|

लहान : पूर्व-पश्चिम सडकखण्डअन्तर्गत सप्तरीको महुली पुल भासिएको छ। अग्निसाइर कृष्णासवरण गाउँपालिका-५ स्थित महुली पुल बुधबार बिहान भासिएको हो।

पछिल्लो तीन दिनदेखि परेको लगातारको वर्षासँगै महुली खोलामा आएको बाढीको कारणले पुलको खम्बा भासिएको वडाअध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिँदै भने ‘बुधबार बिहान ४ बजेतिर करिब २ इञ्च भासिएको पुल अहिले १० इञ्च भासिएको छ।’

उक्त गाउँपालिकाको जण्डौलतिर पश्चिमपट्टिबाट पुल भासिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले पुलको पश्चिम भाग एकातर्फ मात्र भासिएकाले यातायात एकतर्फी रूपमा सञ्चालन गरिएको र आत्तिनु पर्ने अवस्था नरहेको बताए।

पुल भासिएपछि प्रहरी उपरीक्षक सिंहसहित अहिले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललगायतको सुरक्षा अधिकारीहरुको टोली घटनास्थलको निरीक्षण गरेको छ।

सडकको बीच भागबाट पूर्व-पश्चिम चिरा परेर पुलको एकापट्टि  भासिएकाले त्यसको सपोर्टका लागि बाँध बनाउन पहल भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए। उनका अनुसार लहानस्थित सडक डिभिजन कार्यालयबाट इञ्जिनियरलाई बोलाएर मर्मतका लागि तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.