|

सल्यान : १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका आफन्तले न्याय र राहत नपाएको भन्दै गुनासो गरेका छन्। सशस्त्र द्वन्द्व  सकिएको झन्डै दुई दशक बित्दासमेत बेपत्ता पारिएकाहरूको न लाश न सास केही पत्तो नभएको परिवारहरूले बताएका छन्।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालको टोलीले सल्यान खलंगामा आयोजना गरेको बेपत्ता तथा सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा पीडितहरूले आफूहरू अझै पनि त्रासमा बाचिरहेकाले  सत्यतथ्य पत्ता लगाई छानबिन गर्न आग्रह गरेका छन्। उनीहरूले दुईवटा छानबिन आयोग गठन भइसकदा पनि पीडितहरूको घाउमा मलमपट्टी लगाउन नसकेको र सन्तोषजनक रूपमा आयोगले काम नगरेको बताएका छन्।

छत्रेश्वरी गाउँपालिका-७ की पार्वती वलीले आफ्नो श्रीमान् दीपेशकुमार वली बेपत्ता भएको १४ वर्ष बितिसक्दासमेत राहत नपाएको बताइन्। उनले भनिन्, 'मेरो श्रीमान् घरबाट निस्केको १४ वर्ष भयो न त उहाँ फर्कनुभयो नत हामीले न्यायको लागि राहत नै पायौँ,' रुँदै  उनले भनिन्,  २०६० सालमा घरबाट बेपत्ता भएका मेरा श्रीमान अहिलेसम्म पनि अत्तोपत्तो छैन। सास आउने त माया मारिसक्यौँ तर सास नआए पनि उचित न्याय पाउन पाए हुने थियो।' 

पटक-पटक यो कुरा आइरहँदा पनि निको भएको घाउमा नुन थपिदिने गरेको पीडित  कपुरकोट गाउँपालिका सिंनबाङकी अमृता बोहराले बताइन्। उनले भनिन्, 'आयोग गठन भएको चार वर्ष बितिसक्दा पनि अहिलेसम्म आयोगले भनेअनुसारको काम गर्न नसकेको  र पीडित परिवारले न्याय पाउन सकेका छैनन्,' उनले थपिन्, 'बुबा बेपत्ता भएको १७ वर्ष बितिसक्यो जतिबेला म ८ वर्षको थिएँ, सुनेको थिएँ आयोग गठन भइसकेपछि पीडितलाई राहत, पीडितका छोराछोरीलाई रोजगार दिलाइन्छ तर आयोगले न्यायको नाममा पीडा बल्झाउने काम मात्र गरेको छ।' आफूले अहिलेसम्म पनि बुबाको काजक्रिया गर्न नपाएको पीडित बोहराको गुनासो छ।

छत्रेश्वरी गाउँपालिका-८ का चेतबहादुर बिकले पनि द्वन्द्व कालमा आफ्नो भाइ २२ वर्षको उमेरमा बेपत्ता भएको र अझैसम्म पनि राहत नपाएको बताए। २०५७ सालमा भाइ बेपत्ता भएको स्मरण गर्दै उनले न्यायको नाममा राहतसमेत नपाएको गुनासो गरे ।

जिल्लामा बेपत्ता पारिएका ५६ जनामध्ये  ३८ जनाले मात्र राहत पाएको स्थानीय शान्ति समितिले जनाएको छ। शान्ति मन्त्रालयबाट ३८ जनाले राहत पाएको भए पनि ५७ जनाको बेपत्ता पारिएका व्‍यक्तिको छानबिन आयोगमा उजुरी परकोले अहिले जिल्लामा विस्तृत छानबिन भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.