|

भूकम्पमा गुमेकाको आफन्तको कसम

हामी जुट्छौँ फेरि उठ्छौँ, हिरोसिमापछिको जापान भएर

कहिल्यै नहार्ने गोर्खाली मुटुको कसम, फेरि जित्छौँ

बदलिन्छौँ, बनाउछौँ नेपाल।

२०७२ को विनाशकारी भूकम्पछि नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मालाई भूकम्पपीडितको उद्धारमा जाँदा फुरेका शब्द हुन् यी। जतिबेला भूकम्पले नेपालका धेरै संरचना ध्वस्त बनाएको थियो, धेरै नेपाली भूकम्पले ध्वस्त बनाएका संरचनासँगै विलीन भएका थिए। हो, त्यही समयमा विश्वप्रकाश पनि झापाका विभन्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधिसँगै मेची–महाकाली अभियान लिएर भूकम्पमा परेकाको उद्धारका लागि खटिए। भूकम्पपीडितका टहरा बनाए। सबै खाद्यान्न भूकम्पसँगै गुमाएका पीडितलाई खाद्यान्न उपलब्ध गराए।

त्यही क्रममा उनी सिन्धुपाल्चोक पुगे। त्यहाँ पुग्दा भूकम्पमा परी ज्यान गुमाएकाहरूलाई देख्दै गर्दा अब देशलाई विकास गर्न तिनै ज्यान गुमाएका नेपालीको कसम खाए। त्यसबेलै यो गीतको शब्द फुरेको थियो उनमा। त्यसलाई काठमाडौं फर्किएपछि संगीत भर्दै पूरा गरे र तयार भयो यो गीत। यो गीतलाई आवाज दिएका छन्, शिशिर योगीले।

यो गीतले नेपालको विकासका लागि एउटा सपना पनि बोकेको छ। दोस्रो विश्वयुद्धका क्रममा जसरी हिरोसिमा र नागासाकी ध्वस्त भएका थिए र त्यसपछि जापानामा जसरी विकास भयो, त्यसलाई गीतमार्फत् देखाउन खोजेका छन् शर्माले। भूकम्पले ध्वस्त भएको नेपालाई अब हिरोसिमापछि बनेको जापान जस्तै बनाउने एउटा संकल्प छ उनका शब्दमा।

संगीतमा साधना गर्दागर्दै पनि उनको मुख्य हिँड्ने बाटो भनेको राजनीति हो। उनी राजनीतिबाट नै देश र जनताको सेवा गर्न चाहन्छन्। गीत\संगीतमार्फत् जनताको समस्या र पीडालाई बाहिर ल्याउने र राजनीतिमार्फत् समाधान गर्ने उनको ठूलो लक्ष्य छ।

पार्टी प्रवक्ता शर्मालाई पार्टीको धेरै कामको जिम्मेवारी हुन्छ। शर्मा व्यस्त राजनीतिक दैनिकीको थोरै समय निकाले गीतका शब्दहरू कोर्ने गर्छन्। उनी शब्द मात्र लेख्दैनन्, ती शब्दलाई संगीत पनि दिने गर्छन्। जति राजनीतिमा प्रभाव जमाउन सकेका छन् उनले, संगीतका क्षेत्रमा पनि त्यतिकै प्रभाव छ उनको। तर आम जनताले उनलाई संगीतकार/गीतकारभन्दा बढी राजनीतिकर्मीका रूपमा चिन्छन्। उनी पनि त्यही चाहन्छन्, जनताले आफूलाई राजनीतिकर्मीकै रूपमा चिनून्। उनी संगीत आत्मसन्तुष्टिका लागि मात्र गर्ने गरेको बताउँछन् उनी। ‘म राजनीतिको विद्यार्थी हुँ, संगीतको श्रोता’, भन्छन्, ‘राजनीतिका बारेमा सधैँ अध्ययन गरिरहन्छु। सिक्ने क्रममै हुन्छु। संगीतलाई मनपराउँछु र माया गर्छु।’

 ०००

तिम्रो पानी चल्दैन भन्नेलाई चाहिएमा रगतै दिउँला

बाहिरै बस, मेरो घरमा नपस भन्नेलाई ठाउँ मागे मुटुमै बास दिउँला।

जातीय विभेदविरुद्ध लेखिएको यस गीतमा पनि शर्माकै संगीत छ। २०६९ सालताका तत्कालीन नेपाल दलित संघका सभापति मीन विश्वकर्माले पूर्वदेखि पश्चिमसम्म दलित संघको अभियान सुरु गरे। त्यो अभियानका क्रममा दलितको पीडा समेटिएको गीत लेख्न भने विश्वकर्माले शर्मालाई। तर शर्माले भने आफूले लेख्दा दिलतका वास्तविक पीडा नआउने भन्दै विश्वकर्मालाई नै लेख्न भने र त्यसमा आफूले संगीत भर्ने बचन दिए। त्यहीअनुसार बन्यो यो गीत। यसलाई शिव परियारले स्वर दिए।

शर्माले संगीत दिएका र रचना गरेका गीतमा यस्तै विविधता भेटिन्छ। वास्तविक जीवनका घटनालाई उनी गीतमार्फत बाहिर ल्याउने गर्छन्।

शर्माका हालसम्म दुई एल्बम बजारमा आएका छन्। ‘स्वीकृति’ र ‘मेरो देश’ एल्बममा उनले संगीत र शब्द भरेका छन्। यी एल्बममा राजेशपायल राई, कविता शर्मालगायत कलाकारले स्वर दिएका छन्।

‘मेरो देश’मा नेपाल जेसीजका बारेमा गीत तथा संगीत भेरेका छन् शर्माले। उक्त एल्बममा ८ गीत समावेश छ।

सबै आँटिने मन, सबै भेटिने आँगन

देशको एउटा साझा छाता यो हो जेसिज जीवन

विधिको शासन, स्वतन्त्रता, मानवताको सेवा

देश बनाउन इमान्दार मान्छे लौ जाग अब त!

यो गीत पूर्वदेखि पश्चिमसम्म हुने जेसिजका विभिन्न कार्यक्रममा बज्ने गर्छ। राष्ट्रिय भावनाले ओतप्रोत यस गीतमा पनि शर्माकै संगीत र शब्द छ। यी र यस्तै ७० देखि ८० वटा गीतमा शर्माले शब्द तथा संगीत दिएका छन्। ‘म शब्द तयार पारेसँगै संगीत पनि भर्छु’, उनले भने।

उनले सुरुमा शब्द मात्र लेख्ने गर्थे। जब नेपाल म्युजिक स्कुलमा उनले संगीत सिके, तबदेखि गीतहरूमा संगीत पनि भर्न थाले शर्माले।

‘निश्चित घटनाहरूमा गीत लेख्छु’

कांग्रेसको प्रवक्ता व्यस्त जीवन। जो कसैलाई लाग्न सक्छ, उनले गीत लेख्ने र संगीत भर्ने काम कुन बेला गर्छन्? त्यो जिज्ञासा लाग्नु स्वाभाविक पनि हो। देशको दोस्रो दलको प्रवक्ताका हिसाबले उनको दैनिकी निकै व्यस्त छ।

पार्टीप्रति संचारकर्मीले जिज्ञासा राख्न गर्ने फोन नै उठाउन भ्याई नभ्याई हुन्छ। अझ शर्मा प्रवक्ता भएपछि संगठनका कामले पूर्वदेखि पश्चिमसम्मका विभिन्न कार्यक्रममा हिँडी नै रहेका छन्। यस्तो अवस्थामा उनलाई संगीत र गीतप्रति लाग्न निकै समस्या भएको देखिन्छ। तर गीत\संगीतको सिर्जना गर्न कुनै असहज नभएको शर्मा बताउँछन्। भन्छन्, ‘मेरो व्यस्त दैनिकीले गीत\संगीत सिर्जना गर्न मलाई कुनै असर गरेको छैन। लेख्छु भनेको बेला फुर्ने होइन। म यात्राको क्रममा पनि गीत लेख्ने गर्छु।’

राजनीतिकर्मी भएकाले देशका धेरै समस्यालाई नजिबाट नियालेका छन् उनले। उनकै आँखा अगाडि धेरै घटना हुन्छन्। एउटा राजनीतिकर्मीका हैसियतले जनताका गुनासा पनि उनले सुनेका हुन्छन्। देशको समग्र अवस्था बुझ्छन् उनी। यस्तै यथार्थ घटनाई उनले आफ्ना गीतमा समावेश गर्ने गर्छन्। ‘मेरा गीतमा यथार्थ बढी हुन्छ। म यथार्थमा डुबेर गीत तयार पार्छु’, भन्छन्, ‘कुनै निश्चित घटनाले मलाई छुन्छ र त्यो घटनालाई शब्दमा उतार्छु।’

मुख्य हिँड्ने बाटो राजनीति

संगीतमा साधना गर्दागर्दै पनि उनको मुख्य हिँड्ने बाटो भनेको राजनीति हो। उनी राजनीतिबाट नै देश र जनताको सेवा गर्न चाहन्छन्। गीत\संगीतमार्फत् जनताको समस्या र पीडालाई बाहिर ल्याउने र राजनीतिमार्फत् समाधान गर्ने उनको ठूलो लक्ष्य छ।

तर उनी सँगसँगै गीत\संगीतमा पनि अघि बढ्छन्। भन्छन्, ‘म राजनीतिक व्यक्ति अर्थात् राजनीतिको विद्यार्थी, सधैँ राजनीतिलाई पढिरहन्छु। संगीतको चाहिँ श्रोता, संगीतलाई सधैँ माया गर्छु।’ संगीतले तनाव कम गर्ने भएका कारण पनि संगीतप्रति सधैँ आकर्षण रहने बताउँछन् शर्मा। ‘राजनीतिमा धेरै तनाव हुन्छ। यो तनावबाट थोरै समय निकालेर धून बनाउँदा शक्तिको अनुभूति हुन्छ। संगीतमा हुँदा ध्यानमा भएको जस्तो महसुस हुन्छ।’

भाषणबाट राखेका कुरालाई पनि संगीतले फरकपन दिन्छ भन्ने उनको बुझाइ छ। भन्छन्, ‘हामीले भाषणमा पनि त्यही भन्ने हौँ तर भाषणबाट कहिलेकाहीँ दिक्क भइन्छ। संगीत भरेर त्यसलाई गीतमा ढाल्न सकियो भने फरकपन आउँछ।’

संगीतकै कारण आफू कहिल्यै बिरामी नहुने शर्मा दाबी गर्छन्। ‘मान्छे तनावले बिरामी हुने हो। बेलुका सुत्ने बेलामा अनेक तनाव लिएर किन बिरामी हुने?’, भन्छन्, ‘म संगीतमा साधना गर्न थालेदेखि कहिल्यै तनाव लिन्नँ। २०४७ को चैत महिनामा टाइफाइडको औषधी खाएयता केहीको औषधी खाएको छैन। सामान्य बिरामी भए पनि औषधी खाने गरी बिरामी भएको छैन। यो संगीत साधना र ध्यानका कारण हो।’

निबन्ध र कथाप्रति पनि उत्तिकै रुचि

शर्मा भाषण कला भएका नेता त हुँदै हुन्, भाषण सुन्ने जो कोही पनि उनका ‘फ्यान’ हुन्छन्। त्यतिकै सुन्दर, सशक्त र प्रभावकारी शब्द हालेर गीत लेख्छन् उनी। त्यतिकै मिठासपूर्ण संगीत पनि बनाउँछन्।

यति मात्र प्रतिभाले उनको परिचय पुग्दैन। उनी त राम्रा कथाकार र निबन्धकार पनि हुन्। उनले धेरै कथा र निबन्ध लेखेका छन्। तीमध्येको एक हो- चलचित्र ‘महसुस’मा समावेश भएको कथा। उनले लेखेको मूल कथामा बनेको चलचित्र २०७१ सालमा वर्षकै उत्कृष्ट चलचित्र बन्यो। नवल नेपालले निर्देशन गरेको चलचित्र ‘महसुस’ले २०७१ सालमा कामना फिल्म अवार्डको उत्कृष्ट चलचित्र अवार्ड नै प्राप्त गर्न सफल भयो। उक्त चलचित्रमा आर्यन सिग्देल, केकी अधिकारी, नीर शाह जस्ता कालाकारले अभिनय गरेका थिए।

उनले लेखेको कथाबाट ‘सिलसिला’ टेलिसिरियल नै बन्यो। यो टेलिसिरियल २५ भागसम्म चलेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.