|

धनकुटा : आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि महालक्ष्मी नगरपालिका धनकुटाले ५३ करोड तीन लाख ५७ हजारको बजेट पारित गरेको छ। नगरपालिकाको कार्यालय जितपुरमा सम्पन्न दोस्रो नगर भेलाले विभिन्न ५ शीर्षकमा खर्च गर्ने गरी उक्त बजेट पारित गरेको नगर प्रमुख पर्शु नेपालले जानकारी दिए।

नगरपालिकाले चालुतर्फ ३२ करोड १६ लाख २२ हजार र पुँजीगततर्फ २० करोड ८७ लाख ३५ हजार रुपैयाँ बरावरको बजेट प्रस्तुत गरिएकाे छ। नगरले आर्थिक विकासतर्फ एक करोड ५५ लाख ८५ हजार, सामाजिक विकासमा २५ करोड ३८ लाख ८१ हजार, पूर्वाधार विकासमा १७ करोड ४६ लाख ४७ हजार बजेट बिनियोजन गरेको छ। त्यस्तै वातावरण तथा पूर्वाधार विकासमा ७६ लाख ७ हजार र संस्थागत तथा सेवा प्रवाहमा ७ करोड ५६ लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

नगरको बजेट आन्तरिक आयबाट दुई करोड, केन्द्र र प्रदेश सरकारको बित्तीय समानिकरण अनुदानबाट क्रमशः अाठ करोड ५० लाख र ३३ लाख २१ हजार समावेश रहेको छ। त्यस्तै राजश्व बाँडफाँडबाट छ करोड २५ लाख ९४ हजार, सवारी करवापत प्रदेश सरकारबाट ५३ लाख ४२ हजार रुपैयाँ समावेश गरेको छ।

जनसहभातिगाबाट ६ लाख केन्द्रीय सरकार र प्रदेश सरकारबाट क्रमशः सशर्त अनुदान १९ करोड २० लाख र पाँच करोड समावेश गरिएको छ। त्यस्तै सामाजिक सुरक्षा भत्ताको चार करोड, निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट दुई करोड र संघ र प्रदेशको समपुरक अनुदानबाट दुई करोड समावेश गरिएको छ। संघ र प्रदेशको विशेष अनुदानबाट तीन करोड र एल.जि.सि.डि.पी बाट १५ लाख रुपैयाँ बजेटको स्राेतमा समावेश गरिएको नगर प्रमुख नेपालले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.