|

काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) देशकै जेठो अस्पताल भनेर चिनिएको केन्द्रीय अस्पताल पनि हो। यस प्रतिष्ठानअन्तर्गत रहेको वीर अस्पतालमा हाल ३७० बेडमार्फत् बिरामीले सेवा लिइरहेका छन्। त्यति नै शैक्षिक कार्यक्रमहरू पनि संचालनमा आइरहेका छन् यहाँ। विपन्न नागरिकको अस्पताल भनेर चिनिएको वीर अस्पतालमा बिरामीको चाप सधैँ हुने गर्छ। सीमित क्षमताका कारण यस अस्पतालबाट बिरामीले सहज रूपमा सेवा पाउन नसकेको भन्ने सधैँ गुनासो आउँछ। 

यसै सन्दर्भमा अस्पतालको हालको अवस्थाको बारेमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. गणेश गुरुङसँग थाहाखबरकर्मी सविना खनालले गरेको कुराकानी प्रस्तुत छ।

तपाईंको कार्यकाल सकिन लागेको छ, आफ्नो कार्यकालमा वीर अस्पतालमा केके सुधार ल्याउनुभयो?

मेरो कार्यकाल सकिन अब लगभग डेढ महिना बाँकी छ। मैले जिम्मेवारी सम्हाल्दा वीर अस्पतालको अवस्था एकदम नाजुक थियो। मेरो कार्यकालको सुरुवातदेखि हेर्ने हो भने सबैभन्दा पहिले आर्थिक उन्नति, अस्पतालको सेवा सुविधा र शैक्षिक गतिविधिको विस्तारको कोणबाट हेर्नुपर्छ। म आउनुभन्दा पहिले यस अस्पतालको आर्थिक अवस्था एकदम जर्जर थियो। अस्पातल वार्षिक १२/ १३ करोड रुपैयाँ ऋणमा थियो। तर अहिले हामी वार्षिक ३४/ ३५ करोड रुपैयाँ बढी कमाउन सक्ने भएका छौँ।

यस्तै, अस्पतालको सेवामा म आउँदा अस्पतालमा सिटी स्क्यान, एमआरआई मेसिन थिएनन् तर अहिले हामीले यी दुवै ल्याएका छौँ। प्याथोलोजीमा जेनेटिक सर्भिस सुरु गरेका छौँ। अस्पतालमा न्यूरो, डेण्टल तथा युरोलोजीको उपचारका लागि चाहिने अत्याधुनिक उपकरणहरू ल्याएका छौँ। अस्पतालमा अहिले १२८ स्लाइसको सिटी स्क्यान मेसिन आएको छ। १.५ टेस्लाको एमआरआई मेसिन छ। न्युरो, युरो, हेपाटोलोजी, क्यान्सर, नाक, कान, घाँटी, छाला सबै विभागमा आधुनिक उपकरण आएका छन्। अस्पतालको टिकट काउन्टरको विस्तार गरेका छौँ भने मेरो कार्यकालको अर्को ठूलो उपलब्धि भनेको ट्रमा सेन्टरबाट सेवा सुरु गराउनु पनि हो। अस्पतालमा २४ घन्टै डायलाइसिस सेवा संचालन गरेका छौँ।

वीर अस्पतालमा बिरामीले बेड पाउँदैनन् भन्ने धेरै गुनासो आउँछ नि?

यो गुनासो स्वाभाविकै हो। अहिलेको वीर अस्पतालको संरचना भनेको २०३५ सालको संरचना हो। त्यसबेलाको संरचनाले हाल अस्पतालमा आउने बिरामीको जनघनत्वको आधारमा अस्पतालको बेड पुग्दैन। अस्पतालमा आउने बिरामी संख्या बढेको छ तर संरचना बढाउन सकेका छैनौँ, जसले गर्दा बिरामीको चाहनाअनुसार सेवा दिन सकिरहेका छैनौँ। हाल हामीसँग बिरामीको चापअनुसार बेड, वार्ड तथा अपरेसन थिएटर कम छन्। त्यही कारणले गर्दा बिरामीको गुनासो बढ्नु स्वाभाविकै हो। यही गुनासोलाई समाधान गर्नकै लागि हामीले ६५० वार्ड, १०० वेडको विशेषज्ञ वार्डको भवन बनाउने गुरुओजना अघि बढेको छ।

वीर अस्पतालमा उपकरण खरिद गर्दा धेरै अनियमिता हुन्छ भनिन्छ नि, किन?

देशमा विशेषज्ञ चिकित्सक तथा चिकित्सकहरूको आवश्यकताअनुसार स्नातकोत्तर तहको पढाइ विस्तार गरेका छौँ। हाल स्नातकोत्तर तहको पढाइ नेपालगंज, विराटनगर, वीरगंज र भरतपुर अस्पतालमा सुरु भइसकेको छ। आगामी वर्ष त्यहाँ पनि कार्यक्रम निरन्तरता हुनेछ।

हामी ऐन नियमले बाँधिएर काम गर्छौं। हामीले सार्वजनिक खरिद ऐनभन्दा बाहिर गएर कुनै काम गर्दैनौँ। सार्वजनिक खरिद ऐनअनुसार नै उपकरण खरिद गर्दा टेन्डर गर्दा कसले टेन्डर पाउँछ/पाउँदैन भन्ने हाम्रो सरोकार हुँदैन। हामीले नियमसम्मत छ किन छैन भनेर मात्र हेर्छौं तर जसले टेन्डर पाउँदैनन्, उनीहरूले विरोध गर्ने, मुद्दा हाल्ने गर्छन्। हाम्रो संस्था सरकारी संस्था हो, जसले गर्दा यहाँ हामीले गर्ने काम एकदम खुला हुन्छ। यहाँ सरकारका जुनसुकै नियमनकारी निकायहरू तथा नागरिकहरू आएर हेर्न सक्छन्।

भक्तपुरमा वीर अस्पतालको विस्तार गर्ने गुरुयोजना कहाँ पुग्यो?

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको भक्तपुरमा गरिन लागेको विस्तारित सेवा ठूलो योजना हो। करिव ५२० रोपनीमा बन्न लागेको योजना हो यो। त्यहाँ हजारभन्दा बढी बेडको अस्पताल बन्छ भने एउटा विश्वविद्यालय नै हुन्छ। यसले गर्दा त्यहाँ एउटा मेडिकल सिटी नै बन्छ। यसले गर्दा यो ठूलो गुरुयोजना हो। हाल त्यहाँको जग्गा आफ्नो बनाउने कार्य पूरा भएको छ।

त्यस्तै, अहिले नेपाल सरकारको रातो किताबमा भक्तपुरमा वीर अस्पतालको विस्तार गर्ने भनेर उल्लेख गरिएको छ। आगामी वर्षमा त्यसैले त्यहाँ संरचना बन्नुभन्दा पनि मास्टर्स प्लान तथा डिपिआर बनाउने र त्यहाँको ५२० रोपनी जग्गालाई पर्खाल लगाउने काम हुन्छ।

मेडिकल शिक्षाको क्षेत्रमा न्याम्सले के गर्दै छ?

एक त हामीले पहिलादेखि कै शैक्षिक कार्यक्रमलाई निरन्तरता दिएका छौँ भने अर्कोतर्फ नयाँ शैक्षिक कार्यक्रम विस्तार गर्दै लगेका छौँ। देशमा विशेषज्ञ चिकित्सक तथा चिकित्सकहरूको आवश्यकताअनुसार स्नातकोत्तर तहको पढाइ विस्तार गरेका छौँ। हाल स्नातकोत्तर तहको पढाइ नेपालगंज, विराटनगर, वीरगंज र भरतपुर अस्पतालमा सुरु भइसकेको छ। आगामी वर्ष त्यहाँ पनि कार्यक्रम निरन्तरता हुनेछ।

यस्तै, आवश्यक जनशक्ति, जस्तै : मिडवाइफरी नर्सिङ, आँखाको अप्टोमेट्रिमा ब्याचलर तहको कार्यक्रम संचालान गरिएको छ। बिएस्सी नर्सिङ संचालनको आवश्यक तयारी पूरा भएको छ भने नर्सिङमा मास्टर्सको पढाइ पनि संचालन गरेका छौँ। रेडियोलोजीका कार्यक्रम पनि विस्तार गर्न लागिएको छ। मास्टर्सपछिको फेलोसिप कार्यक्रम पनि संचालन गरेका छौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.