|

त्रिपुराकोट (डोल्पा) : हिमाली जिल्ला डोल्पामा यातायातको एक मात्र साधनको रूपमा रहेको जुफाल विमानस्थल बुधबारदेखि सुचारु भएको छ। लगातारको वर्षाका कारण चार दिनदेखि जुफाल विमानस्थल अवरुद्ध भएको थियो।

लगातार वर्षाका कारण बादल र कुहिरोले अवरुद्ध रहेको नेपालगञ्ज–डोल्पा हवाईमार्ग घाम लागेर खुलेपछि जुफाल विमानस्थल सुचारु भएको नागरिक उडड्यनको कार्यालय जुफालले जनाएको छ। बुधबार समिट एअरले एउटा उडान गरेको थियो भने तारा सीता र नेपाल एअरलाईन्सले भने उडान् गरेनन्।

समिट एअरलाइन्सले एउटा उडान गरे पनि विमानस्थलमा यात्रुको चाप भने प्रतिदिन बढ्दै गएको तारा एअर जुफालका कर्मचारी देवेन्द्र शाहीले जानकारी दिए।

लगातारको वर्षाका कारण दैनिक विमानस्थल अवरुद्ध हुन थालेपछि कतिपय सर्वसाधारणहरू समयमै गन्तव्‍यसम्म पुग्न जोखिम मोल्दै पैदल यात्रा गर्न बाध्य भएको शाहीले बताए। जुफाल विमानस्थलमा तारा, समिट, नेपाल वायुसेवा निगमलगायतका सरकारी तथा निजी विमान कम्पनीहरूले उडान भर्दै आएका छन्।

डोल्पा सदरमुकाम दुनै अझैपनि राष्ट्रिय सडक संञ्जालमा नजोडिएकाले जिल्लाबाहिर आवत जावत गर्नेदेखि दैनिक उपभोग्य वस्तुहरूको ढुवानीका लागिसमेत हवाईजहाजकै भर पर्नुपर्ने बाध्यता छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.