|

काठमाडौं : निर्वाचनमा ‘अनपेक्षित’ नतिजा आएपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले त्यसको दोष पार्टी सभापति शेरबहादुर देउवालाई दिँदै आएका छन्। गुटगत राजनीतिले थला परेको कांग्रेसमा पराजयसँगै झनै गुट/उपगुट सक्रिय भएका छन्।

सभापति पक्षका नेताहरू हारको जिम्मा सबैले आआफ्नै ठाउँबाट लिनुपर्ने बताउँछन् भने सभापतिइतर पक्षका नेताहरू सभापतिकै कारण कांग्रेस पराजय भएको धारणा राख्दै आएका छन्। पार्टीका युवा नेताहरूले त अब बुढा नेताले विश्राम लिनुपर्नेसमेत बताउँदै आएका छन्।

खासगरी पार्टी संसदमा प्रमुख प्रतिपक्षीको भूमिकामा रहे पनि सशक्त रूपमा प्रस्तुत हुन नसकेको आरोप लाग्ने गरेको छ। संसदमा दुई तिहाई सदस्य समर्थित सरकारले पेलाइमा कांग्रेस परेको विश्लेषण हुने गरेको छ।

कांग्रेसको पराजयको कारण, कांग्रेस सुधारको अबको बाटोलगायत विषयमा सभापति निकट मानिएका नेता मीन विश्वकर्मासँग थाहाखबरका चिरञ्जिबी घिमिरेले गरेको कुराकानी प्रस्तुत छ।

२०७० सालको दोस्रो संविधानसभामा पहिलो दल नेपाली कांग्रेस यस पटक दोस्रोमा खुम्चिएको छ। यसलाई कसरी विश्लेषण गर्नुहुन्छ?

कांग्रेसको अवस्था नराम्रो र कमजोर भनिहाल्ने अवस्था छैन। एउटा जनमत हुन्छ, एउटा प्रतिनिधित्व हुन्छ। जनमतलाई हेर्ने हो भने तीन पार्टी चुनावमा जाँदै गर्दा जनमतका हिसाबले कांग्रेस पहिलो पार्टी हो। कांग्रेसको विगतलाई हेर्ने हो भने पनि २०६४ सालमा तीन दल छुट्टाछुट्टै निर्वाचनमा प्रतिस्पर्धा गर्दा लगभग १९ प्रतिशत प्रत्यक्षमा र  २१ प्रतिशत समानुपातिकमा मत ल्याएका थियौँ। २०७० को निर्वाचनमा त्यसलाई बढाएर २९ प्रतिशत समानुपातिक र ३३ प्रतिशत प्रत्यक्षमा मत ल्यायौँ। पहिलो पार्टी पनि बन्यो।

अहिलेको निर्वाचनमा हामी दोस्रोमा त खुम्चियौँ, जनमत त बढेको छ नि! यस पटक ३३ प्रतिशत समानुपातिक र ३५ प्रतिशत प्रत्यक्षतर्फ मत ल्याइएका छौँ तर प्रतिनिधिको संख्या कम भयो। हाम्रो २२ प्रतिशत मात्र संसदको संख्या छ। यसको कारण हामीभन्दा दुई ठूला शक्ति तालमेल गरेपछि हामी दोस्रा भएका हौँ। यो परिणामले हारियो भन्न पनि नमिल्ने, जितियो भन्ने अवस्था पनि छैन।

कांग्रेस पराजित हुनुको कारण के हो?

कांग्रेस पराजित हुनुमा दुई कारण छन्, आन्तरिक र बाह्य। २०७२ सालमा हामीले पार्टीको महाधिवेशन गर्‍यौँ। महाधिवेशनपछि जसरी देशव्यापी रूपमा संगठन विस्तार गर्नुपर्ने हो, त्यो गर्नका लागि ध्यान गएन। हामीले संविधान जारी गरेका हौँ, अब निर्वाचन जितिहाल्छौँ, अरू पार्टीहरू फुट्छन्, हामी जुट्छौँ भन्ने भ्रमले हामीले संगठन विस्तारमा ध्यान दिएनौँ।

अर्को कारण केन्द्रीय समितिदेखि तल्लो तहसम्म राज्य पुनर्संरचनाअनुसार पार्टीको संगठन बनाउन सकेनौँ। कांग्रेसले जुनजुन राष्ट्रिय मुद्दामा नेतृत्व गरेर परिवर्तनको वाहक बन्यो, त्यो जनताको बीचमा पुर्‍याउन सकेनौँ। अर्को कुरा हाम्रो प्रतिस्पर्धी पार्टीले हुने नहुने सबै भ्रामक कुरा देशव्यापी रूपमा ल्याउँदा हामीले त्यसलाई चिर्न सकेनौँ अनि कांग्रेसले मधेसी, महिला, दलित तथा पिछडिएको क्षेत्रका उत्थानका लागि लिएको एजेण्डालाई हाम्रो हो भन्न सकेन।

बाह्य कारण त सबैलाई छर्लंग छ। हामी जनतामा आधारित पार्टी। कम्युनिस्ट संगठनमा आधारित पार्टी हो। जनतामा आधारित पार्टी चित्त नबुझ्दा छाड्छन् तर संगठनमा आधारित पार्टीमा चित्त नबुझेको थाहा हुन्छ र तुरुन्त सम्झाउन पाइन्छ। कम्युनिस्ट पार्टीको गठबन्धन र पार्टी एकता गर्छौं भन्ने उनीहरूको प्रस्तावले उनीहरूले जिते।

तर तपाईंले पार्टीको गुटको कुरा त गर्नुभएन नि!

गुट पनि हो तर गुटकै कारण हारियो भन्नु त्यति उचित हुँदैन। गुटचाहिँ उपकारण हो। गुट अहिले मात्र होइन, पहिला पनि थियो। २०५१ मा हामी गुटकै कारण हारेका हौँ। २०५६ मा पनि गुटका कारणले जति जित्नुपर्ने हो, त्यति जित्न सकिएन। २०६४ सालमा हामी एक भएका थियौँ तर गुटको प्रभाव पर्‍यो नै।

२०७० मा पनि गुटको प्रभाव पर्‍यो। टिकट पाउने र टिकट नपाउनेबीचको मतान्तर पनि एउटा कारण बन्यो। धेरैले हारको मुख्य कारण अन्तर्घात भन्दै गर्दा पनि मेरो दृष्टिकोणमा चाहिँ अन्तर्घात त्यत्रो ठूलो कारण होइन। अन्तर्घात सबै पार्टीमा हुन्छ।

पार्टीभित्रको गुट व्यवस्थापन होला?

त्यो त गर्नुपर्‍यो नि! पार्टी नेतृत्वले गुट व्यवस्थापन गर्न सकेन भने तल्लो तहका कार्यकर्ता र स्थानीय नेताका माध्यमबाट पनि गुट व्यवस्थापन हुन्छ। नेतृत्वका असन्तुष्टिका कारणले कारणले गुट चल्ने हो। त्यसलाई उचित सम्बोधन गर्न सके गुट चल्दैन तर गुट सधैँका लागि अन्त्य पनि हुँदैन।

पार्टीभित्रको गुट व्यवस्थापन गर्ने जिम्मा पार्टी सभापतिको हो। गुट व्यवस्थापन गर्न सक्नुभएन भने उहाँको कार्यकाल असफल हुन्छ। त्यस कारण सभापतिले पार्टीभित्रको गुट व्यवस्थापन गर्नै पर्छ।

लोकतान्त्रिक पार्टीको सभापति नै अलोकतान्त्रिक भएको आरोप छ नि?

सभापति बढी लोकतान्त्रिक भइदिँदा अलोकतान्त्रिक भएको जस्तो देखिएको हो। उहाँले खुरुखुरु विधानको कार्यान्वयन गर्नुभएको भए उहाँ सफल हुनुहुन्थ्यो। उहाँसँग केन्द्रीय समितिमा बहुमत छ। उहाँ संसदीय दलको नेता पनि हुनुहुन्छ। पार्टी सभापति हुँदै प्रधानमन्त्री पनि हुनुभयो उहाँ। विधान कार्यान्वयन गरेको भए उहाँजति पावरफूल मान्छे कोही हुँदैन थियो तर उहाँ विधानभन्दा पनि सहमतितर्फ लाग्नुभयो।

सबै मान्छेले कमजोरी आफू स्वीकार गर्न चाहँदैन। हामी जो जहाँ थ्यौँ, सबैले जिम्मेवारी बोकेका थियौँ- कसैले सानो त कसैले ठूलो। कांग्रेसको एउटा क्रियाशील सदस्यले आफ्नो टोल छिमेकका अरू कांग्रेस नबनाएकाले हार्‍यो, एउटा प्रदेशसभा उम्मेदवार बनेको उम्मेदवारले गतिलो प्रभाव पार्न नसक्दा हार्‍यो होला र केन्द्रीय तहमा हेर्ने हो भने पार्टीको स्पष्ट नीति र संगठन विस्तार गर्न नसकेका कारणले हार्‍यो। हारको कारण एक व्यक्ति वा एक पदाधिकारीभन्दा पनि हामी सबै हौँ।

कार्यसम्पादन समिति बनाउँदा सभापतिले छानेका मान्छे बन्थे तर उहाँले मलाई छान्न गाह्रो भयो। वरीयता क्रममा ज्येष्ठताका आधारमा १ देखि २७ नम्बरसम्म जो पर्छ, त्यही हो भन्नुभयो। त्यसमा एक जना प्रभावशाली सदस्य अट्नुभएन। नअटेपछि उहाँले विरोध गर्नुभयो। फेरि सभापतिले सहमतिकै आधारमा संख्या बढाउनुभयो।

त्यस कारण सहमतिका अधारमा ज्येष्ठता पनि रहेन। विधानका आधारमा सभापतिको अधिकार पनि रहेन। त्यहाँ बस्न चाहनेले पनि विधान मिच्नुभयो। ल्याउन चाहनेले पनि विधान मिच्नुभयो। त्यस्तै, संसदीय बोर्डमा पनि यस्तै भयो। अरू नेताले असन्तुष्टि व्यक्त गरेपछि २४ जनाको संसदीय बोर्ड गठन भयो। त्यहाँ १४ जनाको हुनुपर्ने थियो।

यदि सभापतिले आफ्नो अधिकार प्रयोग गरेर बनाएको भए विधानअनुसार नै हुन्थ्यो तर अहिले त्यसको विरोधचाहिँ त्यहीँ बसेर आफ्नो नजिककालाई टिकट दिएर भयो। कसैले हारेपछि यो कुरा आएको हो तर सभापतिले सहमति गर्न खोज्नुभएको थियो। त्यो सभापतिका हितका लागि होइन, सहमतिका लागि गर्नुभएको थियो।

युवा नेताहरूले पार्टी नेतृत्व अब युवा पुस्तालाई दिनुपर्छ भन्नुभएको छ। यो सम्भव होला?

निर्वाचन हार्दै गर्दा त्यसको प्रतिशोध साँध्न नेतृत्वलाई हटाइहाल्नुपर्छ भन्ने त हुन्छन् नै। यही बेला हटाउँ अरू बेला सकिन्न भन्ने हुन्छ तर सभापति हटेर पार्टी बलियो बन्दैन। पार्टी नेतृत्व गर्ने आधार उमेर होइन, एजेण्डा हो। हिजो गिरिजाप्रसाद कोइरालाले ८६/८७ वर्षको उमेरमा पनि सफल नेतृत्व नै गरेको भनेर हामीले भन्दै आएका छौँ।

आज पार्टी सभापति शेरबहादुर देउवा त्यति त पुग्नुभएको छैन। उहाँको उमेरका कारणले हामी हारेको होइन। उहाँले केके गर्नुपर्ने काम हो नगरेका कारण हामी हारेका हौँ। गर्न नदिने पनि त उहाँहरू नै हो नि!

कांग्रेसले हारको कारण कम्युनिस्ट भनेको छ। अब त झन् कम्युनिस्ट एक भएका छन्। अब आउने निर्वाचनमा पनि फेरि कांग्रेस पराजित होला नि त?

त्यसबेला उनीहरूका दुई शर्त थिए- अहिले गठबन्धन गर्ने र पछि पार्टी एकता गर्ने। यो कुराले कार्यकर्तामा उत्साह ल्यायो। यदि हामीले घात अन्तर्घात गर्‍यौँ भने पार्टी एकतामा असर पुर्‍याउँछ भन्ने भयो। त्यस कारण गठबन्धनलाई बलियो बनाउन पार्टी एकताको अधुरो प्रस्तावले मजबुत आधार बन्यो।

अब देशमा राजनीतिक ध्रुवीकरण सुरु भइसक्यो। हिजोसम्म हामी एमालेलाई लोकतान्त्रीकरण भइसकेको पार्टीका रूपमा हेर्थ्यौं। माओवादी सशस्त्र संघर्षबाट आएकाले सर्वहारा वर्गको प्रतिनिधित्व गर्छ भन्ने सोचेका थियौँ तर अहिलेको अवस्था विगतम एमाले पनि हिंसात्मक राजनीति रुचाउँदोरहेछ भन्ने देखियो। माओवादी पनि संशोधनवादी भए। राजनीतिक रूपमा उनीहरूको पकड अब धेरै रहँदैन।

कम्युनिस्टको सरकार आएपछि व्यवसायीहरू, साना व्यापारीहरू, कर्मचारी, विद्यार्थीहरू निराश छन्। उग्र वामपन्थीको सरकार आएपछि अब उनीहरूले राष्ट्रिय पुँजीपतिहरूलाई नियन्त्रण गर्छन्। अब लगानीको वातावरण रहँदैन, करको भार बढाउँछन्, करको दायरा बढाउँछन् भन्ने सन्देश आएको छ। यसले नेपालमा लगानी गर्न आउँछु भन्ने विदेशीलाई पनि निरुत्साहित बनाएको छ। नेपालभित्रै लगानी गरिरहेकाले पनि अब लगानीको आकार बढाउँदैनन्।

त्यस कारण यो सरकार लामो समयसम्म जनताको मनमा रहिरहँदैन। अहिले तत्काल मध्यावधि निर्वाचनमा जाने हो भने पनि यो सरकार सबै कुराले समाप्त हुन्छ।

कम्युनिस्टहरूले राष्ट्रवादकै कारण मत पाएका थिए तर प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादचाहिँ खोक्रो भयो भन्ने प्रष्टै भयो। अब राष्ट्रवादमा नम्बर आउँदैन।  जनतालाई मतको उपहार महँगी दियो। चीनबाट रेल ल्याउने भनेको छ तर रेलमा लगानी कसले गर्ने भन्ने टुंगो छैन। त्यस कारण आउने निर्वाचनमा कांग्रेसले जनताको समर्थन प्राप्त गर्छ। आउने निर्वाचन हाम्रो पक्षमा आउँछ।

यस्तै, हामीलाई हार्नुको पीडा थाहा भयो। अब हामी पार्टी संगठनलाई टोलसम्म पुर्‍याउँछौँ। सबै पिछडिएको क्षेत्रमा हामी नेपाली कांग्रेसलाई पुर्‍याउँछौँ। राष्ट्रिय मुद्दालाई संसद र सडकबाट उठाउँछौँ। अहिलेका सरकारका कमी कमजोरीलाई जतामाझ प्रष्ट हुनेगरी राख्छौँ। यिनै कारणले आउने निर्वाचनमा नेपाली कांग्रेस बहुमतसहितको पहिलो पार्टी हुन्छ।

पार्टीको हार्नुको मुख्य कारण पार्टी सभापति हो भन्ने आरोप लागिरहेको छ नि?

सबै मान्छेले कमजोरी आफू स्वीकार गर्न चाहँदैन। हामी जो जहाँ थ्यौँ, सबैले जिम्मेवारी बोकेका थियौँ- कसैले सानो त कसैले ठूलो। कांग्रेसको एउटा क्रियाशील सदस्यले आफ्नो टोल छिमेकका अरू कांग्रेस नबनाएकाले हार्‍यो, एउटा प्रदेशसभा उम्मेदवार बनेको उम्मेदवारले गतिलो प्रभाव पार्न नसक्दा हार्‍यो होला र केन्द्रीय तहमा हेर्ने हो भने पार्टीको स्पष्ट नीति र संगठन विस्तार गर्न नसकेका कारणले हार्‍यो। हारको कारण एक व्यक्ति वा एक पदाधिकारीभन्दा पनि हामी सबै हौँ।

खेलामा एउटा बाँध भत्किएका कारण मात्र बाढी गाउँमा पस्दैन। धेरै बाँध भत्किए भने खोला गाउँमा पस्ने हो। अहिले कम्युनिस्टको भेल कांग्रेसका कमजोर बाँध भत्काउँदै पस्यो।

अब कांग्रेस कसरी अघि बढ्नुपर्छ?

वैचारिक दृष्टिकोरणले कांग्रेस कहीँ अलमलिएको होला, त्यो विचारलाई निखार्दै लैजानुपर्छ। संविधानअनुसार बनेका संघीय संरचनाअनुरूप नै पार्टीको संरचना निर्माण गर्दै जानुपर्छ।

अर्को कुरा, जनताका दैनिक जीवनमा प्रभाव पार्ने विषयलाई कांग्रेसले आफ्नो मुद्दा बनाउनुपर्छ। यस्तै, समृद्धिको मुद्दा कांग्रेसको हो। यो एजेण्डाका लागि सरकारले केके गर्दै छ? सशक्त प्रतिपक्षको भूमिकाबाट खबरदारी गर्नुपर्छ। कांग्रेसले आफ्ना कुरा लिएर गाउँ, टोल हुँदै घरघरमा जानुपर्छ। त्यसरी अघि बढे कांग्रेस पुनः दह्रो पार्टी बन्न सक्छ। 

तपाईं त प्रमुख प्रतिपक्षी दलबाट संसदमा प्रतिनिधित्व गर्ने सदस्य, संसदमा चाहिँ कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका नखेलेको पार्टी नेताले नै आरोप लगाउँछन् नि?

प्रतिपक्ष भएपछि संसदमा तोडफोड गर्नै पर्छ भन्ने नेपालीमा एउटा छाप परेको छ। विगतमा त प्रतिपक्षले संसद तोडफोड गर्ने, सडकमा गाडी जलाउने, रेलिङ भाँच्ने इतिहास छ नि! तर हामी कांग्रेसले त्यो खालको उग्रवादी विरोध गर्दैनौँ। हामी सांकेतिक र सैद्धान्तिक विरोध गर्छौं। हामी कानुनबमोजिको विरोध गर्छौं।

सबै जनताले के बुझ्नुपर्छ भने कांग्रेस प्रतिपक्षमा भएका कारण सबै कुरा सुगम ढंगले चलिरहेको छ। यदि यो ठाउँमा माओवादी वा एमाले भएको भए संसदभित्र अवरोध, मेची–महाकाली चक्काजाम, नेपाल बन्द, जताततै तोडफोड हुने थियो तर हामी रचनात्मक प्रतिपक्षीको भूमिकामा रहन्छौँ। राष्ट्रिय सम्पति र संरचनामा असर पुग्ने गरी हामी विरोध गर्दैनौँ।

अन्त्यमा, सरकारको गतिविधिलाई कसरी नियाल्नुभएको छ?

यो सरकारले जसरी जनतामाझ प्रतिवद्धता गरेर बहुमत प्राप्त गर्‍यो, यी सबै बिर्सिएको छ। कहिलेकाहीँ धेरै भोकाएको मान्छे भात खाऊँ कि थाल खाऊँ हुन्छ, यो सरकार पनि त्यसरी नै अलमलिएको छ। मुख्यमुख्य प्राथमिकताका क्षेत्रमा यो सरकार अलमलिएको छ। त्यस कारण पनि जनताका बीचमा यो सरकार रहँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.