|

विचार र बोधबीच अन्तर नै विज्ञान र अध्यात्मबीचको अन्तरको कारण हो।

विज्ञान र अध्यात्म दुवैको उद्देश्य एउटै हो– सत्य खोजेर मानव जीवनलाई सुखमय बनाउनु तर बाटाहरू फरक छन्। सत्य खोज्ने आधारहरू फरक छन्। धरातलहरू फरक छन्। अझ भनौँ, विज्ञान र अध्यात्मले एकै ठाउँमा पुग्न ठ्याक्कै विपरीत तरिका अपनाएका छन्। सत्य खोज्ने यात्राको प्रस्थान विन्दुबाटै पृथकता सुरु हुन्छ। 
विज्ञानले सत्यलाई बाहिरी जगतमा खोज्छ। हाम्रो आँखाले देखेका वा आँखाले देख्न नसक्ने सम्पूर्ण भौतिक जगत विज्ञानको क्षेत्र हो। अध्यात्मले सत्यको उजागर स्वयंको शरीरभित्रको जगतलाई हेरेर गर्छ, जुन भौतिक आँखाले देख्न सकिँदैन।

आँखाले देख्न नसक्ने चिजलाई विज्ञानले विश्वास गर्दैन। अध्यात्मले देखिने भन्दा नदेखिने चिजलाई धेरै महत्त्व दिन्छ। सत्य खोज्ने क्रममा विज्ञानले सिंगो वस्तुलाई ससाना भागमा विभाजन गरेर हेर्छ। विश्व ब्रह्माण्डको अध्ययन गर्न विज्ञानले वस्तुहरूलाई इलेक्ट्रोन, प्रोटोन, मोलिक्युल वा एटममा विभाजन गर्छ तर यसको विपरीत अध्यात्मले विभाजन गर्दैन। सिंगो विश्व ब्रह्माण्डलाई एक विशाल एकाई देख्छ। सत्यलाई बोध गर्न उसले सम्पूर्ण जगतलाई केवल कसमोस ऊर्जाको एक विशाल समुद्र देख्छ, जहाँ कुनै प्रकारको विभाजन हुँदैन।

हुनत दुवैको उद्देश्य एउटै हो तर विज्ञानले संसारलाई अझ बढी हिंसापूर्ण बनाउँदै छ। संसारलाई अझ बढी कष्टदायी बनाउँदै छ। यसको ठीक विपरीत अध्यात्मले मानिसको जीवनलाई शान्तिपूर्ण र खुसीमय बनाउँछ। विज्ञान र अध्यात्ममा किन छ त यत्रो भिन्नता? विज्ञानले संसारलाई सुखसयलका यतिविघ्न भौतिक सुविधा उपलब्ध गराउँदा गराउँदै पनि किन विज्ञानले आज युद्व रोक्न सकेको छैन? संसारलाई शान्तिमय बनाउने सन्दर्भमा किन विज्ञान लाचार छ त? यो लेखमा यही कुराको चर्चा गरिएको छ।

विचारले विभाजन गर्छ, बोधले जोड्छ 

विज्ञानको जननी विचार हो। अध्यात्मिक उपलब्धि बोधबाट मात्र सम्भव हुन्छ। विचार र बोधबीच अन्तर नै विज्ञान र अध्यात्मबीचको अन्तरको कारण हो। 
तपाईंको एक प्रकारको विचार छ। यो पंक्तिकारको अर्कै प्रकारको। अनि अरू कुनै तेस्रो व्यक्तिको विचार विलकुलै फरक हुन्छ। विश्वमा जति मानिस छन्, ती हरेकका विचार फरक फरक छन्। शारीरिक रूपमा मानिस मानिसमा खासै भिन्नता छैन तर मानिस मानिसका विचारहरूका बीचमा आकाश–जमिनको फरक हुन्छ। 

विचारका जननी स्मृति र अनुभव हुन्। तपाईंको स्मृति र अनुभवको शृंखला एक प्रकारको छ। यो पंक्तिकारको अर्कै प्रकारको र अर्को तेस्रो व्यक्तिको अझै अर्कै प्रकारको। हरेक मानिसको आफ्नै शरीरसँगको स्मृति र अनुभव फरक छ। हामी सबैको आआफ्नै शरीर छ। हरेकसँग साथी संगतिसँगका समाजिक स्मृति र अनुभव छन्। हामी सबैका साथीसंगतिको जमात पनि फरक फरक छ। त्यस्तै, व्यावसायिक स्मृति र अनुभव छन्। हामी सबैका व्यवसाय पनि फरक फरक छन्। अनि हामी हरेकसँग राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा भएका युद्वहरू, हिंसाका घटनाहरू वा अन्य वैज्ञानिक उपलब्धिका कुराहरू वा अन्य चासो लागेका घटनाहरूका स्मृति र अनुभवहरू पनि छन्। यसको सन्दर्भमा पनि हामी आफूलाई चासो लागेका घटनाहरूलाई मात्र महत्त्व दिन्छौँ। 

हामीले स्मृति गर्दा र अनुभूत गर्ने सन्दर्भमा पनि हाम्रो मस्तिष्कले केही कुरामा निकै चासो राखेको हुन्छ र धेरै कुराहरूलाई बिर्सिएको हुन्छ। यसरी हाम्रा स्मृतिहरू फरक फरक मात्र नभए आंशिक पनि छन्। विचार कहिले पनि पूर्ण हुँदैन किनकि विचारका जननी स्मृति र अनुभवहरू नै अांशिक छन्। त्यसैले एकै चिजको अवलोकन गर्दा हामीले फरक फरक देख्ने गरेका हौँ। त्यसैले धेरै कुरामा हाम्रो मत बाझिने गरेको हो। 

सत्यलाई खोज्ने सन्दर्भमा विज्ञानले सम्पूर्णलाई खण्डखण्ड पारेर आंशिकताको अध्ययन गर्ने गरेको छ। तर अध्यात्मको मत छ, आंशिकताको अध्ययनबाट सम्पूर्णलाई बुझ्न सक्दै सकिँदैन। सत्य केवल पूर्णतामा छ। आंशिकतामा केवल भ्रम छ। विज्ञानमा आंशिक सत्य छ र त ऊ वास्तविक सत्यबाट धेरै टाढा छ। उदाहरणका लागि, विज्ञानले मानिसको अध्ययन गर्दा टाउकोको, हातको, खुट्टाको, छातीको, त्यस्तै, मांसपेसी, हड्डी वा छाला अनि रक्तसंचार प्रणाली, स्वासप्रस्वास प्रणाली, स्नायु प्रणाली आदि भनेर गर्छ। के यी सबै कुरा एकै ठाउँमा राखिदिँदैमा मानिस बन्न सक्छ? अहँ, सक्दैन। 

मानिस केवल अंगहरूको संश्लेषण होइन। मानिस शरीरसँगै विचार, भाव, चेतना वा आत्माको संयुक्त रूप हो। के विज्ञानले मानव शरीरलाई टुक्राटुक्रामा विभाजन गरेर विचार, भाव, चेतना वा आत्माको अध्ययन गर्न सक्छ? अनि विचार, भाव, चेतना वा आत्माका अस्तित्व सम्पूर्ण मानिसमा छन्, अंगअंगमा विभाजन गरिएको मासुको थुप्रोमा कहाँ छ? 

हो, जब विभाजन गरिन्छ, सत्य विलय भएर जान्छ। किनकि सत्य विभाजनमा हुँदैन। सत्य त संश्लेषण वा संयोजनमा हुन्छ। कुनै पनि विभाजनको सूत्रले के फूलबाट सुवासलाई हटाउन सम्भव हुन्छ? के मुटुलाई भावबाट छुटाउन सकिन्छ? के चेतनालाई मस्तिष्कबाट हटाउन सकिन्छ? जब फूलबाट सुवासलाई हटाइन्छ, त्यसपछि फूल फूल रहन्न। त्यो जीवन्त हुँदैन, मृत हुन्छ। त्यसैले विभाजन गर्ने विज्ञानले जीवन होइन, मृत्यु दिन सक्छ। शान्ति र सुख होइन, हिंसा दिन सक्छ। 

विचारले विभाजन पैदा गर्छ। जहाँ विभाजन हुन्छ, त्यहाँ द्वन्द्व अनिवार्य हुन्छ। जहाँ फरक फरक मत हुन्छ, त्यहीँ पक्ष विपक्ष हुन्छ। विचारले केवल आंशिक सत्यको उजागर गर्छ तर विचारको खेती गर्नेहरूमा आंशिक सत्यलाई सम्पूर्ण सत्य हो भन्ने भ्रम पार्छ, जसका कारण द्वन्द्व अनिवार्य हुन्छ। 

कुनै वस्तुका बारेमा विचार गरिन्छ भने विचार गर्ने मानिस र विचार गरिएको वस्तु दुई भिन्न चिज भए। हामीले नेपाली राजनीतिका बारेमा विचार गर्छौं तर आफ्नै शरीरको बारेमा हामीमा विचार आउँदैन। किनकि हाम्रो शरीर र हामीबीच विभाजन छैन। आफ्नै शरीरको बारेमा विचार गर्ने हो भने त्यो बेला हामी र हाम्रो शरीर एक नभएर दुईवटा भिन्नै कुरा हुन जान्छन्। संगीतलाई जीवन संझनेले संगीतका बारेमा विचार गरेको हुँदैन, त्यस्तो अवसरमा स्रष्टा स्वयं नै संगीत हो। हामीले जगतको बारेमा विचार गर्छौं र त जगत र हामीबीच विभाजन पैदा भई ‘म’ भन्ने अहं जन्मिएको हो। अनि सबै प्रकारको दुःखको स्रोत त्यही अहं अर्थात ‘म’ भाव हो।

भाषा : विचारलाई खुराक, बोधलाई बाधा 

विचारको भाषासँग पनि गहिरो सम्बन्ध छ। भाषाको आविष्कारसँगै विचार विकसित हुँदै गएको हो। यदि भाषा नभइदिएको भए शब्दहरू हुने थिएनन्। शब्द नभएको भए कुनै पनि कुराको मूल्यांकन हुने थिएन। अवधारणहरू हुने थिएनन्। हामीले गर्ने विचारको कडी त्यही मूल्यांकन र अवधारणहरू नै हुन्। राम्रो र नराम्रो, दुःख र सुख भन्ने मूल्यांकन नहुने हो भने दुःख सम्भव छैन। सत्य सबैले उस्तै देख्नुपर्छ। निजात्मक अवधारणाहरू नभए सत्य छर्लंग भएर आउँछ। वास्तवमा आधुनिक विज्ञानको बीजारोपण त्यही बेला भएको थियो, जुन बेला मानिसले भाषा सिक्न थाले, शब्द सिक्न थाले। आज सत्य र हामीबीच शब्द छ, विचार छ। 

जब तपाईं अझै बोध गर्दै जानुहुनेछ, एउटा समय आउनेछ, तब तपाईंले विश्व ब्रह्माण्डलाई केवल ऊर्जाको सागर देख्नुहुनेछ, जहाँ कोही प्राणी वा वस्तुको तटस्थ अस्तित्व सम्भव देखिँदैन। ‘म’ भन्ने चिजको अस्तित्व हुँदैन। अनि जब ‘म’ विलय भएर जान्छ भने ‘म’लाई लाग्ने दुःख, तनाव, कष्ट पनि आफैँ विलाएर जान्छन्, किनकि भोग्ने ‘म’ नै छैन। 

त्यसैले आज बोधपूर्ण प्रेम गर्ने मानिसहरू पाउन मुस्किल छ तर शब्दमा मानिसहरूले प्रेमको व्याख्या खुब गरेका छन्। हजारौँले गरेका छन्। त्यसैले संसारभर प्रेमका गीत लेखिएका हुन्। पे्रमका साहित्य सिर्जना गरिएका हुन्। एउटा बोधपूर्ण प्रेमीलाई प्रेमको व्याख्या गर्न दिएमा भने उसले व्याख्या गर्नै सक्दैन। तर प्रेमको प्रसंगले उसको आभालाई उज्यालो बनाउन सक्छ वा उसको आँखा रसाउन सक्छ। किनकि बोध गरिएको कुरा शब्दमा ब्याख्या गरिनु सम्भव छैन। न त शब्द मात्र बुझ्ने मानिसले बोध गरिएको चिजलाई सुनेर बुझ्न सक्छन्। किनकि जहाँ बोध गरिन्छ, त्यहँँ शब्द विलय भएर जान्छ। 

विचार शब्दमा आधारित भएकै कारण उसले स्पष्टता खोज्छ। सबै चिज पछाडि तार्किकता खोज्छ। विचारले सबै चिजको स्पष्ट ब्याख्या खोज्छ। त्यसैले वैज्ञानिकहरूले सबै चिजलाई परिभाषा दिने गरेका छन्। विचारवादीहरूले प्रेमलाई व्याख्या गर्छन्। करुणालाई व्याख्या गर्छन्। जीवनलाई व्याख्या गर्छन्। मृत्युलाई व्याख्या गर्छन्। आत्मालाई व्याख्या गर्छन्। निर्वाणलाई पनि व्याख्या गर्छन्। भगवानलाई पनि व्याख्या गर्छन् तर बोध गर्न सक्दैनन्। विचार नै सीमित भएको पृष्ठभूमिमा कुनै कुराको व्याख्या गरिँदा त्यसको सीमा निर्धारण हुन्छ। निर्धारित हुनु भनेकै विभाजन हो। त्यसैले अहिलेको विचारवादी समाजले भगवानलाई विभाजित गरेको छ। 

जब कुनै कुराको व्याख्या गरिन्छ, मैले जानेको छु भन्ने विश्वास बढ्छ। म ज्ञाता हुँ भन्ने भाव पैदा गर्छ। म ज्ञाता हुँ भन्ने भावले अहं जगाउँछ। जब कुनै कुराको बारेमा स्पष्टताका साथ जानेको छु भन्ने भाव पैदा हुन्छ, चिजहरूले मोहनी लगाउन छोड्छन्। जीवनलाई बुझेँ, जगतलाई बुझेँ भन्ने भ्रममा परेकालाई न त जीवन आनन्ददायी हुन्छ, न जगत नै आकर्षक हुन्छ। तिनले जानेका हरेक चिज नै तिनलाई बोझिला हुन्छन्। त्यसैले जति वैचारिक ज्ञान बढ्दै जान्छ, मानिसमा तनावको पारो पनि बढ्दै जान्छ। तर अध्यात्मले तर्क खोज्दैन, व्याख्या गर्दैन, स्पष्टता खोज्दैन। अध्यात्म रहस्यमा रमाउँछ। अनि जति रहस्यमा भिज्दै गयो, उति संसार अझ रहस्यमय लाग्छ। नयाँ लाग्छ। मानिसलाई अबोध बनाउँछ। अब त जीवन र जगत जस्तो ठूला आयाममा मात्रै होइन, कुकुरले भुक्नुमा पनि जादू छ। फूल फुल्नुमा पनि आश्चर्य छ। जहाँ आश्चर्य छ, त्यहाँ खुसी छ। आनन्द छ। मोहनी छ। जादू छ। 

हृदय बोधको केन्द्र हो

एकातिर जब तपाईं कुनै वस्तुका बारेमा विचार गर्नुहुन्छ, तपाईं र त्यो वस्तुबीच दूरी बढ्न गई विभाजन पैदा हुन्छ भने अर्कोतिर बोधले बोधकर्ता र बोध गरिएको वस्तुलाई एकाकार बनाउँछ। विचारको सन्दर्भमा मस्तिष्क केन्द्र हो तर बोधको सन्दर्भमा हृदय केन्द्र हो। 

जब हामी कसैलाई हातले छोएर महसुस गर्छौं, छोइएको व्यक्तिको छालाको अवस्थाका बारेमा मात्र जानकारी पाउँछौँ। त्यो जानकारी उक्त व्यक्तिको पूर्ण जानकारी होइन। त्यस्तै, जब हामी सोही व्यक्तिलाई हेर्छौं, तब त्यो व्यक्तिको रूप रङको बारेमा मात्र जानकारी पाउँछौँ। जब हामी उसका बारेमा सोच्छौँ, तब पनि आंशिक जानकारी मात्र पाउँछौँ, किनकि हाम्रो हात आंशिक हो। आँखा आंशिक हुन्। मस्तिष्क पनि आंशिक हो। आंशिक चिजको सहाराले सम्पूर्ण जानकारी पाउन सम्भव हुँदैन। 

तर हृदयको सन्दर्भ अलिक भिन्न छ। किनकि हृदय शरीरको अंश नभई केन्द्र हो। मानिसले फेर्ने स्वासको केन्द्र हृदय हो। त्यसैले जीवनको केन्द्र हो हृदय। भौतिक शरीरको पनि केन्द्र हो। मानिसमा भएका सबै प्रकारको संवेदनाको केन्द्र पनि हृदय हो। स्वास नै मानिसको आन्तरिक जगत र बाहिरी जगतलाई जोड्ने सेतु पनि हो। त्यसैले हृदय मान्छेको समग्र अस्तित्वको केन्द्र हो। त्यसैले हृदयले गर्ने बोधको सन्दर्भमा आंशिकताको बोध सम्भव हुँदैन। बोध केवल सम्पूर्णको हुन्छ। सम्पूर्णले मात्र सम्पूर्णको बोध गर्न सम्भव हुन्छ। 

जब तपाईं हृदयले कसैलाई बोध गर्नुहुन्छ, तब तपाईं र त्यो मानिसबीचको दूरी हट्दै जान्छ तर एक क्षण यस्तो आउँछ, तपाईं द्रष्टाबाट दृश्य बन्नुहुनेछ र दृश्यबाट द्रष्टा बन्नुहुनेछ। द्रष्टा, दृश्य र हेर्ने काम एकै बन्नेछ। त्यसमा कुनै विभाजन हुनेछैन। अब तपाईं र त्यो मानिस दुई जना नभएर एकै चिजको दुई विपरीत धु्रव हुनुहुनेछ र यस्तो अवस्थामा सत्य द्रष्टा र दृश्यबीचमा छ। यहाँ हेर्ने कर्मले द्रष्टा र दृश्यलाई जोडेको छ। जसरी जैविक ऊर्जाले तपाईंका सबै अंगहरूलाई जोडेर एक बनाएको छ, अब त्यसरी नै कसमोस ऊर्जाले द्रष्टा र दृश्यलाई एक बनाएको द्रष्टाले बोध गर्छ। 

केही समय अगाडि उसको शरीरभित्र छिरेको ऊर्जा अहिले तपाईंका लागि प्राण हो र केही समय अगाडि तपाईंको शरीरभित्र छिरेको ऊर्जा उसका लागि अहिले प्राण हो। अनि जब तपाईं अझै बोध गर्दै जानुहुनेछ, एउटा समय आउनेछ, तब तपाईंले विश्व ब्रह्माण्डलाई केवल ऊर्जाको सागर देख्नुहुनेछ, जहाँ कोही प्राणी वा वस्तुको तटस्थ अस्तित्व सम्भव देखिँदैन। ‘म’ भन्ने चिजको अस्तित्व हुँदैन। अनि जब ‘म’ विलय भएर जान्छ भने ‘म’लाई लाग्ने दुःख, तनाव, कष्ट पनि आफैँ विलाएर जान्छन्, किनकि भोग्ने ‘म’ नै छैन। 

विचार भोग्नुमा रमाउँछ, बोधले तथस्ट बनाउँछ 

यदि हामी आफ्नो दुःखको बारेमा विचार गर्छौं भने दुःख बढ्दै जान्छ, किनकि विचारले भोग्नुमा जोड दिन्छ। त्यसैले विज्ञानले आविष्कार गरेका सबै चिजहरूले सुखसयल भोग्नुमा जोड दिएका छन्। अन्य कुराको बोध, जस्तै : दुःखको सन्दर्भ पनि उस्तै हो। यदि दुःखलाई हृदय बोध गर्दै गयौँ भने पनि परिणाम अन्य चिजको बोधको जस्तै आउँछ। बोधको सन्दर्भमा दुःख र सुखलाई बोध गर्नु एकै कुरा हो, किनकि बोधमा भोगाइ विलाएर जान्छ। बोधले तटस्थताका साथ हेर्न सिकाउँछ। तटस्थता भएर हेर्दा सुख र दुःख एकै हो अनि तटस्थ भावले हेर्दै जाँदा सुख वा दुःखसँग एकाकार हुने हो। एकाकार भएपछि तपाईं स्वयं नै दुःख हो। तपाईं स्वयं नै सुख। त्यहाँ भोग्ने कोही हुँदैन।  

मिरर न्यूरोन : विज्ञानमा बोधको चर्चा

द्रष्टा र दृश्य एकै हुने सन्दर्भमा विज्ञानले केही चर्चा गरेको छ। हाम्रो मस्तिष्कमा एक प्रकारको स्नायु तन्तु हुन्छ, जसले आफू र अरूमा कुनै फरक छुट्याउनै सक्दैन। जब तपाईंको मस्तिष्कलाई अलिक बढी प्रभाव पार्ने खालको कुनै दुर्घटना, उत्सव वा अरू कुनै दृश्य हेर्नुहुन्छ, तपाईंको मस्तिष्कको एक भाग, जसलाई ‘मिरर न्यूरोन’ भनिन्छ, सक्रिय भएको अवस्थामा तपाईंले सम्बन्धित घटना वा अवस्थामा आफैँमाथि घटेको महसुस गर्नुहुन्छ। जस्तै : यदि तपाईंले एक जना मानिसले अर्कोलाई कुट्दै गरेको देख्नुभयो भने, यदि तपाईंलाई कुटाइ खानेप्रति सहानुभूति जागेको अवस्थामा त्यो कुटाइ खाइरहेको मानिस र तपाईंको मस्तिष्कको उस्तै भागहरू सक्रिय भइरहेको हुन्छ। अनि यदि तपाईं कुट्ने मानिसको पक्षमा हुनुहुन्छ भनेचाहिँ कुट्ने मानिस र तपाईंको मस्तिष्कका उस्तै भागहरू सक्रिय भएका हुन्छन्। 

विचारको महत्त्व, भौतिक उपलब्धि

यो पंक्तिकारको तात्पर्य विचारलाई गलत भन्नु होइन। विज्ञानलाई गलत भन्नु हँुदै होइन। आज मानव जातिले पाएको असीमित उपलब्धिको कारण विचार नै हो। आज भएका वैज्ञानिक उपलब्धिहरू कुनै महाचमत्कारभन्दा कम छैनन्। मानव जातिलाई यतिविघ्न उपलब्धि गराएको विचार आफैँ नराम्रो कसरी हुन सक्छ? विज्ञान नराम्रो कसरी हुन सक्छ? बाहिरी जगतको विकासको सन्दर्भमा विचार र विज्ञान अपरिहार्य छन्। भौतिक उपलब्धिका सन्दर्भमा बोध र अध्यात्म बाधक बन्न सक्छन् तर व्यक्तिको मस्तिष्कको रूपान्तरणका सन्दर्भमा बोध र अध्यात्म अहं छ। मस्तिष्कलाई शान्त बनाउने सन्दर्भमा विचार र विज्ञान बाधक बन्छन् तर बोधद्वारा मस्तिष्क रूपान्तरण भइसकेपश्चात् भने मानिसले आवश्यकताअनुसार  मस्तिष्क वा हृदय प्रयोग गर्न सक्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.