सहरीकरणले घट्दै धानखेती, भू-नीति स्थानीय सरकारको लक्ष्य

|

उदयपुर : त्रियुगा नगरपालिका ११ का शिव दाहाल शुक्रबार बिहानै खेतमा पुगे। तीन विघामा वर्षौदेखि धानखेती गर्ने दाहालको मुख्य पेशा कृषि हो। त्यसमा पनि हिउँद बर्खे धान फलाउने उनले भने, ‘खै आज धान दिवस रे। हामी असार १५ भनेर चिन्छौं। दही चिउरा खाने र धान रोपाई गर्ने काम आजको मेरो हो।’

१५ औं धान दिवसकै दिन कटारी नगरपालिका ११ कृषक शंकर राउतले भने, ‘मकै पाकेको छैन। धानको वीउ तयारी हुँदैछ। बिहान बेलुकै खेतबारीमा रमाउनेलाई के को धान दिवस ? प्रतिप्रश्न गर्दै उनले भने, 'जसले धान रोप्दैन। उसैले धान दिवस मनाउने हो।'

किसानलाई धान दिवस महान चाड पर्व हुनु पर्ने हो। तर, धान उत्पादन गर्ने किसालाई धान दिवसको बारेमा थाहानै छैन। दाहाल र राउत उदाहरणका पात्र मात्र हुन्। गाउँघरमा धान रोप्ने खेताला कसरी जुटाउने भन्ने चिन्ता यति वेला किसानलाई छ।

 युवाशक्ति वैदेशिक रोजगारीमा रहेको वेला गाउँघरमा अर्मपर्म गर्न सक्ने अवस्था छैन। तर, विभिन्न किसानका नाममा खोलिएका सरकारी तथा गैर सरकारी कर्यालयहरूले तामझामका साथ धान दिवस मनाएका छन्। कृषि विकास कार्यालयका अनुसार उदयपुरका आठवटै स्थानीय तहमा तीन प्रकारका धान झण्डै २० हजार हेक्टर क्षेत्रफलमा उत्पादन हुन्छ। 

जसमा बर्खे धान १५ हजार हेक्टरमा, भदैया धान १३ हजार हेक्टरमा र चैते धान १५ सय हेक्टरमा उत्पादन भइरहेको छ। कार्यालयका बागबानी बिकास अधिकृत रामकुमार यावदले भने, ‘पछिल्लो समय उदयपुरमा धान खेती गर्ने किसालाई पनि धान दिवसको बारेमा जनचेतना जगाउने काम भएको छ। अव हामीले भन्दा पनि अव स्थानीय सरकारले किसानलाई धान दिवसको महत्व र आवश्यक बुझाउँदै आधुनिक खेतीतर्फ उन्मुख गर्नुपर्छ।'

जिल्लाको भित्री मधेस र पहाडी क्षेत्रका टारी खेतमामा धान खेती हुँदै आएको छ। भित्री मधेसमा पर्ने कटारी, गाइघाट, नेपालटार, जोगी दह, वेल्टार, रामपुर, तपेश्वरीका क्षेत्र छन्। पहाडी क्षेत्रमा हर्देनी, मायँखु, सोरुङ, रुपाटार लगायत छन्। धानखेतीलाई आधुनीकरण गर्न मनाउन थालिएको धान दिवसको बारेमा अझै कृषकहरू वेखवर छन्। उनीहरू परम्परागत शैलीमै धान दिवस मनाउँदै आएका छन्। ‘हामी धान खेती गर्ने किसान हामी, धान दिवस सुनेको हो। मनाएको छैन,’ उदयपुरगढी गाउँपालिका १ का मनोज खत्रीले भने, ‘हाम्रो गाउँघरमा धान दिवस मनाइएको थाहा छैन। त्यो शहर बजारका सुकिला मुकिला किसानले मात्र मनाउने हो। हामीले होइन। मकै र चैते धान भित्र्याउने काम भइरहेको छ।’

मनोजकै शब्दमा सुकिला मुकिला किसानले शुक्रबार कृषि विकास कार्यालय उदयपुर अन्य गैर सरकारी संस्थाले त्रियुगा नगरपालिका १० बाँसबारीमा आयोजना गरेको रोपाई कार्यक्रममा धान दिवस मनाए। राजनीतिक दलका नेता, जनप्रतिनिधि, अधिकारकर्मी, घर जग्गा व्यवसायी र व्यापारीले दही चिउरा खाएर रोपाई गरे। ‘वर्षमा एक पटक खेतमा पसेर फेसबुकमा फोष्ट गरे,’ धान दिवसको दिन आयोजना गरिएको रोपाइको फोटो खिच्दै गरेका एक अधिकारकर्मीले भने, ‘जो किसान होइन। उसैलाई धान दिवस, जो किसान हो। उसलाई धान फलाउने चिन्ता, यस्तै छ, मेरो देशमा।’ जमिनलाई टुक्राउँदै घर घडेरीमा बिक्री गर्नेहरूले धान दिवस मनाए भन्दा फरक पर्दैन।

कृषि क्षेत्रमा सरकारले गर्ने गरेको लगानी समेत अझै किसानले नपाएको गुनासो राष्ट्रिय कृषक समूह महासंघ उदयपुरका अध्यक्ष सोम दनुवारले गरे। ‘किसानको नामा राज्यबाट विनियोजित बजेट पनि अझै व्यवसायिक किसानले पाउन सकेका छैनन्,’ उनले भने, ‘किसानका अधिकारमा रहेर सहजीकरण गर्न थालेको चारवर्ष जति भयो। राज्य पुर्नसंरचना हुनुभन्दा अगाडि धेरै थियो। अहिले स्थानीय तह भए पछि झनै भद्रगोल छ।’

घर जग्गाले घट्दै खेतीयोग्य जमिन

उदयपुरको भित्री मधेसमा कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका पर्दछन्। खेतीयोग्य जमिन पनि धेरै यिनै नगरपालिकामा पर्दछ। सडक, बत्ति, शिक्षाको बढी विकास पनि यही नगरमा भएका छन्। अहिले सहरीकरणको विकास चारै नगरपालिकामा हुँदैछ।

छिमिकी जिल्ला खोटाङ, भोजपुर, ओखलढुंगा र सोलुखम्बुबाट उदयपुर बसाई सरेर आउनेको संख्या पनि उच्च छ। त्रियुगा नगरपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख खड्गबहादुर खड्काले भने, ‘साविकको जिल्ला विकास समितिमा हुँदाको तथ्यांक हेर्दा सवैभन्दा बढी कटारी, त्रियुगा वा अहिलेका चार नगरपालिकामा धेरै बसाई सरेर आउने पाइन्थ्यो। यिनै क्षेत्रमा घर जग्गा कारोवार समेत बढेको थियो,' अहिले यति बसाइँ सरेर आए भन्ने सक्ने अवस्था छैन। अहिले त्यस्ता तथ्या‌ंक चारैतिर छरिएका छन्।

दुई वर्ष अघिसम्म दैनिक ३० वटासम्म गाइघाटकै घडेरी बिक्री हुने गर्दथे। जग्गा व्यावसायी अर्जुन धमलाले भने, ‘घर जग्गाले उयदयपुरमा धेरै खेतीयोग्य जमिन घटाएको छ।’ जिल्ला कृषि विकास कार्यालयका प्रमुख सरोजकान्त अधिकारीले घर जग्गा कारोवार सरकारले पछिल्लो समय रोकेपछि उदयपुरमा पनि खेतीयोग्य जग्गा प्लटिङ हुन छाडेको बताए। ‘२०६० सालबाट २०७३ सम्म कति खेतीयोग्य जमिन घट्यो। त्यो तथ्यांक हामीसँग छैन,’ उनले भने, ‘उदयपुरको पनि धेरै घटेको छ।' 

स्थानीय सरकारले भू-नीति बनाउन जरुरी

सरकारले भूमि र भूमिस्राेतको संरक्षण, उचित उपयोग र प्रभावकारी व्यवस्थापन गर्ने भन्दै भू उपयोग नीति, २०६९ ल्यायो। अनि घर जग्गा कारोबार पनि त्यही वेलाबाट घट्दै गएको जिल्ला मालपोत कार्यालय उदयपुरका प्रमुख नवराज खड्काले बताए। ‘मुख्य गरी २०६९ सालबाट खेतीयोग्य प्लटिङ हुन कम भएको हो,’ उनले भने, ‘पछि २०७२ जारी भएपछि झनै कमी भयो।’

सरकारले देशभरको जमीनलाई विभिन्न उपयोग क्षेत्रमा वर्गीकरण गर्न २०५७ सालमा राष्ट्रिय भू-उपयोग आयोजना सञ्चालनमा ल्याएको थियो। प्राप्त जानकारी अनुसार २०५७ सालभन्दा अघि पनि भू-उपयोग नीतिको कुरा उद्ठै आएको थियो। भू-उपयोग नीतिले जमिनहरूलाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी, खनिज, निर्माण सामग्री उत्खनन् लगायतका क्षेत्रमा वर्गीकरण गरेको छ। त्यसैगरी अवका दिनमा स्थानीय सरकारले पनि भू-उपयोग नीति ल्याउनुपर्ने कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। 

‘अन्य स्थानीय सरकारले के गर्छ थाहा छैन,’ उनले भने, ‘कटारी नगरपालिकाकाले पनि भू-उपभोग नीति बनाउने तयारीमा गरेको छ। अव भू-उपयोग नीति नल्याए भोलिका दिनमा अन्न फल्ने खेतमा घर बन्छन्। खाद्यन्न संकट नआउला भन्न सकिन्न।’ उनले धेरै अधिकार स्थानीय सरकारको काँधमा आएको भन्दै केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी प्रभावकारी भू-नीति अावश्यक रहेको औल्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.