|

जनकपुरधाम : १० बुन्दे घोषणापत्र जारी गर्दै दुर्इदिने 'समृद्धिको सपना प्रदेश-२ को चाहना' दूरदृष्टि भिजन-२०३० सम्मेलन सम्पन्न भएको छ। प्रदेश-२ को राजधानी जनकपुरधाममा भएको सम्मेलनबाट जारी घोषणापत्रमा नेपाल सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ घोषणा अनुरूप प्रदेशको समाजिक, आर्थिक रुपान्तरणको लागि वातावरणमैत्री एवं रोजगारी मूलक कृषि र उद्योगको विकास एवं चूरे संरक्षणमा विशेष जोड दिँदै औद्योगिक, पर्यटन तथा शैक्षिक केन्द्रको रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ।

प्रदेश विकासको प्रमुख क्षेत्रको रूपमा रहेको कृषि, उद्योग र पर्यटन विकासका लागि मानव संसाधन, पर्यावरण संरक्षण, पर्यटन पूर्वाधार, उपयुक्त प्रविधि, नविकरण ऊर्जाको विकास र उपयोगमा जोड दिई रोजगारीको अवसर सृजना गर्दै वैदेशिक रोजगारीलाई रोक्ने लक्ष्य दिएको छ। घोषणापत्रमा प्रदेश विकास र समृद्धिको लागि सम्भाव्यताको आधारमा कृषिको आधुनिकीकरण, यान्त्रिक एवं व्यवसायिकरण गरी आम जनताको खाद्य सुरक्षा सुनिश्चित गर्नुको साथै आय आर्जनमा अभिबृद्धि गर्न महिलामैत्री कृषि कार्यक्रम जोड दिँदै रणनीति साथ कार्यान्वयन गर्ने लक्ष्य लिइएको छ।

नीजि क्षेत्रको साझेदारीमा कृषि, वन तथा खनिज पैदावारमा आधारित साना तथा मझौला उद्योगहरूको स्थापना गर्ने, वित्त, प्रविधि र मानव संसाधनको दृष्टिले बन्द उद्योग सञ्चालनमा ल्याउने, रुग्ण उद्योगलाई सुदृढ बनाउने र विद्यमान उद्योगको उत्पादन क्षमता बढाउदै आर्थिक समृद्धि ल्याउन पहल गरिनेछ। प्रदेशभित्र रहेका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक धरोहरको संरक्षण संवर्द्धन साथै विकासमा सार्वजनिक–नीजि पर्यावरण पर्यटन नीति प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य लिइएकोछ।

प्रदेश-२ का मुख्यमन्त्री मो. लालबाबु राउतद्वारा हस्ताक्षरित घोषणापत्रमा कृषिलगायत समाजिक आर्थिक विकासको अन्य क्षेत्रमा वित्त प्रवाह तथा सेवा प्रदानको लागि सहकारीको सेवा अवलम्बन गर्ने तथा आर्थिक उन्नति, समृद्धि तथा समाजिक विकासका आयामहरूमा सुशासनको सुनिश्चितता गर्दै जनमुखि, उत्तरदायि तथा स्वःस्फूर्त एवं प्रभावकारी सेवा प्रदान गर्ने प्रणालीको विकास तथा सुदृढ गर्ने उल्लेख छ।

यसैगरी प्रत्येक नागरिकको मौलिक अधिकारसँग सम्बन्धित शिक्षा, स्वास्थ्य, सफा खानेपानी, फोहोरमैला व्यवस्थापना, पर्यावरण संरक्षण, नविकरण ऊर्जा जस्ता आधारभूत सेवामा सबैको पहुँचका लागि बहुपक्षीय कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

सम्मेलनबाट जारी भएको घोषणापत्रमा विकासका क्रियाकलापबाट प्राप्त अनुभव र असल अभ्यासलाई मनन् गर्दै समाजिक, आर्थिक रुपान्तरणका लागि प्राप्त आर्थिक तथा प्राविधिक सहयोग के कति उपलब्ध भयो, कसरी उपयोग भयो, र ती सहयोगबाट प्राप्त उपलब्धि प्रभावकारी भए–नभएको सम्बन्धी जानकारीका लागि संयन्त्र निर्माण गरी नियमित रुपमा सार्वजनिक गर्ने रणनीति लिइने उल्लेख छ। साथै सम्मेलनबाट प्राप्त राय सुझावको आधारमा एक दूरदृष्टिको व्यवहारिक, प्रयोगकर्ता मैत्री कार्यान्वयन गर्न सकिने दस्तावेज तयार गरी सबैले आ–आफनो क्षेत्रबाट कार्यान्वयन सहयोग पुर्‍याउने घोषणापत्रमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.