काठमाडौं : फिफा विश्व कप –२०१८ मा ठूला टोलीहरुलाई डुबाउँदै गरेको सुनामीबाट बच्दै ५ पटकको विजेता ब्राजिलले राहतको श्वास फेरेको छ। समूह चरणमा दक्षिण कोरियासँग जर्मनीको हारका कारणमात्र अन्तिम १६ मा पुगेको मेक्सिकोले सोमबार राति ब्राजिललाई कडा चुनौती दिन सकेन। जसले गर्दा हरुवा पूर्व विश्व विजेताको सूचीमा तत्काल ब्राजिल सामेल हुनुपनि परेन।
ब्राजिलका समर्थक नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान राकेश श्रेष्ठ भने ब्राजिलको खेल अझै विश्व विजेता बन्न लायक नरहेको बताउँछन्। ‘हो ब्राजिलले बललाई आफ्नो नियन्त्रणमा राख्न सकिरहेको छ। पहिलो चरणमा भन्दा केही खारिएको खेल पनि खेल्यो तर ट्रफी जित्न यही खेल नै पर्याप्त छैन,’ श्रेष्ठको स्पष्ट विचार छ। उनका अनुसार युरोपेली टोलीहरु ‘पावर गेम’ खेखिरहेका छन्। यसले गर्दा ब्राजिललाई आउने खेलहरुमा केही कठिनाइ पुग्न सक्छ। हुनत सोमबार राति नै खेलिएको अर्को खेलमा कठिनाइका साथ जापानलाई ३–२ ले पन्छाउँदै बेल्जियम अन्तिम ८ मा पुगेको छ। उपाधिको विजेताका रुपमा हेरिन थालिएको बेल्जियम कुनै बेला जापानसँग २–० ले पछाडि परेपनि खेलमा फर्कन सफल भएको थियो। अब ब्राजिलका अगाडि चुनौती बनेर उभिएको बेल्जियम पनि ‘पावर गेम’ मै विश्वास राख्छ।
श्रेष्ठको विचारमा यही ‘पावर गेम’ खेल्ने टोली मध्ये एक यसपाली विश्व विजेता बन्नेछन्। उनलाई आफ्नो प्रिय खेलाडी नेमार जुनियरको आँखा उपाधि जित्न नसकेर फेरी एक पटक रसाउने हो कि भन्ने डर पनि छ। तर, बेल्जियमले जसरी सोमबार खेल्यो, त्यो हेर्दा ब्राजिलका लागि सेमिफाइनलसम्मको यात्रा सहज रहन्छ कि भन्ने उनलाई लागेको छ।
ब्राजिलले पाँचौ तथा अन्तिम पटक सन् २००२ मा विश्व कपको सुनौलो ट्रफी चुम्दा उनका प्रिय खेलाडी नेमार डि सिल्भा सान्तोस जुनियर मात्र १० वर्षका थिए। अहिले त्यही केटोको आशामा ब्राजिल कीर्तिमानी छैटौं उपाधितिर नजर जमाउँदै छ। १७ वर्षकै उमेरमा ब्राजिलकै सान्तोस क्लबबाट खेलाडी जीवन सुरु गरेका नेमारले सन् १९११ मा सान्तोसलाई कोपा लेबार्टाडोर्स ट्रफी पनि जिताए। दक्षिण अमेरिकी क्लबहरुका लागि सर्वोच्च सो प्रतियोगिता सान्तोसले सन् १९६३ पछि पहिलो पटक जितेको थियो।
सन् २००९ मा ब्राजिलका लागि यु–१७ विश्व कप खेल्दै उनकै जापानविरुद्ध उद्घाटन खेलमै गोल गरेका थिए। ब्राजिलका महान फुटबलर पेले र रोमारियोले राष्ट्रिय टोलीका तत्कालिन प्रशिक्षक डुंगासमक्ष नेमारलाई २०१० को विश्व कप टोलीमा समावेस गराउने आग्रह पनि गरेका थिए। त्यो बेला नेमारलाई टोलीमा समावेस गराउन १४ हजार हस्ताक्षर समेत डुंगालाई बुझाइएको थियो। यु–२३ को प्रशिक्षकसमेत रहेका डुंगाले त्यो दबाब सहन सकेनन् अनि नेमारलाई प्रशिक्षणका लागि बोलाए। तर, अन्ततः विश्व कप जस्तो उच्च प्रतियोगितामा खेल्ने अनुभव हासिल नगरिसकेको भन्दै उनलाई विश्व कपमा खेलाइएन। तर, सन् २०१० मै डुंगाको स्थानमा प्रशिक्षक बनाइएका मार्लो मेनेजेस्ले नेमारलाई राष्ट्रिय टोलीमा स्थान दिंदै अमेरिकाविरुद्ध मैत्रीपूर्ण खेल खेलाए। अन्तर्राष्ट्रिय खेल जीवनमा आगमनको २८ औं मिनेटमा नै उनले पहिलो अन्तर्राष्ट्रिय गोल समेत गरे।
‘ब्राजिली टोलीको सदस्य हुन पाउनु गर्वको विषय हो, यहाँ केही अद्धितीय खेलाडी हुन्छन् तथा त्यही मध्ये आपूmलाई एकमा पाउँदा खुशी लाग्छ,’ नेमार भन्ने गर्छन्। यस्तै विचार नेपालका पूर्व कप्तान राकेश श्रेष्ठको पनि छ। उनी भन्ने गर्छन्, ‘राष्ट्रका लागि खेल्न पाउनु गर्वको विषय हो, त्यसमाथि कप्तान नै हुन पाउनु थप खुशीको कुरो।’
श्रेष्ठलाई सन् २००२ मा ब्राजिललाई विश्व विजेता बनाउने टोलीका महत्वपूर्ण खेलाडी रोमाल्डोको खेलले पनि सधैं आकर्षित ग¥यो। निरन्तर १९ वर्ष नेपाल पुलिस क्लबबाट खेल्दा टोलीलाई लगातार तीन पटक शहिद स्मारक ए डिभिजन लिग च्याम्पियनका साथै एएफसी प्रेसिडेन्टस् कपमा उपविजेता बनाएको दिन सम्झँदा उनी सधैं गौरवान्वित हुन्छन्, त्यो पनि कप्तानका रुपमा। उनले सन् २००७ देखि दुई वर्ष राष्ट्रिय टोलीको कप्तानी पनि गरे। तर, खेलाडी रुपमा काठमाडौं सन् १९९९ मा आयोजित आठौं दक्षिण एसियाली खेलकुदको फाइनलमा बंगलादेशसँग व्यहोरेको पराजयले उनको मन सधैं कुँडिन्छ। जसरी ४ वर्षअघि कोलम्बियासँगको क्वार्टरफाइनलका क्रममा घाइते भएर विश्व कप नै गुमाउनु पर्दा अनि सेमिफाइनलमा आफ्नो टोली जर्मनीसँग ७–१ ले लज्जास्पदरुपमा हार्दा टुलुटुलु हेर्न सिवाय केही गर्न नसकेका नेमारको मन कुँडिएको थियो।
श्रेष्ठ यस पटक इंग्ल्यान्डसँग पनि विजेता बन्नसक्ने सम्भावना देख्छन्। तर, मंगलबार राति अन्तिम १६ को खेलमा इंग्ल्यान्डले उनका प्रिय खेलाडी नेमारलाई घाइते बनाउने कोलम्बियालाई पाखा लगाउनु पर्नेछ। पूर्व विजेताहरुले दर्शकको मन जित्न नसकिरहेको बेला त्यो खडेरीलाई ब्राजिलपछि इंग्ल्यान्डले साम्य पार्ने धारणा उनको छ। साथै उनको नजरमा यसपाली फ्रान्स पनि उपाधिको बलियो दावेदार हो।
डिफेन्डर राकेश श्रेष्ठलाई आफ्नो पोजिसनमा खेल्ने खेलाडीहरुमा इटाली पाउलो माल्दिनी अति राम्रा लाग्छन्। हुनत यस पटक इटाली विश्व कपमा नै छनोट हुन सकेन। १४ वर्ष इटालीको राष्ट्रिय टोलीमा बिताएका माल्दिनीले ४१ वर्षको उमेर मात्र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए। त्यो उमेरमा पनि उनलाई छक्याएर गोल गर्ने साहस कमै खेलाडीले गर्थे। उनले सन् १९९८ र २००२ को विश्व कपमा त इटालीको कप्तानी समेत गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।