|

जनकपुरधाम : प्रदेश-२ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले  संघीयताको सफल कार्यान्वयनको लागि राजनीतिक प्रतिबद्धता र कर्मचारीहरूको सर्व–स्वीकार्यता आवश्यक रहेको बताएका छन्। उनले संघीयता कार्यान्वयन हुनेमा अझै केही यथास्थितिवादीहरू विश्वस्त हुन नसकेको र उनीहरूले अझै पनि संघीयताविरुद्ध षडयन्त्र तथा जालझेलको राजनीति गरिरहेको आरोप लगाएका छन्। 

जनकपुरधाममा मंगलबार आयोजित संक्रमणकालीन संघीयताको व्यवस्थापन विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले यथास्थितिवादीहरू प्रति लक्षित गर्दै भने, ‘धेरै व्यक्तिले नचाहदा नचाहदै मधेशी जनताको आन्दोलनको बलमा संघीयता आएको हो, संघीयता कार्यान्वयन हुनेमा उनीहरू अझै विश्वस्त हुन सकेको छैन र उनीहरूलाई अझै संघीयता आएको विश्वास नै छैन।’

पटकपटक भएको लामो संघर्ष र बलिदानीले प्राप्त संघीयताको भविष्य प्रदेश-२ को सफलतामा निर्भर रहेको जिकिर गर्दै उनले संघीयताको सफल कार्यान्वयनको लागि प्रदेश सरकार जस्तोसुकै कदम उठाउन तयार रहेको बताए। 

संघीय सरकारमाथि इंगित गर्दै मुख्यमन्त्री राउतले भने, ‘स्थायी सत्ता अर्थात व्युरोक्रेटले माथिबाट असहयोग गर्ने बारम्बार प्रयास गरिरहेको छ र असहयोगको क्रम अहिले पनि जारी छ, त्यसैले प्रदेश सरकार करारमा कर्मचारी भर्ना गरेर प्रदेश सरकार चलाउन बाध्य छ।’

समाजिक विकासमन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झा, संघीय मामिला मन्त्रालयका उप–सचिव रमेश अधिकारीसहितको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.