|

काठमाडौं : आइतबार साँझ प्रहरीले नागढुंगाबाट छ किलो अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका- ५ का तेन्जिङ तामाङ रहेका छन्। उनले रसुवाको केरुङ नाका हुँदै अवैध सुन काठमाडौं भित्र्याउँदै गर्दा नागढुंगा प्रहरीले पक्राउ गरेका हो।

मोटरसाइकलमा सवार तामाङले सुन रुमालले बेरेर कम्मरमा बाँधेर ल्याएका थिए। महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरीक्षक केशव भट्ट नेतृत्वको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनलाई उक्त सुनसहित पक्राउ गरेको हो।

तामाङले रसुवा नाकाबाट काठमाडौंको स्वयम्भूसम्म सुन बोक्ने जिम्मा लिएका थिए। सुन बोकेवापत उनले ५० हजार रुपैयाँ लिने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए। उनीसँग चाइनिज मोबाइल नम्बरसमेत भएको पोखरेलको भनाइ छ। 

यसअघि शनिबार पनि नागढुंगा प्रहरीले तीन किलो सुनसहित पाँच जना भरतीय नागरिकलाई पक्राउ गरेको थियो। शनिबार बरामद भएको तीन किलो सुन र तस्कर सार्वजनिक गरेको केही घण्टामै नागढुंगा प्रहरीले फेरि तस्करीको छ किलो सुन बरामद गरेको हो।

परिसरका प्रमुख एसएपी विश्वराज पोखरेलका अनुसार विशेष सूचनाको आधारमा मोटरसाइक चालक तेन्जिङ तामाङले ल्याएको छ किलो सुन र यसअघि शनिबार भारतीय नम्बर प्लेटको गाडीमा सुन लुकाएर तस्कर हुने गरेको सूचना पाएपछि चेकजाँच गर्दा दुई दिनमा नौ किलो अवैध सुन बरामद भएको जानकारी दिए।

‘सुन तस्करीमाथि थप अनुसन्धान भइरहेको छ, केही गाडीमा अझै सुन भएको सूचना पाएका पाएका छौँ। यसमाथि थप खानतालासी जारी राखेका छौँ’, उनले भने।

सुन तस्करीका नयाँ शैली

माघ ९ गते भएको ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको चर्चा सेलाएको छैन र अझै सुन तस्करीको धन्दा पनि रोकिएको छैन। तस्करले नयाँनयाँ शैली अपनाउँदै सुन तस्करी गरिरहेको प्रहरीको भनाइ छ।

बैशाख ९ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो सुनको झोला (लिक्विड गोल्ड) बरामद गरेको थियो। त्यस्तै, अवैध तरिकाले सुनका गरगहाना बनाएर तस्कर हुने गरेको छ। सुनका बिस्कुट भन्दा अन्य उपाय प्रयोग गरेर सुन तस्करी गर्दा सजिलो हुने भएकाले तस्करले नयाँ शैली अपनाउन खोजेको प्रहरीको भनाइ छ।

फागुनयता उपत्यकाबाट २२ किलो बढी सुन बरामद

तस्करीको ३३ किलो सुन हराएपछि भएको सनम शाक्यको हत्या भयो र त्यसको छानविन गर्न समिति नै गठन भएको छ। गत चैत ३० गते मन्त्रिपरिषद्को बैठकले संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ अनुसार गृह मन्त्रालयका सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा छानविन समिति गठन गरेको हो।

हाल समितिले ३३ किलो सुन तस्करीदेखि नेपालमा अहिलेसम्म हुने गरेका सुन तस्करी तथा सनम शाक्य हत्याबारे छानबिन गरिरहेको छ। समितिले सुन तस्करी प्रकरणमा अहिलेसम्म ६५ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ। तीमध्ये ३२ जना पक्राउपछि पुर्पक्षका लागि जेल चलानसमेत भइसकेका छन्।

तर अझै सुन तस्करी भने रोकिएको छैन। चैत महिनायता मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र उपत्यकाका विभिन्न ठाउँबाट गरी प्रहरीले २२ किलो ९७३ ग्राम अवैध सुन बरामद गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.