|

पर्वत : जिल्ला अस्पताल पर्वतमा रहेको शवगृह व्यवस्थित नहुँदा अस्पताल आसपासको बस्तीमा समेत दुर्गन्ध फैलिने गरेको छ। नबिग्रिने र गन्ध नआउने किसिमले शव राख्न नसक्दा सेवाग्राही तथा नजिकका बासिन्दा दुर्गन्धको मारमा परेका हुन्। 

शव व्यवस्थित गरेर राख्ने कुनै पनि पूर्वाधार अस्पतालमा छैन। घाम र पानी ओत्ने मात्र छाप्रोमा शव राखिने गरिएको छ। कतिपय शवको पहिचान हुन नहुने वा ढिलो गरी हुने कारण शवगृहमा नै शव कुहिने कारण दुर्गन्ध फैलिने गरेको हो।

‘लासको गन्ध सिधै भान्छामा आउँछ। मुखमा गाFस हालेको बेला त आन्द्रा नै फर्किएला जस्तो हुन्छ', अस्पताल छेउ घर भएका रामबहादुर नेपाली भन्छन्, 'झन् गर्मी लागेपछि त बसिसक्नु हुँदैन। बाटो हिँड्दा पनि गन्हाउँछ। कुहिएको गन्ध घरभित्रै पस्छ। बस्नै गाह्रो भएको छ।’ 

बेवारिसे अवस्थामा भेटिएका शव पहिचान र पोष्टमार्टमको लागि धेरै दिन सम्म शवगृहमा नै रहन्छन। पहिचान हुने अवस्थामा भेटीएका शव पनि शवगृहमा ल्याएपछि हाड र मासु छुट्टिने गरी सड्छन्। पहिचानै गर्न नसक्ने बन्छन्। जिल्ला अस्पताल पर्वतमा कार्यरत प्रहरी जवान पूर्णबहादुर भण्डारीका अनुसार अस्पतालमा ओपीडीमा उपचारका लागि जाने बिरामीहरु पनि दुर्गन्धले आजित छन्।

‘न औषधिको व्यवस्था छ न त फ्रिजिङ नै। फिनेल छर्केर मात्र काम गरिन्छ', भण्डारी भन्छन्,  'बेवारिसे लास भेटियो भने त झन ५\७ दिनसम्म राख्दा ल्याउँदा चिनिने लास पनि पूरै बिग्रिन्छ। धेरै लासहरुमा किरा पर्दा पनि मैले मास्क र पञ्जा लगाएर फिनेल छर्केको भरमा पोष्टमार्टममा जाने गरेको छु।’

जिल्ला अस्पतालमा शवलाई जोगाएर राख्ने चिस्यान प्रबिधि निर्माणका लागि कसैको पनि ध्यान पुग्न सकेको छैन। अस्पतालमा डीफ्रिजिङको व्यवस्था गर्न बारम्बार पहल गरिरहेको र नगर प्रमुखसँग कुरा गरिरहेको बताउँछिन्, अस्पताल विकास समितिकी अध्यक्ष राधाकुमारी कुँवर क्षेत्री। शवगृहको व्यवस्थापनका लागि  निरन्तर पहल गरिरहेको र नगरपालिकामा पनि कुरा गरिरहेको उनको भनाइ छ। 

कुश्मा नगरपालिकाले हालै मात्रै पारित गरेको नीति तथा कार्यक्रममा जिल्ला अस्पताललाई ५० शय्याको बनाउने भनेको भए पनि शवगृह व्यवस्थापनको लागि कुनै सम्बोधन गरिएको छैन। तर, नगरपालिकाकी उपप्रमुख सीता काफ्ले लामिछानेले भने अस्पतालको विकासको लागि शय्या मात्र नभएर शवगृहसहित अन्य व्यवस्थापन पनि नगरपालिकाले गर्ने बताउँछिन्। ‘५० शय्याको बनाउँदैमा अस्पतालको व्यवस्थापन हुँदैन। शय्या थपसँगै अन्य सबै कुराको व्यवस्थापन गरिन्छ', लामिछानेले भनिन्,  'नगरपालिकाको नीति तथा कार्यक्रममा शवगृह व्यवस्थापन भन्ने शीर्षक नै राख्नुपर्छ भन्ने होन, त्यो काम हाम्रो हामी गर्छौँ।’

जिल्ला अस्पतालमा शवगृहको प्रविधिमात्र नभएर बेवारिसे शवको व्यवस्थापनको लागि पनि अन्योल देखिने गरेको छ। अस्पताल प्रशासनले प्रहरीले शव व्यवस्थापन गर्छ भन्ने सोचले शवसम्बन्धी काममा त्यति वास्ता गर्दैन। प्रहरीले भने  शवलाई सुरक्षा दिने काम मात्र अाफ्नो भएको बताउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.