|

पर्वत : लगातारको वर्षापछि आएको पहिरोका कारण कालीगण्डकी करिडोर अन्तर्गत बागलुङ खण्डको सडक बिग्रिँदा एक सातादेखि यातायात अवरुद्ध छ। करिडोर निर्माणको क्रममा एक्साभेटर प्रयोग गर्दा थर्किएको भूभागमा पहिरो खसेको हो।

पहिरो खस्दा पैदलयात्रीका  पुराना पैदल मार्ग पुरिएका छन् भने नयाँ ट्रयाकमा हिँड्नै नसकिने भएको छ। दुई वर्षअघि नेपाली सेनाले ट्रयाक खोलेको करिडोरमा गत हिउँददेखि बागलुङदेखि पाल्पाको बाटो हुँदै बुटवलसम्म नियमित जिप र बस चल्न थालेका थिए। मुग्लिङको तुलनामा झण्डै आधाले छोटो भएको कालीगण्डकी करिडोर अवरुद्ध भएपछि दक्षिण बागलुङका बासिन्दा घुमाउरो लामो बाटोबाट हिँड्न बाध्य भएका छन्। 

बागलुङको बेलबगरका स्थानीय होटल व्यवसायी हिरा पौडेलका अनुसार करिडोर खण्ड अन्तरगत छिस्ती, जैदी, अर्जेवा, बिनामारे, कुश्मीसेरा, अमलाचौर र पैयुँपाटाका दर्जनौँ स्थानमा पहिरो खसेको छ। करिडोर खन्ने क्रममा अधिकांश पैदल मार्गहरू पुरिएकाले स्थानीयले गाईबस्तु निकाल्ने बाटो समेत पाएका छैनन्। करिडोरलाई आधार बनाएर ग्रामीण क्षेत्रमा जाने अधिकांश सवारी रोकिएका छन्।

दक्षिण बागलुङका हरेक वडामा ग्रामीण सडक छन्। ती गाउँ पुग्ने सवारीले पनि करिडोरको प्रयोग गर्दै आएका थिए। सडक खण्डअन्तर्गत छिस्ती, जैदी र बिनामारेका भीरमा सबैभन्दा धेरै जोखिम देखिएको छ। ठूला पहरा पनिखसेकाले सजिलै पन्छाउन नसकिने अवस्था छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.