|

पर्वत : कुश्मा पर्वतका रामचन्द्र शर्मा आफ्नाे गाडी लिएर पोखरासम्म जानको लागि बिहानै ६ बजेबाट घरबाट निस्किए। ८ बजे पोखरा पुग्नुपर्ने रफ्तारमा रहेका उनी दिउँसो २ बजे मात्र पोखरा पुगे। कारण थियो मध्यअसारमा निर्माण भइरहेको मध्यपहाडी लोकमार्गको निर्माण कार्य। 

लोकमार्गअन्तर्गत पर्वतको दोबिल्लामा जाममा परेका पोखराबाट बागलुङका लागि छुटेको जीपका सवारीचालक राजेश श्रेष्ठ पनि गुनासो गर्दै दिए। ‘बिहान नौबजे नयाँ पुलमा आएको थिएँ। अहिले दुई बज्यो बल्ल दोबिल्ला आइपुगेको छु।’

जबकि नयाँपुलबाट दोबिल्लाको दूरी आधा घण्टाको हो। अहिले पोखरा बागलुङ लोकमार्गलाई मध्यपहाडी लोकमार्गको रूपमा विकास गरेर बाटो खन्ने,पुर्नेे, नाली निर्माण गर्ने र भीर काट्ने कामहरू भइरहेका छन्। मध्यअसारमा बाटो निर्माण भइरहेका कारण सवारी आवगमनमा चरम समस्या देखिएको छ। सडक निर्माणअन्तर्गत पर्वत खण्डको ठेक्का लिएको लामा कन्सट्रक्सनले दैनिक ७ घण्टा पर्वत खण्डमा बाटो बन्द गराएर काम गरिरहेको छ भने पर्वतको सिमानामा पर्ने कास्कीको नयाँपुल नजिकै ढावामा रहेको भीर कटानको कारण नसोचेको समयमा अनिश्चित समयका लागि बाटो बन्द हुने गरेको छ। 

निर्माण कम्पनीले पर्वत खण्डमा डिमुवा नजिकैको मौरीभिरदेखि कुश्मा नजिकैको खरेहा गेटसम्म बिहान १० देखि १२, १ देखि ४ बजे र ६ बजेदेखि राति ८ बजेसम्म दैनिक ७ घण्टा बन्द गर्दै आएको छ। जसका कारण कास्की- नयाँपुल-बागलुङबाट आएका सवारी साधन कुश्मामा रोकिने गरेका छन्। पर्वतमा केही घण्टासम्म प्रतिक्षा गरेर बल्लतल्ल पार भएका सवारीलाई कास्कीको गिरीचोकनजिकै ढावा नेरको साँघुरो सडकले अर्को तनाव दिएको छ। लोकमार्गकै साँघुरो स्थानमा तल-माथि दुवैतिर भीर अनि त्यही भीर कटानका क्रममा माथिबाट झरिरहने पहिरोले बाटो अवरुद्ध हुने गरेको छ।

साँघुरो ठाउँमा एकतर्फी रुपमा पनि बल्ल-बल्ल सवारी पास हुने गरेको ठाउँमा झनै लेदो माटोका कारण दैनिक अनिश्चित रुपमा बाटो अबरुद्ध हुने गरेको छ।घण्टौंसम्म पहिरोको जाम फेरि त्यहाँबाट पास भएपछि पर्वतमा सात घण्टाको बाटो बन्दका कारण यात्रीलाई चरम सास्ती भएको छ। बाटो बिस्तारका लागि माथिसम्म काटिएको भीरमा नै जाम पर्दा माथिबाट पटकपटक खसिरहने पहिरोले सवारी पहिरोमा पर्न सक्ने उच्च जोखिम पनि छ। यता लोकमार्गको कास्की खण्डमा काम गरिरहेको कम्पनी एपेक्स कन्सट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर काशीराज बोहराले अबको एक हप्तामा भीर कटानको काम सकिने र यातायातका साधन संचालनमा सहज हुने बताए। 

पर्वत खण्डमा बन्द हुँदा कास्कीमा समस्या

मध्यपहाडी लोकमार्गमा पर्ने पर्वत खण्डमा सडक बन्द गर्दा कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको गिरीचोक नजिक सडक बन्द गर्न भने समस्या भएको छ।पर्वत खण्डमा बन्द खुलेर पुग्ने सवारी साधनहरूका कारण उही समय तालिकामा सडक बन्द गर्न समस्या भएको निर्माण कम्पनी एपेक्स कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर बोहराले जानकारी दिए। 

कम्पनीले दुई महिनादेखि सडक बन्द गरेर उक्त खण्डमा सडक फराकिलो बनाउने काम गर्दै आएको थियो। बिहान ७ बजेदेखि ८ : ३० सम्म, ९: ३० देखि १०:३० सम्म, दिउँसो १२: ३० देखि २ बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म सडक बन्द गर्दै आएको थियो। उक्त सडक फराकिलो बनाउन गिरीचोक नजिकको पहरोमा अब एक हप्तामा काम सकिने बोहराले बताए। उनले भने, ‘लामा कन्ट्रक्सनसँग समन्वय गरेर काम गरिनेछ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.