|

विश्वकप फुटबलमा अन्तिम १६ का सबै खेल सकिएका छन्। मंगलबार राति इंग्ल्याण्ड र कोलम्बियाको खेल सकिएपछि विश्वकप २०१८ का प्री–क्वार्टर फाइनल चरण समाप्त भएको हो।

अन्तिम प्री–क्वार्टरफाइलनमा इंग्ल्याण्डले पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले कोलम्बियालाई हरायो। त्यसअघि मंगलबार नै भएको अर्को खेलमा स्वीडेनले स्वीट्जरल्याण्डलाई १–० ले हराउँदै इंग्ल्याण्डसँगको भेट पक्का गर्‍यो। 

क्वार्टरफाइनल खेल शुक्रबार सुरु हुनेछ। पहिलो क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेको सामना गर्नेछ। विश्वकपमा दाबेदार मानिएका यी दुई टोलीमध्ये एक अन्तिम चारमा जानेछ भने अर्को टिम घर फर्किनेछ।

अन्तर्राष्ट्रिय फुटबलमा यी दुई टोलीको सातपटक भेट भएको छ जसमा पाँच खेलमा बराबरी र एक एक खेलमा आ–आफ्ना टिम विजयी भएका छन्। यी दुई टोलीको भेट भने पहिलो पटक सन् १९६६ को विश्वकपमा भएको थियो जसमा उरुग्वेले २–१ ले फ्रान्सलाई हराएको थियो। त्यसपछि सन् २००२ को विश्वकप र सन् २०१० को विश्वकमा यी दुवै टोलिले गोलरहित बराबरी खेले। सन् १९८५ फ्रान्सले इन्टर कन्टिनेन्टल च्याम्पियनसिपमा २–० गोल अन्तरले हराएको थियो। यी दुई टोली अहिले लयमा छन्। 

उरुग्वेमा लुइस सुवारेज, इडिन्सन कभानी डिएगो गोडिन जस्ता स्टार खेलाडी छन्। प्री–क्वार्टर फाइनमा पोर्चुगललाई हराउँदा कभानी नायक बनेका थिए। त्यस्तै फ्रान्सको टोलीमा पनि  १९ वर्षे किशोर एम्बाप्पेको खेल हेर्नलायक छ। त्यस्तै ओलिभर जेरुड, एन्टोनी ग्रिजम्यान जस्ता स्टार खेलाडीले भरिएको टोली फ्रान्समा छ। ऊ दुई पटकको विश्वविजेता अर्जेन्टिनालाई घर फर्काउँदै अन्तिम आठमा छिरेको हो। 

त्यस्तै शुक्रबार नै अर्को खेलमा पाँच पटकको विश्वविजेता ब्राजिलले युवाले भरिपूर्ण बेल्जियमसँग खेल्ने छ। फिफा वरीयताको दोस्रो स्थानमा रहेको ब्राजिल र तेस्रो स्थानमा रहेको बेल्जियमको खेल निकै रोमाञ्चक हुने विश्लेषकहरुको आँकलन छ। अन्तर्राष्ट्रिय खेलकुदमा यी दुई टोलीको भेट चारपटक मात्र भएको छ। ब्राजिलले तीन पटक र बेल्जियमले एक पटक मात्र जित निकालेको छ। पछिल्लो पटक यी दुई टोलीको भेट सन् २००२ को विश्वकपमा भएको थियो जसमा ब्राजिलले २–० ले हराएको थियो। 

ब्राजिलले प्री–क्वार्टरफाइनलमा मेक्सिकोलाई २–० ले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको हो। बेल्जियमले एसियाको पावरहाउस जापानसँग ३–२ को संघर्षपूर्ण जित निकाल्दै ब्राजिलसँगको भेट पक्का गरेको हो। ब्राजिलको टोलीमा थिएगो सिल्भा, नेइमार, पाउलिन्हो, फिलिप काउटिन्हो जस्ता स्टार खेलाडी छन्। बेल्जियममा पनि इडन हार्जाड, रोमेलु लुकालु जस्ता युवा खेलाडीले भरिएको छ। 

त्यस्तै शनिबार हुने दुई खेलले विश्वकपको अन्तिम चारको टुंगो लगाउने छ। शनिबार इंग्ल्याण्डले स्वीडेनसँग खेल्दा आयोजक रसियाले क्रोयसियासँग खेल्ने छ।  विश्वकपको इतिहासमा चार पटक भेट भएका स्वीडेन र इंग्ल्याण्डले चारै पटक बराबरी खेलेका छन्। अन्तराष्ट्रिय फुटबलमा यी दुईको भेट २४ पटक भएको छ। जसमा इंग्ल्याण्डले ९ पटक जित दर्ता गर्दा स्वीडेनले सात पटक जितेको छ। त्यस्तै ८ पटक यी दुई टोलीले बराबरी खेलेका छन्।

पछिल्लो पटक यी दुई टोली सन् २०१२ को युएफा युरोपियन च्याम्पियनसिपमा भेट भएको थियो जसमा इंग्लल्याण्ड ३–२ गोल अन्तरले विजयी भएको थियो। स्वीडेन लयमा देखिएको छ। स्वीडेनमा एन्डे्‍स ग्रान्कोभिस, इमाइल फोर्सबर्ग, भिक्टर लिन्डेलफ जस्ता स्टार खेलाडीले भरिपूर्ण छ भने इंग्ल्याण्डमा कप्तान ह्यारी केन लयमा देखिएका छन्। उनले जारी विश्वकमा ६ गोल गरिसकेका छन्। उनी गोल्डेनबुटका दाबेदार रहेका छन्। त्यस्तै इंग्लाण्डको टिममा ह्यारी मागुरे, जेस लिङ्गार्ड जस्ता खेलाडीले भरिपूर्ण छ। 

विश्वकपको क्वार्टरफाइनलको अन्तिम खेलमा भने आयोजक रसिया र क्रोयसिया भिड्नेछन्। आयोजक रसियाले सन् २०१० को विश्व विजेता स्पेनलाई पाखा लगाउँदै विश्वकपमा पहिलो पटक अन्तिम आठमा प्रवेश गरेको हो।

उसलाई घरेलु दर्शकको साथ र बलियो डिफेन्सका कारण विश्वकपको अर्को चरणमा प्रवेश गर्न सहज देखिएको छ। त्यस्तै क्रोयसियाले डेनमार्कलाई प्री–क्वार्टरफाइनलमा हराउँदै अन्तिम आठमा छिरेको थियो। अन्तर्राष्ट्रिय फुटबलमा तीन पटक भेट भएका यी दुई टोलीले दुई खेलमा बराबरी खेलेका छन्। एक खेल क्रोयसियाले जितेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.