|

सुनसरी : सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सुनसरीमा रहेका सरकारी संचार गृहको अनुगमन गरेका छन्। मन्त्री बास्कोटाले शुक्रबार दिउँसो इटहरीस्थित नेपाल टेलिकम कार्यालयको स्थलगत निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा मन्त्री बाँस्कोटाले नेपाल टेलिकमका कर्मचारीलार्इ चुस्त दुरुस्त सेवाप्रवाह गर्न निर्देशन दिए। उनले सेवाग्राहीको विश्वास जित्नुपर्नेमा जोड दिँदै टेलिकमका कर्मचारीहरूलार्इ जिम्मेवार भएर काम गर्नसमेत आग्रह गरे। सरकारी मातहतका टिम्वर कर्पोरेशन, जनकपुर चुरोट कारखाना, भृकुटी कागज उद्योग, बाँसवारी छालाजुत्ता कारखाना, हेटौँडा कपडा उद्योग अहिले धरायसी भएको उदाहरण दिँदै मन्त्री बाँस्कोटाले टेलिकमले पनि आफूलाई त्यस्तो हुनबाट जोगाउनुपर्नेमा ध्यानाकर्षण गराए।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीलाई उच्च प्रविधियुक्त बनाउँदै आम सेवाग्राहीप्रति उच्च र विश्वासनीय सेवा दिन नेपाल टेलिकम लागी परेको बताइन्। निर्देशक राजभण्डारीले कर्मचारीले समेत उच्च मनोवलसहित काम गर्ने वातावरण सिर्जना गर्न हरसम्भव प्रयास गरिरहेको जिकिर गरिन्।   

शुक्रबार दिउँसो नै मन्त्री बाँस्कोटाले इटहरी उपमहानगरपालिका-७ मा निर्माणाधिन नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण केन्द्र भवनको पनि स्थलगत अवलोकन गरेका छन्। अनुगमनका क्रममा उनले भवन निर्माणका क्रममा कुनै कमजोरी नगर्न र भएमा सुधार गर्न पनि निर्देशन दिए।

मन्त्री बाँस्कोटाले शुक्रबार नै रेडियो नेपालको धरान तीनकुनेमा रहेको प्रसारण केन्द्र, जिल्ला हुलाक कार्यालय र नेपाल टेलिकम कार्यालयको पनि स्थलगत अवलोकन गर्न भ्याए।     

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.