|

काठमाडौं : फिल्म क्षेत्रमा स्थापित भइसकेको नाम हो, अनुपविक्रम शाही। सुन्दर रूप, अग्लो कद, मिलेको शरीर उनको परिचय हो। उनलाई फिल्म क्षेत्रमा 'ह्याण्डसम हङ्क' उपमा पनि दिइएको छ। उनले हिरो तथा भिलेन दुवै रोल निर्वाह गर्छन् तर उनलाई धेरैले ह्याण्डसम भिलेनका रूपमा चिन्ने गर्छन्।  

यसरी पलायो फिल्म खेल्ने इच्छा

मोडलिङ क्षेत्रमा अनुपको नाम स्थापित भइसकेको थियो तर फिल्म खेल्ने इच्छा सधैँ मनमा थियो। फिल्म खेल्ने मन भइरहेका उनलाई 'नाम खुलाउन नमिल्ने' एक फिल्मबाट अफर आयो। उनले उक्त फिल्ममा साइन पनि गरे तर पछि उनी त्यो फिल्मबाट निकालिए। अनुप सम्झिन्छन्, 'पहिला फिल्म खेलाउँछु भनेर साइन गराए, पछि हटाए।'   

उनमा त्यो इख गड्यो। उनलाई अब कुनै पनि हालतमा फिल्म खेल्छु भन्ने सोच आयो। उनी भन्छन्, 'फिल्मबाट निकालिएपछि ममा इख जाग्यो तर म कुनै मिडिया पर्सनको मान्छे थिइनँ। त्यसैले सुरुवाती दिनमा गाह्रो भयो।'

सानो फिल्मबाट करिअर

उनले सानोसानो फिल्मबाट आफ्नो अभिनययात्रा सुरु गरे। उनले सुरुवाती दिनमा अभिनय गरेका फिल्महरू कति रिलिज भए, कति रिलिज नै भएनन्। 'मैले गरेको पहिलो फिल्म त रिलिज नै भएन', उनी भन्छन्, 'त्यो फिल्म त अझै भित्तामा नै छ।' उनले रिलिज नभएको उक्त फिल्मबाट चालीस हजार रुपैयाँ पारिश्रमिक लिएका थिए। उनले 'मेरो माया तिमीलाई', 'द्रव्य' फिल्ममा पनि काम गरेका छन्।

उनले फिल्म 'सौर्य'मा पनि काम गरेका छन्। यस फिल्ममा उनले राजेश हमाल, सौगात मल्ललगायतसँग स्क्रिन शेयर गर्न पाएका थिए। सौर्य फिल्मका लागि निर्माता सुरेन्द्र गुरुङ 'हाकिम'ले उनलाई अफर गरेका थिए। 'हाकिम दाइले म एउटा फिल्म बनाउँदै छु, खेल्नुपर्यो भन्नुभएको थियो', उनी सम्झिन्छन्, 'मैले सक्दिनँ होला भन्दाभन्दै उहाँले फोर्स गरेर सौर्यमा काम गरेको थिएँ।'

करिअरको माइलस्टोन 'हँसिया'

अनुपलाई दर्शकमाझ चिनाउने फिल्म बन्यो- 'हँसिया।' हसियामा उनले खलपात्रको भूमिका निर्वाह गरेका थिए। उनलाई धेरैले उक्त पात्रमा रुचाइदिए। उनको प्रशंसा पनि उत्तिकै भयो।

अनुप हँसियालाई आफ्नो करिअरको माइलस्टोन मान्छन्। भन्छन्, 'हँसिया मेरो करिअरको माइलस्टोन हो। उक्त फिल्मपश्चात मैले खाली हात बस्नुपरेको छैन।'

अनुप अभिनित 'ठमेल डट कम', 'वीर विक्रम', 'हाउ फन्नी', 'किङ', 'कृ', 'लिलिबिली'लगायत फिल्म रिलिज भइसकेका छन् भने आधा दर्जन फिल्म रिलिजको तयारीमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.