|

बैतडी : पाटन नगरपालिकाले आगामी आर्थिक वर्षदेखि नगर शिक्षकको व्यवस्था गर्ने भएको छ।आगामी आर्थिक वर्षका लागि पारित गरेको नगरपालिकाको नीति तथा कार्यक्रममा नगर शिक्षकको व्यवस्था गर्ने नीति लिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले बताए। 

आगामी आर्थिक वर्षलाई शैक्षिक गुणस्तर सुधारको आधार वर्ष मनाइने पनि पाटन नगरपालिकाले पारित गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर कमजोर भइरहेकाले शिक्षाा क्षेत्रमा विशेष जोड दिएका नगरप्रमुख केशवबहादुर चन्दले बताए। शैक्षिक गुणस्तर अभिवृद्धि मापनका लागि प्रत्येक दुई दुइ महिनामा परीक्षा सञ्चालन गर्ने नगरपालिकाले नीति लिएको नगर उपप्रमुख सरस्वती कोलीले बताए। यस्तै नगरपालिकाले कृषि,स्वास्थ्य, स्वरोजगारमा बढी जोड दिएको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले बताए।

नगरपालिकाले पारित गरेको नीति तथा कार्यक्रममा आधारित रहेर बजेट ल्याउने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत रबीन अधिकारीले बताए।

दुई/दुई महिनामा परीक्षा

शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले बैतडीको पाटन नगरपालिका भित्रका विद्यालयहरूमा हरेक २/२ महिनामा परीक्षा गरिने भएको छ। नगरकार्यपालिकाको निर्णय अनुसार पछिल्लो समय शिक्षाको गुणस्तर घट्दै गएकोले२/२ महिनाको अन्तरालमा परीक्षा सञ्चालन गरी त्यसको नतिजा नगरपालिकामा बुझाउनुपर्ने नियम नगरपालिकाले लगाएको छ। 

पाटन नगरपालिकाले नगरपालिका भित्रका सबै विद्यालयका प्रधानाध्याक तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरूसँग सयुक्त छलफल गरी यस्तो निर्णय गरिएको नगरपालिकाका प्रबक्ता लोकबहादुर भण्डारीले जानकारी दिए। उनले भने ‘हरेक दुई महिनामा विद्यार्थीको परीक्षा गरिने छ र वार्षिक परीक्षा नगरपालिकाले गर्नेछ।’ 

कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको प्रश्नपत्र निर्माण गर्ने, परीक्षा सञ्चालन तथा अनुगमन, उत्तरपुस्तिका जाँच्ने तथा नतिजा सार्वजनिक गर्ने लगायतका सबै काम नगरपालिकाले नै गर्ने उनले बताए। यसरी नगरपालिका भित्रका उत्कृष्ट विद्यालय, नमूना विद्यालय र उत्कृष्ट विद्यार्थी छनोटका लागि सजिलो विश्वास गरिएको छ।पाटन नगरपालिकाले शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.