गोरखा : दुई नगरपालिका र नौ गाउँपालिका भएको गोरखामा उत्तरको चुमनुब्री गाउँपालिका वाहेक सवैमा ग्रामीण सडक सञ्जालले छोएको छ। सडक पुगेका स्थानीय तहहरूमा पुग्न अहिले धौधौ छ। वर्षा सुरु भएदेखि ग्रामीण क्षेत्रमा जाने सडक हिलाम्मे भएको छ।
सदरमुकाम हुँदै जिल्लाको आरुघाट,भच्चेक, तीनमाने हुँदै फुजेल, बारपाक लगायतका ग्रामीण सडकको अहिले विजोग छ। गाउँ जाने साँघुरा सडक, पानी र पहिरोले ठाउँ ठाउँ विग्रेको र हिलाम्मै भएकोले यात्रा उत्तिकै जोखिमपूर्ण छ। जिल्लाको अधिकांश ग्रामीण सडकमा ठूला बस चल्न छोडेको महिनौँ भइसकेको छ। अहिले गाउँ जानका लागि जिप मात्र तयार छन्।
जिप लैजान पनि यात्रुले ठाउँठाउँमा जिपलाई तान्ने धकेल्नु परेको यात्रुहरूबताउँछन्। ‘हिँड्न सकिँदैन’ गोरखाको भच्चेक हुँदै लम्जुङको दूधपोखरी जान हिँडेका हिरामान गुरुङले भने, ‘मनमा डर भए पनि जीपमै जान लागेको। बाटोमा विग्रेको छ। हिलोले आधा गाडी पुरिएला जस्तो हुन्छ। गाडीमा हुनेहरूले गाडी हल्लाउने, धकेल्ने, ठाउँ ठाउँमा माटो ढुंगा हाल्ने अनि लैजाने गरेर आउने जाने गर्नु परेको छ।’ भच्चेक सडकको केही भाग कालोपत्रे समेत भइसक्नुपर्ने भए पनि अहिलेसम्म हिलाम्यै छ।
आरुघाट जान हिँडेका गिरीबहादुर लामिछानेले सडक बिग्रनुमा स्थानीय सरकार, ठेकेदार र गाउँका टाठाबाठा मान्छेलाई दोष लगाए। ‘अहिले त स्थानीय सरकार आएको छ सबै समस्या विस्तारै गर्दै समाधान होला भनेको कहाँ हुनु’ उनले भने, ‘ठेकेदार सकेसम्म ठग्ने। काम कमसल गर्ने। अनि सडक खन्दा गाउँका जान्ने बुझ्नेहरूले आफ्नो जग्गा पनि नजाने तर,आफ्नाे जग्गा भने छुने गरेर प्राविधिक सल्लाहविना डोजर अपरेटरले सडक खनेकोले यस्तो भयो। पहिले आरुघाट साडे दुई घण्टामा पुगिन्थ्यो। अहिले त के कुरा गर्नु ? चारघण्टा भन्दा धेरै लाग्छ।’
आरुघाट सडकको केही खण्ड मध्ये पहाडी लोकमार्गको खण्ड छ। सो खण्डमा कालोपत्रे गरिसक्नु पर्ने भए पनि अहिलेसम्म कालोपत्रे हुन सकेको छैन। गाउँ-गाउँमा सडकको पहुँच पुर्याउने होडबाजीका साथ निर्माण भएका सडकहरू न त प्राविधिक रुपमा मापदण्ड पूरा गरेका छन् न त स्तरीय नै। तर पनि ग्रामीण तथा कृषि सडकका नामले सडक बिस्तार गर्ने काम रोकिएको छैन। मापदण्ड पूरा गर्दै स्तरीय सडक निर्माण गर्नुको सट्टा गाउँमा बाटो पुर्याउने प्रतिस्पर्धा हुँदा जनता जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनु परेको यात्रुहरू बताउँछन्।
‘सडकमा पानी जम्ने र सडक भत्किएर खाल्टा खुल्टी बनेको छ’ सौरपानीका विष्णु पनेरुले भने, ‘सडकको विजोग अवस्थाले गन्तव्यमा नै नपुगिएला कि भन्ने डर हुन्छ।’ बर्खायाम सुरु हुने वित्तिकै प्रायजसो ग्रामीण सडकका भाडादर पनि बढ्ने गरेको छ। बस नचलेपछि जीपहरूले १२ किलोदेखि भच्चेक क्षेत्रमा चिप्लेटी, नयाँगाउँ, धारपानी, भच्चेक जहाँ जाने भए पनि प्रतिव्यत्ति एकहजार रुपैयाँ भाडा लिने गर्छन्।
हिलाम्मे बाटोले उत्तरी क्षेत्रमा जाने यात्रु मात्र होइन। नगरभित्र बसोबास गर्नेहरू पनि आर्जित छन्। सडकनजिक घर हुनेहरू हिलो र धुलोको पीडामा बस्नु परेको छ। वर्षेनी मर्मतमा खर्च हुने गर्छ। तर सडकको अवस्था विजोग हुने गरेको छ। प्राविधिक दृष्टिकोणले ट्रयाक खोल्नै नमिल्ने ठाउँमा समेत जथाभावी ट्रयाक खोल्नाले गाउँमा दुर्घटना हुने गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।