|

दमक (झापा) : केही समययता माेटरसाइकल चोरीको 'ट्रेन्ड' फेरिएको पाइएको छ। केही समय अघिसम्म भारतीय माेटरसाइकल चोरी गरी नेपालतर्फ बिक्रीका लागि आउने गरेकामा अहिले ठीक उल्टो देखिएको छ।

चोरीमा संलग्न गिरोहले नेपाली माेटरसाइकल चोरी गरी भारततर्फ लैजाने गरेको पाइएको हो। पश्चिम झापामा एक वर्षमा चोरीएका १७ माेटरसाइकल मध्ये गिरोहले आफ्नो बजार भारत बनाउँदै आएको पाइएको प्रहरीले जनाएको छ। ‘नेपाली माेटरसाइकल चोरी गरि बेच्नका लागि भारत लाने गरेको पाइयो’ इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक गिरीले भने, ‘उनीहरूले नेपाली मोटरसाइकको स्वरुप समेत बदलेर मुख्य नाका नभई चोरी बाटो हुँदै लगेको पाइएको छ।’

१३ हराए, ४ साटिए

इलाका प्रहरी कार्यालय दमकमा चालु आर्थिक वर्षमा १७ ओटा माेटरसाइकल हराएको गुनासो आयो। ती मध्ये ४ ओटा भने साटिएकाले माेटरसाइकल धनी उजुरीका लागि आएका थिए। ‘कतिपयले ब्राण्ड र रंग उस्तै देख्दा साटेर लगेको पाइयो’ गिरीले भने, ‘तर त्यस्ता माेटरसाइकलका दुवै पक्षका धनी तुरुन्तै वा भोलि पल्टनै आएर आ आफ्ना माेटरसाइकल लिएर गएका छन्।’ माेटरसाइकल चोरीका उजुरी आएका मध्ये अधिकांश भने फेला पार्ने गरिएको प्रहरीको भनाई छ।

चालु आर्थिक वर्षमा १७ ओटा माेटरसाइकल हराएको उजुरी आएको दमक प्रहरीले जनाएको छ। ती मध्ये ४ ओटा आपसमा साटिएको र झुक्किएको पाइएको छ। यस्तै एउटा भने बेवारिसे अवस्थामा भेटिएको प्रहरीको भनाई छ। ९ ओटा भने सम्बन्धित माेटरसाइकल धनीले लगिसकेको र फेला नपरेका ६ ओटाको खोजतलास जारी रहेको दमक प्रहरी प्रमुख गिरीले बताए।

पल्सरमा पल्किएका चोर

माेटरसाइकल चोरी गर्ने गिरोहको मुख्य आकर्षण भने पल्सर माेटरसाइकल रहेको पाइएको छ। असार महिनामा दमकबाट २ ओटा माेटरसाइकल हराए। ३ दिनको बीचमा हराएका दुवै पल्सर थिए, दुवै २२० सीसीका। तर प्रहरीले दुवै माेटरसाइकल चोरीमा संलग्नलाई पक्राउ गरेको छ। झापा मेचीनगर नगरपालिका-१० धुलाबारीका १८ वर्षीय राज रसाईली र भारत पश्चिम बंगाल, दार्जिलिङ जिल्ला कालचिनि थाना चौपाडा ग्राम जैगाउँ रमाटी बडकोई लाइनका १८ वर्षीय अभिशेख भन्ने मिन्ज उरावलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले दमकबाट ३ दिनमा दुई ओटा माेटरसाइकल चोरी गरेको पाइएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक गिरीका अनुसार उनीहरूले गत असार १३ गते राति दमक ७ मा ससुराली आएका रोशन पाण्डेको मे.९ प ५९० नम्बरको २२० सीसीको पल्सर माेटरसाइकल चोरी गरेका थिए। उजुरी लगत्तै असार १४ गते नेपाल भारत सीमा मेचीपुलदेखि ३ किलोमिटर उत्तरबाट भारत प्रवेश गराउनै लागेको अवस्थामा उनीहरू माेटरसाइकलसहित पक्राउ परेका हुन्। 

यसअघि असार ११ गते दमक-५ यलम्बर चोकका युवराज विकको मे.६ प ६५६१ नम्बरको माेटरसाइकल समेत उनीहरूले नै चोरी गरेको पाइएको दमक प्रहरी प्रमुख गिरीले जानकारी दिए। सो माेटरसाइकल भने भारत पश्चिम बंगालको सिमावर्ती बजार पानीट्यांकीमा बेवारिसे अवस्थामा उनीहरूले राखेको जानकारी पाएपछि ल्याइएको उनले बताए। इलाका प्रहरी कार्यालय काँकडभिट्टा र भारतीय प्रहरी समेतको समन्वयमा सो माेटरसाइकल ल्याइएको उनले जनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.