतिपक्षीले रेलका कुराबाट तर्सिनु नपर्ने बताए। नेपालमा आफ्नै रेल आउने बताउँदै उनले राम्रा कुरा र काम गर्दा तर्सिनु नपर्ने बताए। कुनै कुरा वर्तमानमा हास्यास्पद भएपनि र कम उपयोगिताका देखिएपनि भविष्यमा तिनको महत्व हुने उनको धारणा थियो। उनले केहीले त्यसको महत्व नबुझेर र केहीले त्यसको महत्व बुझ्दाबुझ्दै पनि अबुझ बनेर विरोध गर्ने बताए।

डा. रिजालको प्रश्नमा रमाइलो जवाफ दिँदै आफ्ना भनाइ टुंग्याए। प्रधानमन्त्री ओलीको भनाइ थियो, 'जसले जे भनेपनि हामी नेपालमा रेल लिकमै चलाउँछौँ, डाक्टर नडाक्टर हामी सबै सँगै चढौला, धन्यवाद!'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.