जग्गा अधिग्रहण प्रक्रियामा छौँ : नगर प्रमुख गुप्ता

|

रौतहट : एेतिहासिक गौर राइस मिल राैतहटको जमिनको विवाद अहिले चरम उत्कर्षमा पुगेको छ। गौर राइस आयल एण्ड फलार मिल्स नेपालको नाममा रहेको जमिन गौरबासीको सम्पति भएको भन्दै विगत १० दिनदेखि गौरवासी धर्नामा बसिरहेका छन्। सदरमुकाम गौर नगरपालिकामा रहेको राइस मिलको जमिन बेचबिखनविरुद्ध स्थानीय धर्नामा बसेका हुन्। 

सो जमिन बिक्रीका लागी चलखेल बढेको भन्दै स्थानीयवासी धर्नामा बसेको स्थानीय पुष्पराज यादवले बताए। ‘गौरकै अस्तित्वमा रहेको राइस मिलको जमिन कुनै हालतमा बिक्री हुन दिँदैनौँ,’ उनले भने, ‘यसका लागि ज्यानै दिन तयार छौँ। सरकारले अधिग्रहण गर्नुपर्छ।’ बेचबिखनविरुद्धको संघर्ष समितिले गत आइतबारदेखि नगरपालिकाअगाडि धर्ना सुरु गरेको हो। धर्नामा दलका प्रतिनिधि, स्थानीय उद्यमी, व्यवसायी, खेलाडी, स्थानीय युवा,सञ्चारकर्मी र स्थानीयवासी पनि सहभागी छन्।

राइस मिल कम्पनी सदस्यसचिव बैकुण्ठ पौडेलले सर्वोच्च अदालतबाट नियमानुसार रसिद काट्न आदेश भएको भन्दै पत्र लिएर गौर नगरपालिका आएपछि स्थानीयवासी आन्दोलित भएका हुन्। संघर्ष समितिले असार ७ गते गौरमा विरोध जुलुस निकालेको थियो। गौरको मुटुमा रहेको राइस मिलको जमिन बिक्री गर्न लागेको भन्दै प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई ज्ञापनपत्र बुझाएका थिए।

त्यसैगरी सर्घष समितिले प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबुलाई पनि ज्ञापनपत्र बुझाइएको थियो। यता गौर राइस मिलका कम्पनी सचिब बैकुण्ठ पौडेलले सेयरधनीको जमिन भएको भन्दै बिक्री गर्न पाउनुपर्ने दाबी गर्दै आएका छन्। सर्वोच्च भन्दामाथि कोही नभएकोले अदालतको आदेशअनुसार कम्पनीले जमिनको तिरो तिर्न पाउनुपर्ने सचिव पौडेलले बताए। 

चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गदै सचिव पौडेलले भने, ‘गौर नगरपालिकाले सर्वोच्च अदालतको आदेशलाई समेत अवहेलना गरेको छ। फेरि म अदालत नै जान्छु,’ पौडेलले भने, ‘यो कस्तो अन्याय हो? आफ्नो जमिनको समेत तिरो तिर्न नपाउनु? जमिन गौर राइस मिलको भएकोले कम्पनीको नियमअनुसार जमिन बिक्री वितरण गर्न पाउनुपर्छ।’

सर्वोच्च अदालत,उच्च अदालत,अख्तियार दुरुपयोग अनुसन्धान आयोग सबैले सो जमिन गौर राइस मिलकै भएको परिपत्र गरिसकेको समेत उनले बताए। हाललाई खेलकुद मैदानको रूपमा रहेको उक्त जमिनको क्षेत्रफल ५ बिघा १९ कठा ५ धुर रहेको छ। यदि गौरवासीले सो जमिन बिक्री वितरण गर्न दिएमा सो गौरको खेलकुद विकासका लागि गौर आसपासमा कम्पनीले ३ बिघा जमिन खरिद गरी सहयोग गर्नेसमेत कम्पनी सचिव पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। यसैबीच गौर नगरपालिकाका नगर प्रमुख अजयकुमार गुप्ताले गौर राइस मिलको जमिन नगरपालिकाले अधिकरण गर्ने बताएका छन्। 

गौरमा केही दिन पहिला गरेको पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराएका हुन्। गौरको मुटुमा रहेको जमिन गौरवासीकै बनाउनको लागि नगरपालिकाले अधिकरणको लागि आर्थिक सहयोग जुटाउँदै गरेको नगर प्रमुख गुप्ताले बताए। अधिग्रहण प्रक्रियापछि नगरपालिकाले मुआब्जा निर्धारण समितिमा फाइल पठाइएको थियो । 

समितिका संयोजक प्रमुख जिल्ला अधिकारी तोकिएको थियो। समितिले २०७२ वैशाख २४ गते जमिनको मुआब्जाको रकम १३ करोड ५३ लाख ८२ हजार ६९७ तोकिएको नगरपालिका प्रमुख गुप्ताले बताए। मुआब्जाको रकमपछि रजिस्ट्रेसन पास गर्न मन्त्रालयसित ५४ लाख १५ हजार ३०७ रुपैयाँ माग गरेको प्रमुख गुप्ताले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए। ‘हामीले रकम निकासाका लागि पहल गरेका छौं,’ उनले भने, ‘यो जमिन अधिग्रहणपछि विधिवत खेल मैदानका रूपम विकास गर्छौं।’ नगरपालिकाले मुआब्जा र रजिस्ट्रेसन पासका लागि १४ करोड ७ लाख ९८ हजार रकम माग गरेकोे छ।

यस मिलका अधिकांश सेयर सदस्यको मृत्यु भइसकेकाले आधिकारिकता झमेला हुँदै आएको छ। भारतको बजाजग्रुप र नेपालीको संयुक्त लगानीमा २००३ सालमा मिल स्थापना भएको हो। यो ३० वर्षसम्म सञ्चालनमा आएको थियो। विभिन्न कारणले २०३३ सालमा मिल बन्द भएको हो। मिलमा १०० भन्दा बढी नेपाली र भारतीय सेयर सदस्य थिए।

जो जमिन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले उक्त जमिन बिक्री गर्न नदिन भूमिसुधार मन्त्रालयबाट रोक्का गराएका थिए। तर गौर राइस मिलले सर्वोच्चमा मुद्दा दायर गरेपछि सो रोक्का खारेज गरेको थियो। उक्त मुद्दा कम्पनीले नै जितेको सचिव पौडेलले बताए। यसलाई खेलमैदानका रूपमा अधिग्रहण गर्नुपर्ने माग राख्दै विगत ६ वर्षदेखि स्थानीयले आन्दोलन गर्दै आएका छन्। यसैबीच सो जमिन बिक्री वितरणका लागि कम्पनीले २०६७ सालमा टेण्डर आह्‍वान गरेको थियो। सो टेण्डर वीरगञ्‍जको सेण्डिगेट हाउजिङ कम्पनीले हात पारेको थियो। सो कम्पनीका अध्यक्ष हाल वीरगञ्‍ज उपमहानगरपालिकाका नगर प्रमुख विजय सराबगी हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.