|

 गोरखा : लगातारको वर्षाले गोरखाको मनासलु पदमार्ग जाने बाटो अवरुद्ध भएको छ। केही दिन यताको लगातारको वर्षाले मनासलु जाने बाटोमा पहिरो खस्न थालेको स्थानीयले जनाएका छन्। 

‘पानी धेरै पर्‍यो’ चुम्तेतका छिरिङ पुञ्जोले भने, ‘तल्लो भागमा आर्मीले खनेको सडकमा पनि पहिरो खसेर आउने जाने बाटो नै छैन। हिड्दा हिँड्दै पनि ढुंगा खसिरहेको छ। छल्दै हिँड्नुपर्ने छ। माथिल्लो क्षेत्रमा यसै बाटो साँघुरो जमिन भाँसिएर बाटो हराएको छ।’अर्का स्थानीय सूर्य घलेका अनुसार सोतीदेखि जगतसम्मको पदमार्ग बिभिन्न ठाउँमा अबरुद्ध भएको छ। ‘माछाखोला वरिपरि नै १०/१२ ठाउँमा पहिरो खसेर बाटो थुनिएको छ,' घलेले भने, ‘माछाखोला र खानीबेशीको बीचमा दुई ठाउँमा ठूलोठूलो पहिरो खसेको छ।

माछाखोलादेखि माथि तातोपानीसम्म पनि तीन ठाउँमा ठूलो पहिरो खसेको छ।’ खोर्लाबेँशीमा रहेको उकालो सिँढी बाटो गण्डकीमा खरिसकेको उनले बताए। ‘तातोपानीदेखि खानीवेँशीसम्म धेरै नै गाह्रो भएको छ’, उनले भने, ‘धेरै ठूलो ढुङ्गा खसेको छ। रुख सहितै पहिरो खसेर बाटो छेकिएको छ।’ नवनिर्मित सडकमा धेरै ठूलोठूलो ढुङ्गा खसेर आवतजावत अबरुद्ध भएको घलेले बताए। बाटो खसेर बुढीगण्डकीमा पुगेको स्थानीयको भनाई छ। 

पदमार्गको पहिरोले गर्दा जिल्लाको धार्चे गाउँपालिकाको गुम्दा, उहिया र चुमनुब्री गाउँपालिकाको केरौंजा, सिर्दिबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामागाउँका स्थानीय बासिन्दाहरू सदरमुकाम तथा अन्य शहरी क्षेत्रमा जानआउन सास्ती खेप्न बाध्य छन्। जिल्लाको चुमनुब्री गाउँपालिका भने अहिलेसम्म सडक सञ्जालले नछोएको गाउँपालिका हो। त्यहाँका स्थानीयहरूले चाैँरी र खच्चडलाई बोकाएर खाद्यन्न ढुवानी लैजाने गर्छन्। पदमार्गमा पहिरो खसेका कारण खच्चड समेत ल्याउन लैजान समस्या भएको घलेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.