|

काठमाडौं : २०३५ सालमा हेल्थ असिस्टेन्टबाट चिकित्सा क्षेत्रमा प्रवेश गरेका प्रा.डा. गणेश गुरुङ हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति  छन्। त्यसैले चार वर्षयता डा. गुरुङको दैनिकी न्याम्सको सेवालाई कसरी गुणस्तरीय बनाउने भन्नेमा नै बित्ने गर्छ, जसले गर्दा उनले घर परिवार तथा आफूलाई दिने समयसमेत एकदम कम हुन्छ। यस्तो व्यस्त दैनिकीमा पनि डा. गुरुङले आफ्नो जीवनशैली तथा आफ्नो स्वास्थ्यलाई कसरी समय दिन्छन्? भन्नेबारे थाहाखबरसँग यसरी बताए।

हरेक दिन योग गर्छु

म हरेक दिन बिहान ५ बजे उठ्छु। उठ्नेवित्तिकै मर्निङ वाकमा निकन्छु। मेरो घरमा एउटा सानो कुकुर छ। मर्निङ वाककै समयमा उसलाई डुलाउने गर्छु। करिब पौने ६ बजे मर्निङ वाकबाट फर्किएपछि योग गर्छु। करिब ७ बजेसम्म योग गरिसकेपछि मनतातो पानी तथा लेमन वाटर खान्छु। मलाई सुगर र प्रेसर दुवै भएकाले यसपछि मैले नियमित औषधि सेवन गर्छु र पत्रपत्रिका पढ्ने तथा टिभी हेर्ने गर्छु।

यही समयमा म आफ्नो मेल चेक गर्ने गर्छु। म आफूले कतै पेस गर्नुपर्ने धेरै डकुमेन्टहरू आफैँले तयार गर्ने गर्छु। त्यसले गर्दा आफूलाई अध्ययन गर्नुपर्ने कुराहरू पनि यही ७ देखि ८ बजेको बीचको समयमा तयार गर्ने गर्छु। ८ बजे खाना खाएर हरेक दिन साढे ८ मा म घरबाट निस्किसकेको हुन्छु।

 सागपात धेरै, कार्बोहाइडेट कम खान्छु

मलाई सुगर तथा प्रेसर रहेकाले धेरै चिल्लो र कार्बोहाइडेट भएको खाना खाँदिनँ। सामान्यतया: मैले खाने खाना सादा नेपाली खाना नै हो तर दैनिक खानामा सकेसम्म सागसब्जी र प्रोटिनयुक्त खाने कुरा छुटाउँदिनँ। बिहान घरबाट निस्केपछि दिनभर अफिस तथा विभिन्न कार्यक्रममा नै व्यस्त हुन्छु। अफिसबाहिर कार्यक्रममा छु भने त्यहाँ जे पाइन्छ, त्यही खानेकुरा खाजाको रूपमा खान्छु। अफिसमा भएको बेला साढे १ देखि २ बजे आफ्नै क्यान्टिनमा पाइने साधारण खाजा चाउचाउ, थुक्पा खाने गर्छु।

बेलुकी ७ बजेसम्ममा घर पुगिसक्छु

बेलुकाको समयमा मिटिङ तथा बाहिर कुनै कार्यक्रमा जानु छैन भने बेलुका ७ बजेसम्म घर पुगिसकेको हुन्छु। शरीरमा केही रोग देखिसकेपछि हामीले खाना समयमा खानुपर्छ भन्ने लाग्छ। त्यसैले बेलुकी पनि म ८ बजेसम्म खाना खाइसकेको हुन्छु। खाना खाएर एकछिन परिवारसँग घरायसी छलफल गर्छु। ९ बजेदेखि राति ११ बजेसम्म पढ्ने र आफ्नो मेले हेर्ने गर्छु। म फेसबुक खासै चलाउँदिनँ तर यही समयमा कहिले काहीँ फेसबुक पनि हेर्ने गर्छु। एक गिलास पानी खाएर राति ११ बजे सुतिसकेको हुन्छु।

वर्षमा दुई पटकसम्म साथीभाइसँग घुम्न जान्छु

उपत्यकामा हुँदा अफिसकै कामले आफ्नो तथा परिवारका लागि दिने समय एकदम कम हुन्छ। हरेक मानिसलाई मानसिक रूपमा स्वस्थ हुन आफ्ना लागि पनि समय दिनुपर्ने हुन्छ। त्यसैले वर्षमा दुई पटक समय मिलाएर साथीभाइसँग भ्यालीबाहिर घुम्न जाने गर्छु। यस्तै, वर्षमा एक दुई पटक केही कार्यक्रममा भाग लिन विदेश जाने मौका मिल्छ। यसरी विदेश जाँदा पनि म समय मिलाएर गएको ठाउँमा रहेका केही रमाइला ठाउँहरू हेर्न जाने गर्छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.