|

काठमाडौं : खेल जित्नैका लागि खेलिन्छ ! तर, कहिले काहीँ यो भनाइ पुष्टि गर्नसमेत हम्मे पर्नेरहेछ । फिफा विश्व कप–२०१८ को समूह चरणको अन्तिम खेलले यही प्रमाणित ग¥यो । नक आउट चरणमा केही कमजोर प्रतिद्वन्द्वीको सामना गर्न पाउने लोभमा इंग्ल्यान्ड र बेल्जियमले पहिलो रोजाइका अधिकांश खेलाडीलाई आराम गर्ने मौका दियो । दुवै टोली बिहीबारअघि नै समूह चरणबाट अघि बढीसकेको हुनाले समूह विजेताका लागि मात्र त्यो खेल हुँदै थियो । अब हुने नकआउट चरणमा विजेताभन्दा उपविजेताले केही सहज विपक्षीको सामना गर्न पाउने हुँदा ती दुवै टोलीले हारेर जित्ने योजना बुनेको देखियो । जसलाई ति दुवै टोलीले विश्व कप जस्तो मैदानमा रोजेको पहिलो रोजाइको टोलीको सूचीलेसमेत प्रमाणित ग¥यो नै । 

खेल सकिएपछि आफ्नो समूहमा विजेता बनेर अगाडि बढेको बेल्जियमले अन्तिम १६ मा जापानलाई प्रतिद्वन्द्वीका रुपमा पाएपनि त्यसपछि ब्राजिल वा मेक्सिकोको सामना गर्नुपर्छ । क्वार्टरफाइनलमा जित हात पारेको खण्डमा उसको सामना उरुग्वे, पोर्चुगल, फ्रान्स वा अर्जेन्टिना मध्ये एकसँग हुनेछ । उपविजेताका रुपमा अगाडि बढेको इंग्ल्यान्डले दोस्रो चरणमा कोलम्बियासँग खेल्नेछ । भाग्यले समूहको विजेता बनेपनि कोलम्बियाले आफ्नोस्तरको खेल पस्कन सकिरहेको छैन । त्यो खेलमा विजयी भएको खण्डमा क्वार्टरफाइनलमा इंग्ल्यान्डले स्विडेन वा स्विट्जरल्यान्डलाई प्रतिद्वन्द्वीका रुपमा भेटाउने छ । त्यसमा समेत सफल भएको खण्डमा सेमिफाइनलमा इंग्ल्यान्डको सामना स्पेन, रुस, क्रोयसिया वा डेनमार्कसँग हुनेछ । यो समीकरणका आधारमा भन्ने हो भने फाइनलसम्म स्थान बनाउन बेल्जियमभन्दा इंग्ल्यान्डलाई केही सहज हुने देखिन्छ ।

विश्व कपमा नकआउट चरणदेखि ‘पावर हाउस’ का रुपमा उभिएका टोलीको वर्चश्व रहन्छ भन्ने परम्परागत मान्यताले यसपाली पनि निरन्तरता पाउने हो भने अबको बाटो इंग्ल्यान्डका लागि केही सहज हुने नै छ । त्यसैले इंग्ल्यान्डले बिहीबार राति हारेर पनि जितेको छ ।

यस्तै बिहीबार नै हारेर जित्ने अर्को टोली बन्यो, जापान । पोल्यान्डसँग ०–१ ले हारेपनि ‘फेयर प्ले’ का आधारमा सेनेगललाई पछि पार्दै अन्तिम १६ मा पुग्ने जापान एकमात्र एसियाली टोली बन्यो भने मेक्सिको एकमात्र उत्तर अमेरिकी मुलुक । अन्तिम १६ मा युरोपेलीअनि उत्तर र दक्षिण अमेरिकी मुलुकको मात्र उपस्थिति रहँदा जापानले एसियाको नाक राख्न सक्यो । अफ्रिकाका लागि भने यसपाली समूह चरणबाटै विश्व कपको अन्त्य भएको छ । यसअर्थमा जापानको सफलताले एसियालाई समेत जितायो । जापानको अनुशासनपूर्ण खेलले भविष्यमा फुटबललाई अझै अनुशासित बनाउने पनि नै छ । त्यसैले फिफाको ‘फेयर प्ले’ को नारा यसपाली अर्थपूर्ण पनि बनेको छ ।

इटाली र नेदरल्यान्ड जस्ता टोलीको अनुपस्थितिले केही खल्लो र पहिलो गाँस मै ढुंगा लागेको यस विश्व कपमा साविक विजेता जर्मनी पनि समूह चरणबाटै घर फर्कियो । यो विश्व कपको सबैभन्दा स्तब्धपूर्ण समय पनि यही नै थियो । समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियाबाट २–० को हार व्यहोर्नु नै जर्मनीको घर फर्कने कारण बन्यो । यसअर्थमा विश्व विजेतालाई घर फर्काउने कारण पनि अर्को एसियाली टोली नै बन्यो । विश्व कपको इतिहासमा यो पनि सम्झनलायक क्षण बनिरहने छ । जसले गर्दा समूह चरणबाटै बाहिरिएपनि दक्षिण कोरियाले विजेता झैं नाक फुलाउन पायो, यो विश्व कपमा । जसले गर्दा रुसमा नायक बनेको दक्षिण कोरियाले घरमा पनि नायक झै स्वागत पायो । 

यो विश्व कपमा एसियाको प्रतिनिधित्व गरेका इरान, अस्ट्रेलिया अनि अफ्रिकाका नाइजेरिया र सेनेगलले समूह चरण पार गर्न नसकेपनि समर्थकको मन जिते । उता यो विश्व कपको समूह चरण गोलका लागि पनि सम्झनलायक बनेको छ । डेनमार्क र फ्रान्सको खेल बाहेक हरेक खेलमा गोल हुनु यो विश्व कपको विशेषता रह्यो । साथै विश्वका अनुमानित ३ अर्ब दर्शकले समूह चरणमा भएका १ सय १७ गोलको आनन्दसमेत उठाए । यो विश्व कपको अन्तिम १६ मा एक–एक एसियाली र उत्तर अमेरिकी अनि ४ दक्षिण अमेरिकी टोलीका साथै १० युरोपेली टोलीले कब्जा जमाएका छन् ।

जसमा फाइनलसम्म मात्र एक दक्षिण अमेरिकी वा उत्तर अमेरिकी टोलीले स्थान बनाउन सक्ने देखिन्छ । तर, कोलम्बियाले खेल जित्दै गएको खण्डमा फाइनल भिडन्त दुई दक्षिण अमेरिकी टोलीबीच हुनसक्ने सम्भावनालाई समेत नकार्न सकिंदैन । यसअर्थमा उपाधिका दावेदारका रुपमा हेरिएका ब्राजिल, अर्जेन्टिना र उरुग्वेमध्ये दुई टोलीको यात्रा सेमिफाइनलमा पुगेर टुंगिने छ । अन्तिम १६ मा ब्राजिलले मेक्सिकोको सामना गर्नु पर्नेछ । उता अन्तिम १६ मा जित हात पारेपनि अर्जेन्टिना र उरुग्वेले क्वार्टरफाइनलमा नै भिड्नुपर्ने छ । त्यसपछि सेमिफाइनलमा ब्राजिल वा मेक्सिकोसँग । तरपनि, दक्षिण अमेरिकाबाट छनोट भएका ५ मध्ये पेरुबाहेक ४ टोली अन्तिम १६ मा पुगेका छन् ।

समग्रमा हेर्ने हो भने यो विश्व कपको ट्रफी युरोपमै रहने सम्भावना पनि बढी नै छ । युरोपमा भएका बेला विश्व कपको ट्रफी बाहिरी महादेशका टोलीले जित्न नसकेको इतिहासले समेत यस विश्व कपमा युरोपको दावीलाई बलियो बनाएको छ । समीकरण कै आधारमा भन्ने हो भने युरोपबाट पोर्चुगल, फ्रान्स र बेल्जियम मध्ये एक अनि स्पेन, रुस, क्रोयसिया, डेनमार्क, स्विडेन, स्विट्जरल्यान्ड र इंग्ल्यान्डमध्ये अर्को एक टोलीबीच फाइनलमा प्रतिस्पर्धा हुनसक्नेछ । तर यी सबै सम्भावनाका गणित मात्र हुन् ।

शनिबारदेखि सुरु हुने नकआउट चरणको नतिजाले कसलाई विश्व विजेता बनाउँछ हेर्न बाँकी नै छ । किनकी जहाँ एक गल्तीले टोली घर फर्कन बाध्य हुनेछन्, जहाँ कुनै गल्तीले माफी पाउँदैन । बस् हुन्छ त आँखाभरी छल्किएका आँसु अनि होटलमा घर फर्कन तयार अवस्थामा रहेको सुटकेस मात्र । अब हेर्न बाँकी छ, हरेक खेलसँग सम्भावित विजेताको साँघुरिदैं जाने घेरा मात्र । यही नै त हो, विश्व कपको रोमान्चकता ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.