फिचर

संगीतकार सन्तोष श्रेष्ठको सपनाले गराएको संघर्ष
SHARES

असार २१, २०७५

    काठमाडौं : सँगै जोडिएका एक र दुई कक्षा। दुई कक्षाको विद्यार्थीलाई सरले प्रश्न गरे- हालका नेपालका राजाको नाम के हो? विद्यार्थीहरू मौन भए। एक कक्षामा पढ्ने सन्तोष श्रेष्ठले उठेर वीरेन्द्र वीरविक्रम शाहदेव भनिदिए। सही जवाफ दिएका श्रेष्ठले सोचे, सरले पक्कै स्याब्बासी दिन्छन् होला। तर उनको सोचविपरीत सरले उनको कान 'किन जान्ने भएको?' भन्दै निमोठिदिए। त्यस दिनदेखि उनलाई लाग्यो- सरले सोधेको प्रश्नको जवाफ दिनुहुँदैन। दिएको खण्डमा सरहरू रिसाउँछन्।

    उनले त्यसपछि कहिल्यै पनि आफूले जानेका कुरा बाहिर ल्याउने हिम्मत गरेनन्। यतिसम्म कि हरेक कक्षा उकालो चढ्दै जाँदा सरहरूको नजरमा उनी गँवार विद्यार्थीको सूचीमा दर्ज त भए नै, आफ्नो कला पनि बाहिर ल्याएनन्। उनी भन्छन्, 'बाह्र कक्षासम्म मैले आफूमा रहेको संगीतको रुचिलाई बाहिर ल्याउन पाइनँ, जानेको कुराको जवाफ दिँदाँ सरले कान निमोठेकाले। एउटा बालमनोविज्ञानमा कति भयानक असर परेछ!'

    अमेरिकी विद्वान् तथा अौपचारिक शिक्षाका आलोचक जोन हल्टले  'स्कुल इज ब्याड फर चिल्ड्रेन' भन्ने निबन्धमा विद्यार्थीका लागि विद्यालय किन गलत छ भन्ने विशिष्ट तर्क पेस गर्दै भन्छन्, 'गलत शिक्षाको कारण विद्यार्थीहरूले प्राकृतिक उत्सुकता, जाँगरको स्रोत र साधन, आत्मविश्वास गुमाउँछन् र निस्क्रिय हुन थाल्छन्, अल्छी हुन थाल्छन् र उनीहरूको दक्षता घट्न थाल्छ। विद्यालय जहिल्यै पनि विद्यार्थीमैत्री हुन जरुरी छ।' तर सन्तोषका लागि विद्यालय यस्तो हुन सकेन।

    नेपाली सांगीतिक क्षेत्रमा सन्तोषको आगमन

    संगीतप्रतिको आफ्नो आकर्षण आफ्नो नेवारी सभ्यता र थारू समुदायमा हुने हरेक चाडबाडको उपज मान्छन्। महिनैपिच्छे हुने विभिन्न झाँकी, र्‍याली, जात्रामा प्रयोग हुने सांगीतिक कार्यक्रमलाई नजिकबाट देख्ने मौका पाएकाले पनि उनलाई यस क्षेत्रले आकर्षित गरेको उनको ठम्याइ छ। गीत गाउने, तबला, हार्मोनियम बजाउने रहर पनि नभएको कहाँ हो र! तर सरको त्यस्तो हर्कतका कारण उनी एकदमै लजालु, अन्तर्मुखी स्वभावका बने।

    पाठ्यपुस्तकको पछाडि हुने कक्षागत गीत भने उनी सर्माउँदै सर्माउँदै साथीहरूसँगै गाउँथे र आफ्नो गीत गाउने रहर मेट्ने गर्थे। उनलाई नेपाली आधुनिक गीतमा पश्चिम नेपालको उपस्थिति कम रहेको महसुस हुन थाल्यो। लोकदोहोरीमा पश्चिम अगाडि भएजस्तै आधुनिकमा पनि पश्चिम क्षेत्रलाई अगाडि ल्याएर यो खडेरीलाई अन्त्य गर्न आफू यस क्षेत्रमा आएको उनी बताउँछन्। आखिर के छैन पश्चिम नेपालसँग- कला, संस्कृतl? यसैको उत्खनन् गर्न केही गीत तयार पारेर उनी २०५६ मा काठमाडौं आए तर कसैले पनि उनलाई पत्याएनन्।

    चार वर्ष आफ्नो गीत बोकेर ४७ वटा क्यासेट कम्पनी पुगे उनी तर कसैले उनलाई पत्याएनन्। एक दिन सगरमाथा क्यासेट सेन्टरले उनलाई पत्यायो। लामो संघर्षपश्चात् उनको पहिलो आधुनिक गीतिसंग्रह 'चिनारी'  बजारमा आयो। तर चिनारी एल्बमले उनलाई बजारसम्म चिनाउने ल्याकत राख्न सकेन। त्यसपछि उनले लामो समय संगीतको साधना र स्वअध्ययन गरी दोस्रो आधुनिक गीतिसंग्रह 'साधना' २०६६ मा बजारमा ल्याए। त्यसमा रहेको 'तिमीले पराई ठानेपछि पराई हुन के भयो र!' बोलको गीतले बजारमा छाप छोड्न सफल भयो।  

    नयाँ डिजिटल प्रविधिको युगमा नेपाली गीत/संगीतको इतिहासमै सबैभन्दा बढी मोबाइल रिङ व्याक टोनमा डाउनलोड भएको गीत थियो त्यो। त्यसपछि उनले 'संगम', 'गरिमा'सँगै हालसम्म २५ वटा एल्बम बजारमा पुर्‍याइसकेका छन्। 'नरंगिएको सिउँदो" उनको पहिलो चलचित्र हो, जहाँ उनले संगीत भरेका छन्।  'अकिन्चन', 'लालजोडी', 'कुइनेटो'लगायतका चलचित्र आठवटा तथा लोकदोहोरीसमेत जोडेर उनले हालसम्म ७०० गीतमा संगीत भरेका छन्। गीत/संगीतबाहेक उनका दुईवटा कृति 'आँसु' गजलसंग्रह र 'अधुरो सपना' लघुकथासंग्रहसमेत प्रकाशित छन्।

    सपनाले गराएको संघर्ष

    हरेक रहर र सपनासँग संघर्षको पाटो जोडिएर आउँछ। जसले संघर्ष गर्न सक्ने ल्याकत राख्छ, अन्तत: ऊ सफल हुन्छ भन्ने कुरामा दुई मत छैन। सफल ढिलो-चाँडो हुन सक्छ तर धैर्य र लगनशीलता भएका मान्छे सफल बन्न भगवानको कृपा आवश्यक रहँदैन। यसैका उदाहरण हुन् सन्तोष। २०६० सालमा पढाइ र संगीतलाई एकैचोटि अगाडि बढाउने सोचका साथ उनी काठमाडौं आए।

    काठमाडौंको बसाइमा उनी दोहोरी साँझमा काम गर्थे। बिहान संगीत सिक्थे साधना कला केन्द्रमा दिउसो पढ्थे त्रिचन्द्र क्याम्पसमा। काठमाडौंको भागदौड, त्यसमाथि आफ्नो पहिलो एल्बमले नाम र दाम दुवै उठ्न नसकेपछि घरबाट पैसा माग्ने अधिकारिकता गुमेको थियो। उनी भन्छन्, 'घरमा पैसा माग्दा संगीत छोड भन्थे, यो कुरा सुन्न म तयार थिइनँ। यस कारण पैसा माग्न छोडेको थिएँ।' उनी आफ्नो विगत मीठो पारामा खोल्छन्। न गायकको इज्जत, न भनेको बेला पारिश्रमिक दिने। विस्तारै उनलाई लाग्न थाल्यो- दोहोरी साँझमा रक्सी खाएर गीत सुन्ने मेरा श्रोता हुन सक्दैनन्।

    भोक मेटाउन र कलेज फी तिर्न दोहोरी साँझमा काम नगर्नुको विकल्प थिएन। कतिसम्म भने, उनी नक्सालमा कोठा भाडामा बस्थे। महिना मर्दै गएपछि भाडा माग्न आउँथे घरभेटी। भाडा नतिरेको महिनौँ भइसकेको थियो। एक दिन उनलाई कोठाबाट निकालिदिए घरभेटीले। उनी त्यो दिन सम्झिन्छन्, 'कति दर्दनाक थियो अवस्था तर त्यो सब संगीतकार बन्ने लक्ष्यले निम्त्याएको अस्थायी दु:ख  हो भन्ने लाग्थ्यो।' उनी अमिलो मुख बनाउँदै बबरमहलमा कोठा खोज्दै हिँडेको पल पनि मानसपटलमा आइरहने बताउँछन्। विगत सम्झिँदा आफूले गरेको प्रगतिमा खुसी मात्र होइन, आफू कस्तो धरातलबाट आएको हुँ भन्ने कुराको पनि बोध भइरहने उनको बुझाइ छ।

    दोहोरी साँझमा काम  जाँदा एक दिन बहराइनको दोहोरी साँझमा काम गर्ने अफर आयो। उनि उतै हानिए। केही वर्ष गाउने काम गरेर उनी पुन: नेपाल फर्किए। गीत रेकर्ड गर्ने कामलाई तीब्रता दिन थाले।

    नेपाली संगीतकर्मीका कमजोरी

    उनी केही गीत बोकेर मुम्बई हानिए। त्यहाँका संगीतकर्मीले कला र सिर्जनालाई गर्ने इज्जत र अपनत्व देखेर चित खाए उनी। उनको भेट गायिका सञ्जिवनीसँग भयो। श्रेष्ठ सञ्जिवनीसँग गीत रेकर्ड गर्न मुम्बई हानिएका थिए। सञ्जिवनीको स्वरमा गीत रेकर्डपश्चात उनी नेपाल फर्किए। नेपाल आएपछि उक्त गीतबारे पटक पटक सञ्जिवनीले कस्तो भयो? बिग्रेको भए पुन: रेकर्ड गरौँ भनेर सोधखोज गरिरहिन्। नेपाली गायक गायिकाको भने तरिका पनि फरक छ। उनी भन्छन्, 'नेपाली गायक गायिकाहरू गीत गाउँछन्, कस्तो भयो? भनेर एकचोटि पनि सोधखोज गर्ने काम गर्दैनन्। गीत हिट भएको खण्डमा मात्र ट्र्याक पाइन्छ कि भन्दै हात थाप्दै आउने गर्छन्।' जुन आफैँमा लज्जाको विषय मान्छन् उनी। गीत गाएपछि राम्रो भएमा मात्र चर्चा गर्ने र हिट नभए उक्त गीतबारे बोल्न नचाहने नेपाली गायक गायिकाको बानीले कहिलेकाहीँ दिक्क हुन्छन् उनी।

राजु पौडेल

पत्रकार पौडेल २०७४ माघदेखि थाहा खबरमा कार्यरत छन्। उनी साहित्य तथा फिचर लेखनमा रुची राख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]